आतङ्की हमलामा सिङ्ग्रिमतामका जीवन गुरुङ बने शहीद

Girl in a jacket

पेशोक, १२ जनवरी।


जम्मु कश्मिरको रजौरी जिल्लाको नौसेरा सेक्टरमा एक आतङ्की हमलामा दार्जीलिङको लामाहट्टा सिङ्ग्रिमताम बस्तीका २३ वर्षीय जीवन गुरुङ शहीद बनेका छन्। उक्त खबरले सिङ्ग्रिमतामलगायत लामाहट्टा क्षेत्रभरि शोकको लहर छाएको छ। परिवार सूत्रअनुसार हिजो बेलुकी ६.३० बजीदेखि नै आर्मी हेड्क्वार्टरबाट खबर आएको थियो भने राती ९ बजी भने शहीद बनेको पुष्टि भएको हो। शहीद भएको पुष्टि भएपछि परिवारलगायत क्षेत्रवासी स्तब्ध बनेका छन्।

सिङ्ग्रिमताम प्राथमिक स्वास्थ्य केन्द्र नजिक किरण गुरुङ अनि पुनम गुरुङका कान्छा छोरा जीवन गुरुङ 11 अप्रेल 1995 मा जन्मिएका थिए भने २०१४ मा १/४ जीआरमा भर्ना भएका थिए। देशको सिमानामा सैनिकहरू तैनाथ रहेको समय आतङ्कीहरूले भारतीय सैनिकमाथि निशाना बनाएर हमला गरेका थिए। जहाँ जवान जीवन गुरुङसितै एकजना अधिकारी शहीद बनेको समाचार छ। प्राप्त जानकारी अनुसार उक्त हमला लाइन अफ् कन्ट्रोलको पुखेरनीस्थित रूपमति चौकी नजिक भएको हो।

शहीद गुरुङ आविवाहित थिए भने गत २०१८ को दशैँअघि छुट्टी आएर भाइ टीकाको भोलिपल्ट पल्टन फर्केका थिए। शहीद गुरुङका पिता किरण गुरुङ हाल अरुणाचल प्रदेशको अनिनीमा कार्यरत् रहेको बताइएको छ। विशेष सूत्रबाट थाहा लागेअनुसार शहीद जीवन गुरुङको शव हाल दिल्ली ल्याइपुऱ्याइएको छ भने सम्भवत आज नै बाघडोगरा विमानस्थल ल्याइपुऱ्याइनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया