अमर शहीद जीवन गुरुङ पञ्चतत्त्वमा विलिन : सम्पूर्णले दिए अश्रुपूर्ण विदाई

Girl in a jacket

पेशोक, १४ जनवरी, रिम परिचित।


गत वर्षको दशैँ – तिहार मनाएर भाइटिकाको भोलिपल्टै पल्टन फर्केका पहाडका छोरो जीवन गुरुङ शहीदको उपनाम लिएर तिरङ्गामा लपेटिएर आफ्नो जन्म थलो लामाहट्टा आइपुगे। देश रक्षामा आफ्नो ज्यान गुमाएका अमर शहीद जीवन गुरुङको पार्थिव शरीर हिजो लगभग साँड़ चार बजी बागडुग्रा विमानस्थल ल्याइपुर्‍याइएको थियो भने त्यहाँ सेनाको तर्फबाट गार्ड अफ अनर दिइए पश्चात् परिवारलाई सुम्पिएको थियो।

साँझमा शहीद जीवन गुरुङको पार्थिव शरीर आफ्नो जन्मथलो लामाहट्टा ल्याइपुर्‍याइएको थियो भने आज बिहान करीब ९:३० बजी बौद्ध परम्पराअनुसार लामा बुद्ध लामाको अगुवाईमा अन्तिम संस्कारको निम्ति निकालियो।

रङ्गली रङ्गलियट खण्ड अन्तर्गत लामाहट्टा ग्राम पञ्चायतको वार्ड नं० १३ का प्रभात सहयोगी समाजद्वारा सिङ्ग्रीताम प्राथमिक स्वास्थ्य केन्द्रको शिव पञ्चायन मन्दिरको प्राङ्गणमा राखिएको श्रद्धाञ्जली कार्यक्रमस्थलमा उक्त पार्थिव शरीरलाई क्षेत्रवासीको निम्ति अन्तिम दर्शनको निम्ति राखिएको थियो। शहीद जीवन गुरुङलाई सैनिक सम्मानको साथ सलामी दिइएर अन्तिम संस्कार गरियो। सो अवसरमा चीफ अफ आर्मी स्टाफका प्रतिनिधित्व गर्दै जोनल अफिसर इन्चार्ज ईस्टर्न कमान्ड कोर कमाण्ड ३३ कोर, जोनल अफिसर इन्चार्ज २७ माउन्टेन डीभ, कमाण्डिङ अफिसर ४/८ जीआर लेफ्टनेन्ट कर्णल अखिलको विशेष उपस्थिति थियो भने दार्जीलिङ स्टेशन हेड क्वार्टरको पक्षमा सुवेदार मेजर ४/८ जीआर सुवेदार गोपीराम थिए।

यसरी नै रङ्गली रङ्गलियट खण्ड विकास अधिकारी सौभिक बासु, रङ्गली रङ्गलियट थानाका एसआई निरज राई, दार्जीलिङ सदरका सीआई पुरण राई, दार्जीलिङका विधायक अमरसिंह राई, सतिश पोख्रेल, जिल्ला सैनिक बोर्डका अधिकारीगण, गुरुङ विकास एवं सांस्कृतिक बोर्डका अध्यक्ष खगेन्द्र गुरुङ आदि पनि शवयात्रामा सामेल थिए। स्टेशन कमाण्डर 124 माउन्टेन ब्रिगेडका ब्रिगेडियर  पतञ्जली राहुल भीएसएम को नेतृत्वमा सैनिक सम्मानको साथ २१ गोलीको अन्तिम सलामी दिँदै शहीद जीवन गुरुङलाई श्रद्धाञ्जली दिइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया