शिवकुमार राई जन्म शताब्दी समारोह समितिद्वारा वर्षभरिको कार्यक्रमहरूको घोषणा

Girl in a jacket

खरसाङ, 15 जनवरी।


शिवकुमार राई जन्म शताब्दी समारोह समितिको पदाधिकारीहरूले मङ्गलबार पत्रकार सम्मेलन डाकेर समितिको वर्षभरिको कार्यक्रमहरूको घोषणा गरेका छन्। जन्म शताब्दी समारोह समितिका सभापति तिलक शर्मा, सचिव ऋषि राई र सहसचिव उमेद गोलेद्वारा गोर्खा जनपुस्तकालय भवनमा पत्रकार सम्मेलन डाकेर समितिले गत 26 अप्रेल 2018 देखि अहिलेसम्म गरेको विभिन्न कार्यक्रमहरू र आगामी 26 अप्रेल 2019 सम्म हुने विभिन्न कार्यक्रमहरूबारेमा पनि जानकारी गराएको छ।

जन्म शताब्दी समारोह समितिका सचिव ऋषि राईले पत्रकारहरूलाई सम्बोधन गर्दै 2017 मा नै खरसाङमा बहुआयमिक प्रतिभाका धनी शिवकुमार राईको जन्म शतवार्षिकी समारोह भारतव्यापी रूपमा गर्नलाई जन्म शताब्दी समारोह गठन गरिएको बताए। उनले समितिले एक वर्ष व्यापी समारोह अन्तर्गत 26 अप्रेल 2018 को दिन शिवकुमार राई जन्मेको स्थान सिक्किमको रिनाकबाट यसको आरम्भ गरेको बताउँदै उक्त कार्यक्रममा सिक्किमको मुख्यमन्त्री पवनकुमार चामलिङ र जीटीए बीओए अध्यक्ष बिनय तामाङ पनि उपस्थित रहेको साथै उक्त दिन नै जीटीएले प्रथम शिवकुमार राई स्मृति पुरस्कार वरिष्ठ स्रष्टा कृष्णसिंह मोक्तानलाई दिने घोषणा गरिएको थियो। सो पुरस्कार गत 27 दिसम्बर 2018 मा खरसाङको एक कार्यक्रमबीच गिरी जयन्तीमा जीटीएद्वारा कृष्णसिंह मोक्तानलाई प्रदान गरियो भनी बताए।

सचिव राईले बताएअनुसार यही जन्म शताब्दी समारोह समितिको छत्रछाँया र सुझावमा भारतभरि कार्यक्रमहरू भइरहेको बताए। यसअन्तर्गत डुवर्स, कालचिनी, दार्जीलिङ सरकारी कलेज, खरसाङ कलेज, खरसाङको पुष्परानी स्कूल, सोनादा, देहरादून, भाक्सु क्षेत्रमा पनि शिवकुमार राईको जन्म जयन्ती पालन गरिएको जनाए। त्यसरी नै आगामी दिनमा शिवकुमार जयन्ती कता कता हुने र कसरी हुने भन्ने विषयमा पनि पत्रकारहरूलाई जनाइएको छ।

समितिका सचिव ऋषि राईले पत्रकारहरूलाई जनाएअनुसार आगामी 19 र 20 जनवरीको दिन सिलगढीमा जन्म जयन्ती समारोह पालन गरिने, 10 फरवरीमा खरसाङको गोर्खा जातीय विभुति उद्धानमा जीटीए बीओए उपाध्यक्ष अनित थापाको बाहुलीबाट शिवकुमार राईको सालिग पुन: निर्माण गर्नलाई शिलान्यास गरिने भएको छ भने 20 जनवरीमा खरसाङ नगरपालिकाद्वारा पनि जन्म शताब्दी समारोह पालन गरिने भएको छ। त्यसरी नै आकाशवाणी खरसाङद्वारा पनि शिवकुमार राईले दिएको योगदानलाई कदर गर्दै फरवरी महिनाको कुनै एक दिन कार्यक्रम गर्ने भएको पनि बताए। त्यसरी नै शिवकुमार राईको नाममा डाक टिकट जारी गराउन समितिको तर्फबाट जीटीए बीओए अध्यक्ष बिनय तामाङलाई पनि भेट गरिसकेको र उनीबाट पनि सकारात्मक आश्वासन दिएको पनि सचिव राईले बताएका छन्।

शिवकुमार राई जन्म शताब्दी समारोहको समापन कार्यक्रम खरसाङमै आगामी 26, 27 र 28 अप्रेल 2019 मा तीन दिवसीय कार्यक्रमबीच हुने भएको छ। यस अन्तर्गत 26 अप्रेलमा मूर्तिकार अमीर सुन्दासद्वारा बनाइएको शिवकुमार राईको मूर्तिको अनावरण गरिने र 27 अप्रेलको दिन साहित्य अकादमीको तर्फबाट कार्यक्रम गरिने अनि 28 अप्रेलको दिन समापन कार्यक्रम गर्ने भएको छ। त्यसरी नै शिवकुमार राईको प्रकाशित कृतिहरू र रचनाहरूलाई लिएर पुस्तक प्रकाशित गर्ने भएको र यसको लागि दार्जीलिङका स्रष्टाहरू बिजयकुमार राई र प्रा. सुजतारानी राईलाई अभिभारा दिएको र काम पनि भइरहेको जानकारी पत्रकारहरूलाई गराइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया