नेपालको नेपाली सङ्गीतले पाएको स्वर्ण युग दार्जीलिङको देन हो-कमल रेग्मी

गीतसंवाद

कमल रेग्मी नयाँ पुस्ताका चर्चित गीतकार हुन्। उनी साहित्य अकादमी युवा पुरस्कार पाउने पहिलो युवा सर्जक पनि हुन्। धेरै राम्रा गायक, सङ्गीतकारहरूसित उनको उठबस छ। धेरै गीतहरू फ्लोरमा गइसकेको हो। प्रेम र जातिवादी केही गीत धेरै चर्चित पनि छन्। थुप्रै गीत र गजलका पुस्तकहरू पनि प्रकाशित गरिसकेका छन्। युवा पुस्तामा दह्रो उपस्थिति दिएका गीतकारकोरूपमा उनलाई खबरम्यागजिनले केही जिज्ञासा राखेको थियो, उनले गीत, सङ्गीतबारेका आफ्ना बुझाईहरू साझा गरेका छन्। यस्तो छ, उनीसित खबरम्यागजिनको संवाद


गीत किन लेख्नुहुन्छ?

गीत केवल सङ्गीतको विधा मात्रै नभएर साहित्यको पनि एउटा सशक्त विधा हो। नेपाली साहित्यमा तर यसको स्थापित अनुहार छैन। लेखन र प्रकाशनको दृष्टिले पनि गीत साहित्य पछि परेको छ। सन् १९०० सालमा हाजीरमान राईका ‘मीठा मीठा नेपाली गीत’ प्रकाशित भएदेखि यता आजसम्म भारतभरिबाट एक सय जति पनि गीत सङ्ग्रहहरू छापिएका छैनन्।

गीत साहित्यको समुचित मूल्याङ्कन भएको छैन। यसैले भारतीय नेपाली साहित्यको मूल धारामा गीत साहित्य अझ पनि दह्रिन सकेको छैन। गीत साहित्यलाई अरू विधाको तुलनामा उभ्याउनु पनि मेरो गीत लेख्नुको अभीष्ट हो। अर्को, कविता गजल आदिले सम्बोधन गर्न नसकिएका कुराहरूलाई अभिव्यक्ति दिन म लेख्छु।

गीत मनोरञ्जन मात्रै हो कि समाजमा यसको अर्को कुनै दायित्व पनि छ?

गीत मनोरञ्जन त हो नै। गेयात्मकता यसको विशेषता हुनाले गायनले मनोरञ्जन त दिन्छ नै  तर मनोरञ्जन मात्र यसको उद्देश्य  होइन।  समाजमा गीतको गहिरो प्रभाव छ। विश्व इतिहासका केही क्रान्तिहरूमा गीतले अभिभावकीय भूमिका निर्वाह गरेको पाइन्छ। गीत परिवर्तनको मसाल हो।

भारतीय नेपाली गीतहरू अझ पनि गोपाल योञ्जन, अम्बर गुरूङको ह्याङओभरमा नै बाँचिरहेको छ त?

अवश्यै छैन। गोपाल योञ्जन, अम्बर गुरूङ, शरण प्रधान आदि हाम्रा गीत लेखनका बलिया आधारहरू हुन्। उनीहरू गीतकार हुनका साथै सङ्गीतकार र गायक पनि हुनाले धेरै जसो रचिएका गीतहरू सङ्गीतवद्ध र गाइएका पनि छन्।

यसैले ती गीतहरूका प्रभाव यद्धपि टडकारो छ। हरिभक्त कटुवाल, नोरदेन रूम्बा, जस योञ्जन ‘प्यासी’, दलसिँह अकेला, पुरण गिरी, ध्रुव चौहान, पुष्कर पराजुली आदि गीतकारहरू अहिले पनि खिप्ती गरेर गीत लेखिरहेका छन्।

तर ती सबै गीतहरू सङ्गीतवद्ध छैनन् र गाइएका पनि छैनन्।तर जति गाइएका छन् तिनीहरूले आफ्नो परिचयको दह्रो प्रमाण दिएका छन्। हामीलाई नेपाली गीत भन्नेबित्तिकै गोपाल योञ्जन र अम्बर गुरूङतिर फर्किरहनुपर्ने स्थिति छैन। त्यो फर्काइ यदि छ भने त्यो श्रद्धाको शीर झुकाइ हो।

हाम्रा गीतहरू दार्जीलिङका डाँडाकाँडासम्म पनि किन फैलिन नसकेको? मान्छेले लामोसमय याद राख्नलायक गीतहरू आउन बाँकी हो कि आइसकेको हो?

होइन हाम्रा गीतहरू दार्जीलिङका भूगोलबाहिर पुगेका छन्। इतिहासदेखि वर्तमानसमेतलाई पल्टाएर हेर्ने हो भने लछेप्रै प्रमाण छन्। अम्बर गुरूङदेखि पुरण गिरीसम्मकै गीतका लोकप्रियता  प्रमाणका निम्ति थोरै हुन् र? अहिलेसम्म मान्छेले याद राखेर गुनगुनाइराखेका गीतहरू धेरैजसो गीतहरू हाम्रा हुन्।

हाम्रा गीतले नेपालमा भर पर्नैपर्छ?

कसैले कसैसित भर पर्नुपर्दैन। नेपालमा प्राविधिक सुविधाका कारण हाम्रा कलाकारहरू नेपाल जाने गरेका हुन् तर अब त्यो स्थिति पनि छैन। हामी सेल्फ सफिसियन्ट छौँ।

नेपाललाई दार्जीलिङले सङ्गीतको क्षेत्रमा धेरै दियो, साटोमा नेपालले दार्जीलिङलाई केही दिएको छ?

नेपालको नेपाली सङ्गीतले पाएको स्वर्ण युग दार्जीलिङको देन हो। नेपालको सङ्गीतलाई माथि उठाउन दार्जीलिङले दह्रो काँध जहिल्यै थापेको छ। दार्जीलिङका धेरै कलाकारहरूले नेपालमा रोजगारको व्यवस्था समेत गरेर स्थापित भइसकेका छन्। नेपालले बद्लामा सदभाव दिएको छ। दार्जीलिङलाई जहिल्यै सम्मानको दृष्टिले हेरेको छ। केही मात्रामा रोजगारको अवसर पनि दिएको   छ।

नेपाली गीति संसारमा कमल रेग्मी कहाँनेर छ? किन निरन्तर पुरानैमार्काका गीतहरू आइरहेको हो, नयाँ पुस्ताले गीतमा ल्याएका फरकपनबारे तपाईँको बुझाई बताइदिनुहोस् न।

नेपाली गीति संसारमा कमल रेग्मीले गरेको कामले उसको स्थान निर्धारण गर्ने हो। म आफैले होइन। गायक सङ्गीतकारहरूले आग्रह गरेअनुसार गीतहरू लेख्न पर्दा उनीहरूकै रूचि अनुसार लेखिनुपर्ने हुन्छ।

यसो हुनाले गीतहरू पुरानै ढाँचाका जस्ता लाग्छन्। फरक भनेको प्रस्तुति हो। मैले पनि यस्ता धेरै गीतहरू लेखेको छु। गीतमा नयाँपनको आग्रह मसित सधैँ छ। फरक किसिमले गीतहरू पनि लेखेको छु। मेरा प्रकाशित गीत सङ्ग्रहहरूमा त्यस्ता गीतहरू पनि पाइन्छन्। तर त्यस्ता गीतहरू बजारमा थोरै आउँछन्।

गीत लेख्नुको निम्ति लेख्नु, गाउनुको निम्ति गाउनु, सङ्गीत भर्नुको निम्ति भर्नुजस्तो मात्र भइरहेको छैन? कतै पनि नयाँ हाँचका गीतकार, गायक, सङ्गीतकारको दह्रो उपस्थिति देखिँदैन त।

फरक फरक ठाउँमा निर्भर गर्ने कुरा हो। सबैतिर सबैले यसै गरिरहेका छैनन्। स्तरीय गीत सङ्गीत सिर्जन पनि भइरहेकै छ। जहाँसम्म नयाँ हाँचका कुरा छ, सङ्गीत क्षेत्रमा एकाध छोडेर भनेजस्तो उपस्थिति छैन। तर लागिपर्नेहरूले यसलाई केही हदसम्म पुरा गर्नेछन् र अरूलाई पनि प्रभाव पार्नेछन् भन्ने कुरामा आशावादी बन्न सकिन्छ।

कमल रेग्मी आफैलाई कस्तो गीत मनपर्छ?

कमल रेग्मीले मूलतः सबै किसिमका गीतहरू मनपराउँछ। शिव शङ्कर थापा, रत्नसमशेर थापा, राजेन्द्र थापा, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, जस योञ्जन ‘प्यासी’, नरदेन रूम्बाका गीतहरू सुनेर हुर्केको मभित्रको गीतकार उनीहरूबाट धेरै प्रभावित छ। उनीहरूले लेखेका गीतहरू मलाई मनपर्छ।

 कुन दिशातिर जाँदैछ त भारतीय नेपाली सङ्गीत?

युवा पुस्ताका केही कलाकारहरू छन् जसले सङ्गीतलाई गम्भीरसित लिएर अघि बढिरहेका छन्। यसै त भारतीय नेपाली सङ्गीतले सम्पूर्ण नेपाली सङ्गीतलाई नै प्रतिनिधित्व गरिराखेको छ। युवा पुस्ताको सचेतता र दायित्वबोधसहितको साङ्गीतिक सिर्जनले भारतीय नेपाली सङ्गीतलाई सही दिशाबोध गराइराखेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares