‘एलबी राईको वयान व्यक्तिगत हो, राज्यसित हाम्रो प्रशासनिक सम्बन्ध मात्र हो, गोजमुमोको तृणमूलसित कुनै सम्बन्ध छैन’

‘एलबी राईले दिएको वयान उनको नितान्तै व्यक्तिगत बयान हो, यसलाई हामी मान्देनौं,’ खनालले भने, ‘हाम्रा अध्यक्ष र महासचिवले गोजमुमो अब तृणमूल भयो र तृणमूलको उम्मेदवारलाई समर्थन गर्छौं भनेका छैनन्।’


कालेबुङ, 19 जनवरी


ब्रिगेड सभामा जाँदा जाँदै तृणमूल विधायक अरुप विश्वासको उपस्थितिमा गोजमुमो प्रमुख विनय तामाङले दिएको वयानलाई मिडियाले गलतरूपले प्रचार गरेको गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालले बताएका छन्।

खनालले बताएअनुसार मोर्चाले लोकसभा चुनाउमा कसलाई समर्थन गर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन। कलकत्तामा भएको ब्रिगेड सभा तृणमूलको सभा पनि होइन। ब्रिगेड सभा भाजपाको तानाशाह प्रवृतिको विरुद्धमा देशभरिका विपक्षको एक भएको स्वर मात्र हो। विपक्षीहरूले तेस्रो मोर्चा बनाएको छ, त्यसैको पहल मात्र हो। तर यही सभामा जाने वित्तिकै उनको पार्टी अध्यक्ष विनय तामाङलाई तृणमूल काङ्ग्रेससित मुछेको अनि मोर्चाले तृणमूलका लोकसभा उम्मेदवारलाई समर्थन गरेको अफवाह फैलाएको खनालको भनाई छ।

‘मोर्चा अध्यक्ष विनय तामाङ र अनित थापाले लोकसभा चुनाउमा तृणमूल उम्मेदवारलाई समर्थन गर्ने कतै वयान दिएका छैनन्,’ खनालले भने, ‘तृणमूललाई समर्थन गऱ्यो भन्ने अफवाह मात्र हो। मोर्चा तृणमूल काङ्ग्रेससित मिलेको कुरा अफवाह मात्र हो।’

तेस्रो मोर्चाको कार्यक्रममा जाँदैमा यस्तो लाञ्छना लगाउनु सही नरहेको अनि आजको ब्रिगेडको मञ्चमा धेरै दिग्गज नेताहरू उपस्थित रहेको र उनीहरू तृणमूलसित मिल्न आएको नभएर तेस्रो मोर्चालाई बलियो बनाउन आएको पनि उनले बताए।

‘गोर्खाहरूको हितमा भाजपाले पनि कुनै काम गरेको छैन। हामीलाई ढाँटेको छ। यसैले भाजपालाई हामी समर्थन गर्दैनौं। लोकसभा चुनाउमा गोर्खाहरूलाई छल्ने भाजपालाई हाम्रो समर्थन छैन। देशको दिग्गज नेताहरू उपस्थित रहेको मञ्चमा गोजमुमोका प्रतिनिधिहरू पुग्नु पनि गर्वको कुरा हो,’ खनालले भने, ‘भाजपाको नीतिको विरोधमा नै विनय तामाङ र अनित थापा पनि गएका हुन्। तृणमूलसित गठबन्धन गर्न गएका होइनन्। न तृणमूलको उम्मेदवारलाई समर्थन गर्न गएका हुन्।’

उनले मोर्चाले गोर्खाहरूको मुद्दालाई मेनिफेस्टोमा हाल्ने र पारित गर्ने प्रतिबद्धता दिने पार्टीलाई मात्र गोजमुमोले समर्थन गर्ने बताए।

‘एलबी राईले दिएको वयान उनको नितान्तै व्यक्तिगत बयान हो, यसलाई हामी मान्देनौं,’ खनालले भने, ‘हाम्रा अध्यक्ष र महासचिवले गोजमुमो अब तृणमूल भयो र तृणमूलको उम्मेदवारलाई समर्थन गर्छौं भनेका छैनन्।’

उनले बारम्बार मोर्चाले लोकसभा चुनाउमा कसलाई समर्थन गर्छ भन्ने कुरा निर्णय नै नगरेको बताए। तृणमूलसितको गठबन्धनको कुरा एलबी राईको भनाई रहेको तर मोर्चाको नरहेको पनि उनले दोहोऱ्याए। ‘राईको वयानसित जोडेर मोर्चा तृणमूलसित मिल्यो, तृणमूलको उम्मेदवारलाई समर्थन गर्छ भनेर किटान गर्नु गलत हो,’ उनले भने, ‘जिटिएले राज्य सरकारसित मिलेर काम गर्नु अर्को कुरा हो, तृणमूलसितको गठबन्धको कुरा अर्को कुरा हो, दुवैलाई जोडेर हेर्नु ठिक होइन।’

यता नारी मोर्चा कालेबुङ जिल्ला सचिव गायत्री मुखियाले प्रष्ट पारिन्, ‘जसले हाम्रो मागलाई बोक्ने प्रार्थी दिन्छ र हाम्रो आकांक्षा पूरा गर्छ उसलाई हामी समर्थन गर्नेछौं, चाहे त्यो तृणमूल होस् वा कुनै।’

मुखियाले 12 जनवरीको दिन मिरिकमा भएको केन्द्रिय समितिको बैठकमा अध्यक्ष विनय तामाङले सबैलाई प्रष्ट पारेको बताउँदै भनिन्, ‘केन्द्रिय कमिटीको बैठकमा कुनै पनि दललाई लोकसभामा समर्थन गर्ने कुरा भएन। ‘हामी ब्रिगेड सभामा जानु तृणमूललाई सघाउनु होइन’ भनेर अध्यक्ष विनय तामाङले भनिसकेका छन्। पत्रकारहरूले सत्यतथ्यसम्म पुगेर मात्र समाचार प्रकाशित गरिदिनुहोला। हाम्रा समर्थकहरूलाई भ्रममा नपारिदिनुहोला।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया