थाँतीमा रहेका सबै राजनैतिक माग गर्दै एसडीएफले दियो राजनाथलाई ज्ञापन

खबरम्यागजिन खबरदाता

गान्तोक, 19 मई 2017


एसडीएफ पार्टीको उच्चस्तरीय समितिले बिहीवार केन्द्रिय मन्त्री राजनाथ सिंहलाई राजभवनमा भेटेर सिक्किमे जनताको पक्षबाट ज्ञापन पत्र चढाएको छ| एसडीएफ पार्टीका उपाध्यक्ष (प्रशासन मामिला) एसके प्रधानको नेतृत्त्वमा रहेको पार्टीको उच्चस्तरीय समितिले केन्द्रिय मन्त्री राजनाथ सिंहसमक्ष पाँच पृष्ठको लिखित ज्ञापन-पत्र बुझाएको छ।

ज्ञापन-पत्रको शुरुमा १७औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीलाई केन्द्र सरकारले सिक्किम भ्रमणको अनुमति दिनुपर्ने माग गरिएको छ। यसरी नै ज्ञापन-पत्रमा सिक्किमका लिम्बू र तामाङलाई अनुसूचित जनजातिको मान्यता दिलाएकोमा केन्द्र सरकारसमक्ष आभार प्रकट गर्दै यी दुई जातिको निम्ति देशको संविधानअनुसार सिक्किम विधानसभामा पाँचवटा सीटको माग राखिएको छ।

यी दुई जातिको निम्ति पाँचवटा सीट आरक्षण गरिँदा भोटिया-लेप्चाको निम्ति आरक्षित १२ वटा सीट र एउटा सङ्घ सीटलाई असर नपर्ने पनि ज्ञापन-पत्रमा उल्लेख गरिएको छ।
यसरी नै अनुसूचित जनजातिको मान्यता पाउनबाट वञ्चित रहेका ११ वटा जातिगोष्ठी (खम्बु राई, गुरुङ, मगर, भुजेल, बाहुन-छेत्री (खस), नेवार, जोगी/सन्यासी, सुनुवार/मुखिया, थामी र याक्खा-देवान) लाई अनुसूचित जनजातिमा अन्तर्भुक्त गराउनुपर्ने विषयमा एसडीएफ सरकारले केन्द्र सरकारसमक्ष बारम्बार राख्दै आइरहेको मागलाई अघि बढाउँदै राज्यका सबै समुदायको निम्ति सम्मान हक-अधिकार सुनिश्‍चित गर्न केन्द्र सरकारले यो मागलाई पूरा गर्नुपर्ने ज्ञापन-पत्रमा जनाइएको छ।

यसै सन्दर्भमा ज्ञापन पत्रमा सिक्किम विधानसभा सीटको संख्या बढाएर ४० बनाउनुपर्ने पनि ज्ञापन-पत्रमा उल्लेख गरिएको छ। यसरी नै राज्य सरकारले केन्द्र सरकारसमक्ष राज्यका पुराना रैथानेहरूलाई आयकरमा छुट दिनुपर्ने विषयमा राख्दै आएको मागलाई अघि बढाउँदै एसडीएफ पार्टीको उच्चस्तरीय समितिले केन्द्रिय मन्त्री राजनाथ सिंहसमक्ष यो विषयलाई पनि ज्ञापन-पत्रमा सामेल गरेको छ। देशको संविधान अन्तर्गत रहेको ३७१एफले सिक्किमको सुरक्षा गरेको उल्लेख गर्दै यस विशेष प्रावधानलाई सम्पूर्ण सिक्किमे नागरिकको हितमा सधैं सुरक्षित राख्नुपर्ने विषयलाई पनि ज्ञापन-पत्रमा जनाइएको छ।

एसडीएफ पार्टीको उच्चस्तरीय टोलीले चढाइएको ज्ञापन पत्रलाई स्वागत जनाउँदै केन्द्रिय मन्त्री राजनाथ सिंहले सकारात्मक आश्‍वासन दिएको एसडीएफ पार्टीका प्रवक्ता के.टी. ग्याल्छेनले बताएका छन्। ज्ञापन-पत्रमा राखिएका सबै मागलाई पूरा गर्ने मार्गमा केन्द्र सरकारले काम गरिरहेको अवगत गराउँदै केन्द्रिय मन्त्री राजनाथ सिंहले यी मागहरू पूरा गर्ने कार्यलाई अझ गतिशील बनाउन आफ्नो तर्फबाट भरपूर प्रयास गर्ने वचन दिएको पनि प्रवक्ता ग्याल्छेनले बताएका छन्। पार्टीको उच्चस्तरीय समिति र केन्द्रिय मन्त्री राजनाथ सिंहमाझको भेटघाट अति नै फलदायक बनेको पनि प्रवक्ता ग्याल्छेनले बताएका छन्।
एसडीएफ पार्टीका उपाध्यक्ष एसके प्रधानको नेतृत्त्वमा रहेको यस उच्चस्तरीय समितिमा पार्टीका वरिष्ठ पदाधिकारीहरू सामेल थिए|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया