रियाज संगीतालयको छैटौं वार्षिकोत्सव

गान्तोक, 20 जनवरी। रियाज संगीतायलय, गान्तोकले आफ्नो छैटौं स्थापना दिवस पालन गर्यो। आज मनन केन्द्रको मिनि थिएटरमा आयोजित स्थापना दिवस समारोहमा पूर्व मन्त्री एवं योग गुरु टी. लाचुङ्पा मुख्य अतिथि रहेका थिए। यसरी नै सिक्किमेली संगीत जगतका प्रसिद्ध कलाकारहरू उत्तर प्रधान, विमला प्रधान, नरेन गुरुङ, रेमन्ती राई, युवा गायक सार्जन राई, मिस्टर सिक्किम अरुण गुरुङको साथमा सुधीर सिंह विशिष्ठ अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बपोधन गर्दै मुख्य अतिथि लाचुङपाले गुरुलाई सधैं सम्मान गर्नुपर्ने बताउँदै जबसम्म गुरुलाई सम्मान गर्छ तबसम्म रियाज निरन्तर रहने, कला र कलाकार बाँचिरहने बन्तव्य राखे। उनले गीत-संगीत तथा कलाको हामी स्वस्थ रहनु आवश्यक रहेको बताउँदै योगअभ्यासले मानिसलाई स्वस्थ राख्ने बताए। यसका साथै कलाकारहरूमा अनुशासन र शिष्टाचारको पनि खाँचो पर्ने उनले बताए।

यसरी नै रियाज संगीतालयका निर्देशक मनोज राईले संगीत क्षेत्रमा पनि हामीले भविष्य सुनिश्‍चित गर्न सकिने बताउँदै रियाज संगीतालयमा जो-जति संगीतका विद्यार्थीहरू आइरहेका छन् उनीहरूले आफ्नो सांगीतिक अभ्यासलाई निरन्तर राख्नुपर्ने सुझाउ राखे। अभिभावकवर्गलाई विशेश सम्बपोधन गर्दै उनले भने, संगीत-कला क्षेत्रमा कतिपयको नराम्रो व्यवहारिक कुराहरूले गर्दा अभिभावकवर्ग डराउँछन्, तर यहाँ तपाईंहरूले डराउनुपर्ने कुरा केही छैन। हामीले नराम्रा कुराहरूलाई छोडेर राम्रा कुराहरूलाई मात्र लिनुपर्छ। रियाज संगीतालयमा गीत-संगीत मात्र सिकाइँदैन, तर अभिप्रेरणात्मक कुराहरू पनि सिकाइन्छ, निर्देशक मनोज राईले भने। संगीतको परिभाषा सन्दर्भमा बोल्दै उनले भने, संगीत गजत यति विशाल छ कि यहाँ भनेर साध्य छैन। यो एउटा विशाल समुद्र झै छ। प. भीमसेन जोशीले पनि संगीत भनेको विशाल समुग्र हो भने उनकोमा केवल एक बोटुका पानी मात्रै थियो भन्नुहुन्थ्यो। 90 वर्षसम्म संगीत साधना गरेका व्यक्तित्वले त्यसो भन्छन् भने हामी त केही पनि होइन। संगीत यति विशाल छ, निर्देशक राईले भने। संगीत क्षेत्रमा आएर आफ्ना नानीहरू कतै विग्रिने हो कि भनेर कोही पनि डराउनुपर्दैन भन्दै उनले आफ्ना नानीहरूलाई संगीतप्रति प्रेरित गर्नुपर्ने अभिभावकवर्गसित सुझाउ पनि राखे।

कार्यक्रममा रियाज संगीतालयका साना-साना 5-6 वर्षीयदेखि 40 माथिका विद्यार्थीहरूले आ-आफ्नो सामुहिक गायन प्रस्तुत गरेका थिए। कार्यक्रममा संगीतालयको गान्तोकसितै राभङ्ला शाखाका विद्यार्थीहरूले पनि सांगीतिक प्रस्तुति दिएका थिए। यसमा गायनसितै भायोलिन, कि-बोर्ड, बासुरी आदि वाद्य वादनको पनि विद्यार्थीहरूले प्रस्तुति दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया