सरकारको कामै हल्ला गर्ने हो, काम गर्ने होइन-अनिल तेलैजा

पर्यटन संवाद

अनिल तेलैजा, यो नाम पहिले पत्रकारितामा चर्चित थियो। तपाईँहरूलाई थाहा नै छ, नेताहरू ठूला ठूला कुरा गर्छन्, एउटा पत्रकार टिक्ने पत्राकारिताको विकासमा एक सुत काम गर्दैनन्। मिडिया हाउस यस्ता छन्, मानौं उ श्रमिकको खुन चुस्ने कारखाना हो।

अनिल तेलैजाले पत्रकारितमा जीवन भेटेनन्। आखिर उसित एक्लैको जीवन छैन। उसित पनि परिवार छ, परिवारका सपनाहरू छन्।

राज्य सरकार र जिटिएले विकासको पहिलो प्राथमिकतामा पर्यटनलाई राखेपछि अनिलजस्ता श्रमजीवीलाई ‘अब अवसरहरूको निर्माण हुन्छ’ भन्ने आशा लाग्नु स्वाभाविक हो। तर दुर्भाग्य हेर्नुहोस्, सरकार र जिटिएले विकासको पहिलो प्राथमिकतामा राखेको पर्यटन पेशामा अवसर खोज्न पसेको अनिल तेलैजालाई जिटिएको पर्यटन विभाग कसले सम्हाल्छ, त्यो समेत थाहा छैन।

अवसर पाउनु र परको कुरा। सहयोग पाउनु त परको कुरा।

अनिलजस्ता श्रमजीवी, सपनाजीवीहरूलाई प्रोत्साहित गर्न सरकार र जिटिएले करोडौं रुपियाँ छुट्याउने होइन त? तर कहाँ पुग्छन् ती रुपियाँ, भगवान जानुन्।

खबरम्यागजिनले अनिलसित यसकारण पनि यो संवाद गरेको हो कि उनीमार्फत यो पेसाको वास्तविकता सामुन्ने आवोस्।

अनिलको रोङ्गोमा ह्वाइट हाउस होमस्टे छ। तीनवर्षदेखि पत्रकारित छोडेर यही पेशामा छन्।

‘धेरैले सोध्ने गरेका पनि छन्। ह्वाइट हाउस भन्छ रातो छ त?,’ अनिल भन्छन्, ‘वी आर ह्वाइट इन एटिट्यूड नट इन कलर। ह्वाइट हाउसको विशेषता नै यही हो।’


व्यवसाय कस्तो चल्दैछ?

नराम्रो छैन। परिवार धान्न सकिने अवस्था छ। आफ्नो ठाँउ पनि चिनाउन पाइरहेको छु। केही समय मेहनत गरे एक दुई युवाहरूलाई रोजगार दिन सक्छु जस्तो लागेको छ।

पत्रकारिता छोडेर पर्यटन व्यवसायतिर लाग्नु भो? कता घाटा, कता नाफा रहेछ त?

घाटा र नाफा भन्दा पनि समय र परिस्थितिले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको मात्रै हुँ। पत्रकारिता छोडेको छुइनँ। अहिले पनि कालेबुङ प्रेस क्लबको सक्रिय सदस्य हुँ।

यो भन्दा धेर सामाजिक सरोकारको विषयमा बोलेकै छु। लेखेकै छु। पहिले जस्तो मासिक वेतन थापेर काम भने गरेको छैन। केही वर्ष पर्यटन व्यवसायलाई सही ट्र्याकमा हिँडाउने र पुनः सक्रिय पत्रकारितामा आउने रहर अझै जिउँदो छ। पत्रकारिता आत्मासित र व्यवसाय पेटसित टाँसिएको छ मेरो।

होमस्टेको भविष्य छ?

अबको पर्यटन व्यवसाय भनेकै होमस्टे र पर्या- पर्यटनको हो। पर्यटकलाई घुमाउन मात्र होइन आफ्नो संस्कार-संस्कृति चिनाउने अवसर पनि हो यो व्यवसाय। स्थानीय तहमा उपलब्ध संसाधनहरूको इकोफ्रेन्डली उपयोग र यसैबाट अर्थ उपार्जनको लागि होमस्टे एउटा दह्रो विकल्प हो जस्तो लागेको छ मलाई।

हाम्रा युवाहरूले यसमा मनग्गे काम गर्न सक्छन्। कलकत्ता र दिल्ली बस्नेहरूले दार्जीलिङ र कञ्चनजङ्घा बेचेर महल बनाइसके। हामी यसैको फेदमा बसेर विलौना गरिरेका छौँ।

हामीले भन्दा राम्रो हाम्रो ठाँउ कसले चिनाउन सक्छ अरूलाई? हाम्रा युवाहरूले फेसबुक र ह्वाटसपको सही उपयोग गरे मात्रै भने पनि राम्रो अर्थ उपार्जन गर्न सक्छन्।

कलकत्ता र दिल्लीलाई दार्जीलिडे युवाहरूले दार्जीलिङ चिनाएको सपना पालेर बसिरहेको छु अचेल। हाम्रा युवाशक्तिले यस्ता कुरामा दिमाग लगानी गरोस् जस्तो लागेको छ।

सरकारले त पहाडमा पर्यटन प्रवर्धनको लागि निक्कै काम गरिरहेको हल्लाखल्ला गर्छ, वास्विकता के छ?

सरकारको कामै हल्ला गर्ने हो।, काम गर्ने होइन। 3 वर्ष भयो यो व्यवसाय गरेको। आधारभूत तालिम लिने अवसरसम्म जुटेको छैन। छेवैमा भनेको दलगाउँ भ्यूपोइन्ट ठेकदार र तत्कालिन सरकारको फाइदामा बनायो होला। अहिले करोडौंको समपत्तिको रेकदेख गर्ने एकै जना चौकीदार पनि सरकारले राखेको छैन।

साँझ पख परिवारसित घुम्न जाने अवस्था छैन दलगाउ भ्यूपोइन्टको। अल्लारेहरूको अड्डा भइसक्यो यति सुन्दर ठाउँ। यस्तै पारा हो भने केही वर्षमा 5 करोडको लगानी खण्डहर बन्छ। बल्ल बल्ल बनिएको बाटो बनिन नपाई भत्कन शुरू भइसक्यो। खै सरकारको पर्यटन प्रवर्धन? हल्लै होला।

जिटिएले नि त, पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको हल्ला पिट्छ, कस्तो छ सहयोग?

केही दिन अघि जिटिए मुख्य सचिव मुर्गेन साहब बास बस्न आइपुगेका थिए ह्वाइट हाउसमा। पर्यटक बोलाउने रोङ्गोको सडकमा उनको भीआइपी गाडीले मेसो पाएनछ क्यारे, ठेकेदार र इञ्जिनियरहरूलाई मेरै अघि झाप्नसम्म झापे। त्यसपछि नै हो सडकको खाल्डो पुर्ने काम पुनः थालियो। यसबाहेक जीटीएको पर्यटन विभाग कसले हेर्छ? मलाई त थाहा छैन।

पर्यटकहरूको चासो र प्राथमिकताहरू के कस्ता हुँदारहेछन्?

हरेक पर्यटकको रूची फरक हुन्छ। यद्धपि बेसिक कुरा भनेको हरियाली, स्वच्छता र सुरक्षा नै हो। स्वच्छ परिवेश छ, हरियाली छ अनि घुमफिर गर्दा कुनै अफ्ठ्यारो छैन भन्ने कुरा सुनिश्चित् गर्न सके पर्यटक आउँछ।

यति हो सही सूचना पर्यटकसम्म पुऱ्याउन सक्नु पऱ्यो। स्थानीय स्तरमा रहेको प्राकृतिक संसाधन खोला नाला, पहाड कन्दरा चिनाउने र आफ्नो संस्कार संस्कृति चिनाउने कुरा नै अहिले मेरो प्राथिमिक्तामा पर्छ।

पर्यटक भन्दा क्यामेरा बोकेर हिउँले ढाकेको हिमालको फोटो खिच्दै हिँडने मान्छे भन्ने पुरानो मान्यता भत्काउन जरूरी छ। आफ्नो गाउँमा कुनै पनि योजना र कारणले आइपुगेकाहरूलाई सुरक्षित बस्ने, खाने प्रवन्धन पनि पर्यटन व्यवसायमा नै पर्छ। यति बुझेर काम गरिरहेको छु।

पर्यटकको चासो र प्राथमिक्ता फरक फरक हुने गरेको पाएको छु। कोही खोला नाला घुमेरै रम्ने हुन्छन भने कोही दिनभर किताब पढेरै बस्ने गर्छन्। हाम्रो काम भनेको उनीहरूको रूची अनुसार वातावरण निर्माण गर्ने हो। कञ्चनजङ्घा, टोइट्रेन, चिया बगान र झर्ना बाहेक पनि पर्यटन र पर्यटक छन्, हुन्छ। हाम्रा सरकार र सरकारका नुमाइदाहरूले यति कुरा बुझेर योजना बनाइदिए हुन्थ्यो जस्तो लाग्छ। कति पर्यटकलाई सुन्दर स्थान र सुन्दर होटलभन्दा आत्मिय व्यवहार र घरेलु वातावरणले धेर छुँदो रहेछ। थुप्रै घुम्न आउनेहरू आफै पकाएर खान्छन्, हामीलाई पनि खुवाउँछन्। खानेकुरा पनि आफै लिएर आउने गर्छन्। पैसा पनि दिएर जान्छन्। हामीले दिने भनेको सही वातावरण नै हो।

छुट्टै राज्यको आन्दोलनलाई केहीसित साटेको छ भने, त्यो हो विकास। पर्यटन व्यवसायीको आँखाले बङ्गाल सरकार र जिटिए सरकारको त्यही विकासलाई कसरी देख्छ?

छुट्टै राज्य र बिकास यी दुवै नितान्त फरक बिषय हो। जस्तो कि बोतलको पानी र खोला जस्तो। बिकास भनेको बोतलको पानी हो, यसले तिर्खा मेट्ला तृष्णा होइन। खोला नै भए त तिर्खा र तृष्णा दुवै मेटिन्छ। मुहान पनि आफ्नै मुख पनि आफ्नै।

बर्खामा बनाएको बाटो हिँउदोमा रहँदैन, पर्यटकले दुःख पाउँदैन?

पर्यटकले के दुःख पाउछ? उनीहरू त राम्रो बाटो भएतिर गइहाल्छन् नि। दार्जीलिङ आउनेहरू शिमला वा सिक्किमतिर हानिन्छन्। रोङ्गो आउँछु भन्नेहरू रानीखेततिर। दुःख त हामी जस्तो पर्यटन व्यवसायसीलाई पो हुने हो। बर्खामा उम्रिएको झ्याउ उखेल्न पनि हम्मे पर्छ।

आफू सरकार वा जिटिएमा हुँदो हो, पहिलो काम के गरिन्थ्यो होला त?

जिटिएमा भएको भए पहिलो कुरा पर्चा पट्टाको निम्ति पहल गर्थें। 5 पुस्ता भइसक्यो यो सिन्कोना गोडेको। आफू बसेको घडेरी आफ्नो छैन्। यो भन्दा दुःखको कुरा के होला? व्यवसाय गर्न सबैभन्दा गाह्रो पनि यसैले भइरहेको छ। सानो योजनाको निम्ति पनि जमिनको कागज पत्र खै भन्छ?

तपाईँको होमस्टे वाइटहाउसको आकर्षण के के हो त, किन आउनु हाइटहाउस?

ह्वाइट हाउसको ट्याग लाइन हो- रोयल हाउस फर रोयल पिपल, अर्थत् हामी कहाँ आउने पर्यटकलाई हामी एक अनुशासित राजकीय स्वतन्त्रता दिन्छौ। हामीसित खानाको निश्चित मेनु छैन अनि यसलाई खाने समय तालिका पनि छैन्। हामीले चेक इन र चेक आउट समय पनि राखेका छैनौं। हाम्रा गेस्टले चाहे रातभर नसुती बस्न सक्छन् या दिन भर सुत्न सक्छन्। फरक यति हो उनको कारण अन्यले असुविधा भने भोग्न नपरोस्। मानवीय मूल्य र नैतिक मान्यता भने ह्वाइट हाउसको पहिलो प्राथमिकता हो। धेरैले सोध्ने गरेका पनि छन्। ह्वाइट हाउस भन्छ रातो छ त? वी आर ह्वाइट इन एटिट्यूड नट इन कलर। ह्वाइट हाउसको विशेषता नै यही हो।


ह्वाइट हाउस


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया