तेस्रो मोर्चा, आठ सुत्री माग र दलाली

आलोचना

वर्षौंदेखि सरकार विरूद्ध आफ्नो उन्मुक्तिको लडाइँ लडिरहेका छन्, उनै सरकारको पार्टीसँग कसरी गठबन्धन गर्न सक्छ? आत्मानिर्णयको आवाजलाई दमन गर्न बारम्बार आफ्नै समुदायको शिर उच्छेद गर्ने आदेश दिने सरकारसँग कसरी गठबन्धन गर्न सक्छ ? गत वर्षको आन्दोलनमा बुलेटले छल्नि पारेका शहिदहरूको रगत मेटिन पाएकै छैन, शोक सन्तप्त परिवारको आँखामा आँसु सुक्न पाएकै छैन। यस्तोमा आफ्नै सन्तानहरूको निर्मम हत्या गर्ने हत्याराहरूसँग कसरी गठबन्धन गर्न सक्छ?


बबिता मादेन


स्वाभिमान चाहे चकनाचुर भएर छरियोस् तर अभिमान हार्नु हुँदैन, यही टेक लिएर गोजमुमो अघि बढिरहेको छ। आजकल गोजमुमो 1 र 2 भन्ने चलन छ। सोसल मिडियामा नामको स्वामित्व लिएर गरिएको वाक युद्ध बाहेक गोजमुमो 2 कता छ र त्यसमा को को छन् कसैले भन्नू सक्दैन।

दुई तीन गुमनाम नेताहरूको भरमा पार्टी चल्नु सक्दैन, त्यसैले अब यस्तो लाग्दैछ मानौ गोजमुमो 2 कही बाँचेको छ भने त्यो जनताको छात्तीभित्र दबिएर बाँचेका होलान् नत्र विनय तामाङ र अनित थापाले गोर्खे स्वाभिमानको इतिहासलाई बिग्रेड मैदानमा दफ्नाएर फर्किँदा पहाड चकमन्न भएर सुतिरहने थिएन।

विनय तामाङहरूसँग निष्पक्ष निर्णय लिन सक्ने क्षमता छैन। आफुसँग भएको पद र प्रतिष्ठा राज्य सरकारको आशिर्वाद हो। स्वभाविक हो, जता पल्ला भारी छ त्यतैतिर वफादार रहे सत्तामा धेर टिकिरहन सकिन्छ।

राज्यको ‘एहसान’-मा दबिएका आफूहरू तृणमूल छोडेर अन्यतिर जाने विकल्प पनि थिएन। कोलकाताको भेलामा पहाडको टिएमसी कमान्डरले हिजोसम्म टिस्टा-रङ्गीत अर्थात तृणमूल-गोजमुमो अब ‘टिस्टा’ मात्र अथवा ‘तृणमूल’ मात्र भएर बस्ने वक्तव्य दिँदा विनय तामाङ र अनित थापा प्रफुलित मुद्रामा देखियो।

तर उदेकको कुरा त यो थियो कि उता विनय तामाङले आउँदो लोकसभा चुनावमा तृणामुल उम्मेदवारलाई डेढ लाख भोटले विजयी बनाउँने घोषण गरिसक्दा पनि यता पहाडमा पार्टीका कार्यकर्ताहरू आउँदो चुनावमा गोजमुमोले कसलाई समर्थन जनाउँने हुन् त्यसको अडान स्पष्ट भइसकेको छैन भनेर पार्टीभित्रको आपसी वैचारिक समानतालाई नै अस्प्ष्ट पारिदिए।

विनय तामाङ भन्छन, ‘राजनैतिक दलले कसैसँग पनि गठबन्धन गर्न सक्छ’ । सत्य हो,  राजनीतिमा कुनै स्थायी अनुबन्ध हुँदैन। समय, सुविधा र मौका हेरेर कसैले पनि कुनै पार्टीसँग गठबन्धन जोड्न सक्छ अनि तोड्न पनि सक्छ।

तर यहाँ अवस्था अलिक फरक छ, त्यो पार्टी अनि त्यहाँका बासिन्दाहरू वर्षौंदेखि सरकार विरूद्ध आफ्नो उन्मुक्तिको लडाइँ लडिरहेका छन्, उनै सरकारको पार्टीसँग कसरी गठबन्धन गर्न सक्छ?

आत्मानिर्णयको आवाजलाई दमन गर्न बारम्बार आफ्नै समुदायको शिर उच्छेद गर्ने आदेश दिने सरकारसँग कसरी गठबन्धन गर्न सक्छ ?

गत वर्षको आन्दोलनमा बुलेटले छल्नि पारेका शहिदहरूको रगत मेटिन पाएकै छैन, शोक सन्तप्त परिवारको आँखामा आँसु सुक्न पाएकै छैन। यस्तोमा आफ्नै सन्तानहरूको निर्मम हत्या गर्ने हत्याराहरूसँग कसरी गठबन्धन गर्न सक्छ?

यो गठबन्धन गोजनुमोको राजनैतिक स्वार्थपनाको पराकाष्ठा हो भने सयौं वर्षदेखि उन्मुक्तिको लडाइँ लड्ने वीर सपुतहरूको सङ्घर्षका दुखद अन्त पनि हो। पहाड र गोर्खे जनताको प्रशासनिक दायित्व बोकेका नेतृत्वहरूले आफ्नैहरूको भावनामा घात गरेर झुठ, फरेब र धोकापूर्ण राजनीति कसरी गर्न सक्छ ? ताज्जुबको कुरा छ ।

यो भन्दा आश्चर्यजनक कुरा, दुईचार नेताहरूको मनमानीलाई टुलुटुलु हेर्दै बस्ने जनताको लाचारीपन हेर्दा साँच्चै अब पहाड र गोर्खाहरू लाटागुङ्गा भइसकेको प्रमाणित हुँदछ ।

तृणमूल मात्र होइन बङ्गालको कुनै पनि पार्टी, जो सत्तामा रहेका हुन्छन्, गठबन्धन गर्नु हाम्रो राजनैतिक आत्मासमर्पण हो र आज विनय तामाङहरूले यो आत्माघाती फैसला गरेर आफ्नो मात्र होइन सम्पूर्ण समुदाय कै शिर उठाएर बाँच्ने आकांक्षामा बिराम चिन्ह लगाइदिएका छन्। जसले गर्दा हामी गोर्खाहरू अब कैयौं वर्षपछि धकेलिएका छौँ।

बिग्रेड मैदानको मञ्चमा देशका अब्बल राजनीतिज्ञहरूहरूसँग आसिन गराएर ममता व्यानर्जीले अर्को एउटा कुटनैतिक कामयावी हासिल गरिन्। गठबन्धन विनय तामाङहरूको कुनै निश्चित रणनीति होइन। स्वामिभक्तिमा सत्ताको दलाली बाहेक जनभलाइको कुनै स्पष्ट धारणा पनि देखिएको छैन।

तेस्रो मोर्चा समक्ष राखिएको आठ सुत्री मागको खासै औचित्य देखिँदैन। जुन बाईस राष्ट्रिय दलहरूसँग सम्बन्ध स्थापित गरेको हुँकार पिटिरहेका छन् ती दलहरू माझ नै आज मोर्चामा आ-आफ्नै नेतृत्व लिएर घमासान चलिरहेको छ। मोर्चाभित्र हर कोइ आफ्नै पार्टीबाट प्रधानमन्त्रीको महत्वकांक्षा पाल्नेहरू आउने चुनावसम्म साथ हिँड्न सक्छ, यसको कुनै निश्चितता पनि छैन।

पक्कै आठ सुत्री मागले गोर्खा जातिको हितलाई सम्बोधन गरेको छ, तर उचित तर्क, समय र ठाँउ यसको अनुकुल छैन। पहिलो नम्बर मै परेका गोर्खाहरूको राष्ट्रिय चिन्हारी एंव राजनैतिक सुरक्षा सुनिश्चित, जो केवल अलग राज्य अथवा समतुल्य छुट्टै प्रशासनिक व्यवस्थाले मात्र पूर्ण गर्दछ। त्यसो हो भने जोसँग लडेर हामीले सुरक्षा हासिल गर्नु पर्ने हो उनैलाई निवेदन टक्राउनु हाँस्यस्पद कुरा हो।

जहाँसम्म जनजातिको कुरा छ यो हाल केन्द्र सरकार अधिनस्थ मुद्दा हो । राज्य सरकार उक्त मुद्दा र गोर्खाहरूको कुनै एउटा राजनैतिक – सामाजिक समस्य समाधानप्रति इमान्दार भए सांसद सत्र अवधि अवागै केन्द्रमाथि दवाब सृष्टि गर्न सक्थ्यो तर राज्यबाट यस्तो कुनै पहल गरिएन।

बाँकी रहेका, जिटिएलाई डेभलपमेन्ट अफ नर्थ इस्टर्न रिजनमा अन्तर्भुक्त गरिनु पर्ने बाहेक अरू मागहरूमाथि राज्य सरकारले पहिलेबाटै आश्वासनको भारी त बोकाई नै रहेको छ, अझ कति आश्वासन चाहियो! तब गठबन्धनको निम्ति प्रस्तुत आधारहरूमा कुनै ओजन छैन।

सरकार गठन हुनलाई एउटा पनि सांसदको धेरै महत्व हुन्छ। यस्तोमा आफुहरूलाई सस्तोमा बिक्री गरेर जातिहितको निम्ति धेरै उपलब्धिहरू भित्राउन सक्ने मौकालाई त्यसै खेरो फाले।

आउने लोकसभा चुनाव विशेष गरेर हामी देशमा चिन्हारीको सङ्कटबाट पार तर्ने प्रयत्न गरिरहेका जनताको निम्ति महत्वपूर्ण थियो। पहाडको सत्तासिन पार्टीको दायित्वले पनि सबैलाई सामुहिक रूपमा एकबद्ध गरेर पहाड र गोर्खाहरूको हितमा गतिलो रणनीति तयार पार्न सकिन्थ्यो।

गोजमुमोले आउँदो चुनावमा टिएमसीसँग गठबन्धन गरेर आफ्नो राजनैतिक औकातको सिमाना तय गऱ्यो। अब जनताले आफ्नो बौद्धिकता र चेतनाको सही सदुपयोग गर्ने पालो छ। नेताहरू राजनैतिक निर्णय लिन स्वतन्त्र छन तर त्यसमाथि अन्तिम मोहोर लगाउने अधिकार यदि कसैसँग हुन्छ भने त्यो जनता नै हो।

भलै सत्ताले बुलेटको आडमा जनतामाथि अन्याय, अत्याचार, शोषण र मनमानी गरोस् तर व्यालेटको रूपमा जवाब दिने अधिकार जनतासँग पनि हुँदछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया