चिवा भञ्जाङको सिक्किम-नेपाल सड़क प्राथमिकताको आधारमा पूरा गरिनुपर्छ: डा बाबुराम भट्टराई

गान्तोक, 30 जनवरी । छिमेकी देश नेपालको सीमाना जोडिएको पश्चिम सिक्किमको चिवा भञ्जाङ भएर भारत नेपाल सडक मार्ग पूर्ण प्राथमिकताको आधारमा निर्माण हुनुपर्ने नेपालका पूर्व प्रधानमन्त्री तथा नयॉं शक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मनतव्य व्यक्त गरेका छन्। मंगलबारदेखि नेपालको पॉंचथर जिल्लामा पर्ने चिवा भञ्जाङ पुष्पलाल (मध्यपहाडी) लोक मार्गको शुरूवाती बिन्दु चिवा भञ्जाङबाट नयॉं शक्ति पार्टी नेपालको जन संवाद यात्रा 2075 शुरू गर्ने क्रममा भारतपट्टि निर्माणाधीन रहेको सडक मार्गको समेत निरीक्षण गरेपछि अध्यक्ष भट्टराईले नेपाल र भारतको मैत्रिक सम्बन्धलाई सुदृढ पार्न यो मार्ग प्राथमिकताको आधारमा निर्माण भई चॉंडोभन्दा चॉंडो संचालनमा आउनुपर्ने बताएका छन्। उनले मध्यपहाडी लोक मार्गको मुख्य औचित्य भनेकै नेपालको मध्यम भागसित जोड्ने भए पनि भारतको सिक्किम प्रान्तसित जोडेर अन्तरराष्ट्रिय बजारमा प्रवेश गराउनको निम्ति प्राथमिकताको आधारमा काम हुनुपर्ने पत्रकारहरूसित कुराकानी गर्दै बताएका हुन्। उनले यो मार्ग सुचारू हुन साथै नेपाल र भारतबीचको अन्तरराष्ट्रिय बाजार पनि सडक मार्गबाट जोडिने भएको हुनाले यसबारेमा नेपाल सरकारसित आफू स्वयंले कुरा गर्ने तथा सिक्किमका मुख्यमन्त्रीसित पनि प्राथमिकताको आधारमा यो मार्ग निर्माणमा तदारूकता ल्याउनुपर्ने विषयमा व्यक्तिगत रूपमा कुराकानी गर्ने मनतव्य व्यक्त गरे। नेपाली कम्यूनिस्ट पार्टी, नेपाली कांग्रेस, संघीय लिम्बूवान परिषदका नेताहरूको साथमा नेपाल शान्ति र समृद्धिमा लम्किन सकोस भन्ने सॉंझ योजना लिएर जन संवाद यात्रामा निस्किएका भट्टराईले सिक्किम पट्टिको सुरक्षा व्यवस्थामा भारतीय प्रशासनले चिवा भञ्जाङमा राम्रैसित चेकपोस्ट राखेर कार्य गरे जस्तै नेपाल पट्टिबाट पनि भञ्जाङमै चेकपोस्ट राख्नुपर्ने तथा अहिले भने च्यांगथापुमा मात्र नेपाली प्रशासन रहेको कुरा बताउॅंदै यसो गरिएको खण्डमा दुवै देशबीचको मैत्रिक सम्बन्धलाई सुदृढ पार्न सहयोग मिल्ने र सिक्किमसित जोड्ने सडक मार्ग पहिलो प्राथमिकताको आधारमा निर्माण भएको खण्डमा दुवै देशलाई फाइदा हुने बताए। उल्लेखनीय छ, सिक्किम पट्टिबाट उत्तरेदेखि चिवा भंज्यांगसम्मको 18 किलोमिटर लामो सडक मार्ग निर्माणको प्रक्रिया अन्तिम चरणमा छ। आउॅंदो फरवरी महिनामा यसको विधिवत उद्घाटन गरिने जानकारी मुख्यमन्त्री पवन चामलिंगले केही दिनअघि पश्चिम सिक्किमको भ्रमणको क्रममा आफ्नो सम्बोधनमा जनतालाई बताइसकेका छन्। 25 करोड रूपियॉंको लगानीमा निर्माण भइरहेको सडक मार्ग निर्माणले सिक्किमको पश्चिम जिल्लासित पूर्वीय नेपालको अधिकांश जिल्लाहरूसित सोझो सडक सम्पर्क स्थापित हुनेछ।

डॉ. भट्टराईले चिवा भञ्जाङ आएको क्रममा त्यहाँ सिक्किमी माटोमा तैनाथ सिक्किम पुलिस र सिक्किम सशस्त्र प्रहरीका जवानहरूसित भलाकुसारी गर्नका साथै साधरण बातचीत गरेर सिक्किम तिरको सड़क निर्माणबारे जानकारी लिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया