बेचिएका आत्माहरूको कथा

आलोचना

देव खम्बु राई


जीवनको उकाली – ओरालीहरूमा धेरै कुराहरू हेर्न पाइयो। अनुभव गर्न पाइयो। यस्तै यात्राहरूमा धेरै प्रकारको व्यापारहरू हेरियो। अहिले दार्जीलिङ पहाड़मा अनौठो व्यापार भइरहेको छ। यहाँ पहिला जातहरू बिक्री भए। अहिले गोर्खाली आत्मा बेचिँदै गरेको अनुभव गरिरहेको छु – कति त अगावै बिक्री भइसकेका छन् र अझै बिक्रीमा छन् कति गोर्खाली आत्माहरू।

विनय तामाङ र अनित थापाहरूले आफ्नो आत्मा बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीलाई पहिले नै बेचिसकेका हुन् र अहिले तिनीहरू आफुसँग हिँड़ने दाजु भाइ दिदी बहिनी काका बड़ा फुपु पुसैहरूको आत्मा बेच्ने तयारीमा छन्। कोलकोताको ब्रिगेड मैदानको जनसभामा उपस्थित हुन अघि नै विनय तामाङले तृणमूल काङ्ग्रेस प्राथीलाई एक लाख पचास हजारको अन्तरले बिजयी बनाउने घोषणा गरेको हो – फेरि जनसभामा उपस्थित भइसकेपछि विनय तामाङले भने – ‘ममता व्यानर्जी आगामी लोकसभा चुनावमा प्रधानमन्त्री पदको निम्ति अति उत्तम उम्मेदवार हुन्।’

विनय तामाङले कुन हिसाबले ममता व्यानर्जीलाई भारतवर्षको प्रधानमन्त्री पदको निम्ति अति उत्तम उम्मेदवार देखे त्यो दैव जानुन्। ब्रिगेड मैदानको जनसभामा जम्मा भएका राष्ट्रीय वा क्षेत्रीय राजनैतिक दलका कुनैपनि नेताहरूले प्रधानमन्त्री पदको निम्ति ममता व्यानर्जीको नाम उच्चारण गरेनन् बरू तेजस्वी यादव – अखिलेश यादवहरूले राहुल गान्धीको नाम उच्चारण गरे।

साँचो भन्नु हो भने विनय तामाङको ती वक्तव्यहरू गुलामीको सङ्केत हो। विनय तामाङहरू आफू त बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीको गुलाम भए भए दार्जीलिङ पहाड़को सम्पूर्ण जनतालाई पनि गुलामीको साङ्लोमा बाँध्न तत्पर छन्।

आज विनय तामाङहरूले जुन भाइहरूलाई पैसा दिएर ममता व्यानर्जीलाई धन्यवाद दिएको पोस्टरहरू टाँस्नु लगाएका छन् ती भाइहरूले यो कुरा बुझ्न जरूरी छ कि गोर्खाल्याण्ड राज्य निर्माणको सबैभन्दा ठूलो दुश्मन भनेको बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जी हुन्।

बरू कम्युनिस्ट सरकारको पालामा गोर्खालीलाई यति साह्रो अत्याचार भएको थिएन जति अहिले तृणमूल काङ्ग्रेस सरकारको पालामा भइरहेको छ। बङ्गालको पछि लागेर गोर्खाल्याण्ड राज्य निर्माण र हाम्रो जातिको निम्ति केही हुनेवाला छैन भनेर भाइहरूले समयमा नै बुझेको राम्रो हो।

हाम्रो निहत्था निर्दोष आन्दोलनकारीहरूलाई मार्न लगाउने मुख्यमन्त्री ममता व्यानर्जीको बढ़ीबढ़ाई गरेको पोस्टरहरू टाँस्दा ती भाइहरूको हात काँपेनन्? शहीद हुने ती निर्दोष आन्दोलनकारीहरूको ठाँउमा ती पोस्टर टाँस्ने भाइहरू पनि त हुनसक्थे कारण आन्दोलन हामी सबैले गरेका थियौं – जुलसहरूमा हामी सबै सहभागी बनेका थियौं।

दार्जीलिङको इतिहास साक्षी छ जस जसले बङ्गाल पन्थी भएर काम गरेको छ तिनीहरूको पतन भएर गएको छ। अबको पालो विनय तामाङहरूको हो। विनय तामाङले तृणमूल काङ्ग्रेसको उम्मेदवारलाई सघाउने लिएको निर्णयले विनय तामाङहरूसँगै हिँड़ने कतिपय नेतृत्व एवं कार्यकर्ताहरू पनि खुशी छैनन्।

के विनय तामाङले त्यो निर्णय केन्द्रिय समितिको सहमतिमा लिएका हुन्? के सिलगढीको चिन्तन सभामा नै तिनीहरूले यो प्रस्ताव पारित गरेका हुन्? कि यो निर्णय विनय तामाङ र अनित थापाको मात्र निर्णय हो?

– भन्ने जिज्ञासाहरू उप्जँदैछ। हुन त विनय तामाङको तानाशाही प्रवृत्ति हेर्दा यो तिनको एकल निर्णय पनि हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ।

आज दार्जीलिङ पहाड़मा जतिजना तृणमूल काङ्ग्रेस र विनय तामाङहरूको पछि कुद्दैछन् तिनीहरू शनैः शनैः ‘बेचिएका आत्माहरू’ हुन्। गोर्खाली भएर गोर्खाली माँस्ने पार्टीलाई उसले मात्र सघाउँछ जसको आफ्नो आत्मा नै बेचिएको छ नत्र कसैको आत्माभित्र गोर्खाली अलिकति पनि बाँचेको छ भने उसले बङ्गाललाई सघाउन सक्तैन। बङ्गाल भएर बाँच्नु भनेको आफ्नो जाति गोर्खाली र आफ्नो राज्य गोर्खाल्याण्ड माँस्नु हो यसर्थ जे सुकै होस् हामी गोर्खाली भएर बाँचौं र गोर्खाल्याण्डलाई बँचाउ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares