कमजोर हड्डिले उभिएकी ऋतिका

 मेरो शरीर यस्तो छ। मिल्न भने सबैसित सक्छु। दाजु, आमा बाबाको माया त्यसरी नपाएको भए म बाँच्ने थिइनँ। म जे पनि गर्न तयार छु। जहाँ पनि पुग्न सक्छु। हिज अस्ति सिलगढी चम्फासरी पुगेर आएँ। तपाईँलाई विश्वास लाग्छ?”


सङ्घर्ष

लीलाबहादुर छेत्री


सिक्किमकी  द्रौपदी शर्मालाई पद्मश्री पुरस्कारले सम्मानित गरिने कुराको घोषणा भएकै दिन मैले ॠतिकालाई पहिलोचोटि भेटें। क्लास मेट निश्चल प्रधान मार्फत् ऋतिकासित मेरो भेट भयो त्यो दिन डुवर्समा। जहाँ म एक दशकदेखि बस्दैआएको छु।

“सबै कुरा गर्नसक्छु, तर भीख मागेर बाँच्न सक्दिनँ।”, पहिलो भेटमै ऋतिकाले भनी, “म इज्जतले जिउन चाहन्छु तर, अरू जस्तो सक्षम छुइनँ।”

उसले थपी, “असक्षमता देखाएर सहानुभूति बटुलेर होइन स्वाभिमानको जीवन जिउन चाहन्छु।”

ऋतिका शारीरिक रूपमा असक्षम छे। असन्तुलित देखिन्छन् उसका अङ्ग-प्रत्याङ्ग। हिम्मत भने शारीरिक रूपमा सक्षमहरूका भन्दा गज्जब छ। जुन सग्लो हात-खुट्टा भएकाहरूलाई व्यङ्ग्य हो। चुनौती हो। प्रेरणा पनि हो।

क्याल्सियमको कमीको कारण 28 पल्ट खुट्टा भाँचिएर पनि ठम्ठमी हिँड्न खोजिरहेकी मान्छे हो-ऋतिका। शरीरका हड्डी कुनै सग्ला छैनन्। भयावह दुर्घटना हुँदामात्रै भाँचिनसक्ने हड्डीहरू उसका भाँचिएका छन् सामान्य लड्दा-पड्दा पनि । जोर्नीहरू राम्ररी जोडिएका छैनन्। यस्तोमा हिँडडुल गर्न अभ्यस्त भइसकेकी छे ऊ।

ऋतिका दुई व्यक्तित्वमाझको सङ्घर्षमा छे। एक विद्यार्थी लीलामाया। अर्को उदीयमान कविका ऋतिका ऋतु पराजुली दुवै जीवनसित ऊ सङ्घर्षरत छे। वैशाखीको सहारामा मात्रै हिंड्डुल गर्नसक्ने ऋतिका कसरी आफूलाई धान्दैछे, ती कुराहरू ऋतिकाकै मुखबाट सुनेपछि अवाक् बनें।

“मजस्ती असक्षमले उमेर छिप्पिँदै गएपछि अरूले भन्दा धेरै चुनौतीहरू सामना गर्नुपर्दो रहेछ।” ऋतिका भन्छे,“यसैले मजस्तीको जीवन कस्तो कष्टकर हुन्छ र कसरी बित्छ भन्ने महसुस गर्नथालेकी छु।”

शिक्षित भएपछि संसार बुझ्न सकिन्छ। “संसार बुझ्न सकियो भने इज्जतले जिउन सकिन्छ”-ऋतिकाले आफ्नो यतिञ्जेलका जीवन भोगाइबाट आर्जन गरेकी शिक्षा यही हो।

सामान्य रूपमा भए पनि ऋतिकाका परिवारले पहिलो जन्म दिन मनाइदिए। जुन दिन धेरैले उसलाई सुस्वास्थ्यको कामना गरे। आशीर्वाद दिए। तर पहिलो जन्म दिन मनाएको भोलिपल्टै ऋतिकाको कुइना खुस्कियो। कालेबुङको अलगढामा तीन महीना उपचार चल्यो। आठ महीनापछि हात भाँचियो। टुकुटुकु हिड्नथालेपछि लडेर तिघ्रा भाँचियो। त्यसपछि जतिपल्ट लडिन् उतिपल्ट भाँचिनथाले उसको शरीरका हड्डीहरू। आमा-बाबा छोरीको उपचारको क्रममा सिरिखुरी भए। आखिरमा केही सीप नलागेपछि गाउँमा वैद्य उपचार शुरू भयो। जतिपल्ट भाँचिन्थ्यो उतिपल्ट वैद्यले जडीबुटीद्वारा जोडिदियो। त्यसरी जोड्दा तर, हड्डीका डाक्टरले जोडेजस्तो जोडिएन। उपचारको क्रममा दार्जीलिङको चिसोमा समेत पुगी ऋतिका। क्याल्सिय़मको कमीको कारण हड्डी त्यसरी भाँचिने गरेको उपचारावधि डाक्टरहरूले बताए। दाजु राजेश भन्छन्, “ जतिपल्ट लड्थी उतिपल्ट भाँचिन्थ्यो ऋतिकाको हड्डी।”

ऋतिकाको जन्म जण्डिसले ग्रस्त भएको अवस्थामा भयो। जन्मिएको प्राय: तीन महीनासम्मको लगातार उपचारले ऊ निको भई। एक वर्ष पूरा गरेपछि हड्डी भाँचिने क्रम शुरू भयो। एकपल्ट लड्दा त चारैवटा हात खुट्टा भाँचिए। 13 वर्षको उमेरमा सामान्य अल्झिएर लड्दा पनि थुप्रै ठाउँका हड्डी खुस्किए। त्यतिबेला काठको कोक्रोमा एघाह्र महीना सुतेर बिताई। टट्टी-पिसाब कोक्रोमा भयो। जाउलोको पानी पिएर बाँची। त्यसै समय खुट्टामा औंसा पऱ्यो। ढाड पिल्सियो। धेरैले बाँच्दैन भनेर माया मारे। आखिरमा मृत्युलाई जितेर फर्किई ऋतिका।

“दाजु, आमा बाबाको माया त्यसरी नपाएको भए म बाँच्ने थिइनँ।”,ऋतिका भन्छे। मान्छेलाई बचाउने आफ्नै परिवारले हो। यी कुरा सार्थक भएको छ ऋतिकाको जीवनमा।

“अप्रेशन हुन्छ भन्छन् तर, यतिञ्जेल यसरी बाँचिसकेको छु।”, ऋतिका अघि थप्छे, “यस्तैमा पनि बाँच्न सक्छु भन्ने विश्वास भइसकेको छ।”

70औं गणतन्त्र दिवसको अवसरमा मैले ऋतिकालाई दोस्रोचोटि भेटें। त्यही भेटमा उसले माथिका कुराहरू भनी। दोस्रो भेटमा ऊ त्यसरी खुल्ली भन्ने ठानेको थिइनँ।

“यो खुट्टा यस्तो छ।”, ऋतिकाले दोस्रो भेटमा खुट्टा देखाई। सिमल तरुलको बोटजस्तो जतासुकै बाङ्गिएको छ। सग्ला छन् तर केही गरेर जिउँछु भन्ने हिम्मत। आफूप्रतिको भरोसा बेजोड छ ऊसित।

“यसरी स्कूल जान्थें।”, चार पाउ टेकेर केही हिँडेपछि पनि देखाई। अनि स्कूलका अरू दिनहरू पनि बताई त्यो दोस्रो भेटमा।

मन सर

2013 फरवरी 13 तारीखदेखि ऋतिकाको स्कूले जीवन शुरू भयो गाउँको प्राथमिक पाठशालाबाट। छिप्पिसकेकी थिई ऊ। घरैमा दाजुबाट साउँ अक्षर सिकेकी थिई। त्यसैले उसलाई पहिलोदेखि चौथो श्रेणी पुग्न चार वर्ष कुर्न परेन। पहिलो श्रेणीमा मगर गाउँको प्राथमिक पाठशालामा अङ्ग्रेजी महीना सोधियो उसलाई। अङ्ग्रेजी महीनाहरूको नामले उसलाई क्लास उकाल्यो। घरमा क्यालेण्डर हेरेर पढ्न सिकेकोले त्यसै दिन दोस्रो श्रेणीमा पुगी। भोलिपल्ट फेरि सरले सोधेछन् नेपाली महीना। असार, साउन, भदौ क्यालेण्डरमै हेरर सिकेकोले त्यसको भोलिपल्ट पुगी तेस्रो श्रेणी। पर्सिपल्ट दिइएको ‘लिटल बर्ड’ ले उसलाई जम्प गराएर चौथोमा पुऱ्यायो । “त्यसरी मजस्तीमाथि विश्वास गरेर प्राइमेरी स्कूलका मन सरले क्लास फोरमा नराखिदिनु भएको भए अहिले यहाँ हुने थिइनँ”, ऋतिका मन सरको खूब सम्झना गर्छे।

बिहान छ बजे घरबाट स्कूल हिँड्थी ऋतिका। मुश्किलले घिस्रिँदै दश बजे पूरा भएपछि पुग्थी स्कूल। एसेम्लीमा बस्न नपर्ने छुट दिएका थिए मन सरले। अरूले कुल्चिदेलान् भन्ने डरले त्यसो गरेका थिए मन सरले उतिखेर।

“मन सरको मन ठूलो थियो।” ऋतिका प्राथमिक पाठशालाका दिनहरू सम्झिन्छे, “साँडे दुई बजे छुट्टी भएपछि पनि मेरो ख्याल गर्नुहुन्थ्यो मन सर।”

कालू छेत्री र मनमाया छेत्रीका माइली छोरी भएर गोरूबथानको पोख्रेबुङ ग्रामपञ्चायतको माङजिङमा जन्मिएकी हो ऋतिका। यसचोटि पहिलो बोर्ड परीक्षा अर्थात् माध्यमिक लेख्दैछे। ग्रामीण इलाकामा सक्षमहरूले त स्कूल पढ्नाको लागि ठूलै सङ्घर्ष गर्नपर्ने स्थिति छ भने माङजिङमा जन्मिएकी ऋतिकाले माध्यमिकसम्म आइपुग्न गर्नपरेको सङ्घर्ष कल्पना गर्न सकिन्न।

दिदीबाट साथी

2013देखि स्कूल जानथालेकी ऋतिका 2014 पोख्रेबुङ हाई स्कूलमा पाँचौ श्रेणीमा पुगी। अर्द्ध वार्षिकमा तेस्रो भएकी ऋतिका पाँचौको वार्षिकमा चौथो भई। उसले छैटौं पढ्न परेन। सरहरूलाई लाचारीका कुराहरू राखी। किताब पढाउने सरहरूले उसका व्यथा पढे। साथीहरूका अभावमा उसले बिताउनपर्ने दिनहरू गमे। ऊ उफ्रिएर सातौंमा पुगी। जुन क्लासमा थिए गाउँका विमला र सरस्वतीहरू। उनीहरूले ऋतिकाको किताबको भारी बोकी दिन्थे। विमलाबाहेक अरूले हेल्प गर्नसक्दैन भनेर कुरा बुझाएपछि सरले ऋतिकाको व्यथा बुझे। अनि छैटौं नपढी सातौंमा विमलासित राखिदिएका थिए। सातौंमा सातौं स्थान आएकी ऋतिका आठौं श्र्णीमा आठौं भई। प्राथमिकमा सरको मन जित्ने ऋतिका हाई स्कूल पुगेपछि पनि सरहरूका प्रिय बनिन्। साथीहरूका दिदीबाट ऊ साथी भई।

पहिलो पाठशाला घरै हो-यो उक्ति चरितार्थ भएको छ ऋतिकाको लागि। घरमा दाजुबाट पढ्न र लेख्न सिकी। घरमा दाजुसित अक्षर सिकेका दिनहरू, कुँजिएर कोठाभित्र बिताएका कहाली लाग्दा वर्षहरू भुल्न नसकिने बताउँछे ऋतिका।

ऋतिकालाई अरू नानीहरूसित खेलिरहेको बेला साथीहरूले एडजष्ट गर्न नमान्दा साह्रै नरमाइलो लाग्थ्यो।

मलाई देखेपछि धेरै साथीहरू तर्किन्छन्। ऋतिका भन्छे, “मेरो शरीर यस्तो छ। मिल्न भने सबैसित सक्छु।”

स्कूलमा साथीहरूलाई थाहा थियो ऋतिकाको असली उमेर। त्यसैले ठूला क्लासकाहरूले पनि दिदी भनेर सम्बोधन गर्थे।त्यसो गर्दा उसलाई तीखो व्यङ्ग्य गरेको जस्तो लाग्थ्यो। असहाय हुन्थ्यो। सबैले दया गरेर हेल्प गर्थे। माया गरेर साथी बनाउने भने कम थिए ऋतिकाका।

“म जे पनि गर्न तयार छु। जहाँ पनि पुग्न सक्छु। हिज अस्ति सिलगढी चम्फासरी पुगेर आएँ। तपाईँलाई विश्वास लाग्छ?” दोस्रो भेटमा ठुन्किएका खुट्टा देखाएर ऋतिकाले प्रश्न गरी। साथीको घर खोज्दै एकलै चम्पासरी कसरी पुगी होली। कल्पना गरें सिलगढीको जाम र भीढ। जहाँको बाटो साँघुरो छ। सालुगढाबाट चेकपोष्ट पुग्न पनि दुई घण्टा लाग्ने व्यस्त र जाम्दै गएको छ सिलगढी।

वैशाखीको भरमा हिँड्नथालेको धेर भएको छैन। ऋतिका बसेको ठाउँबाट उठेर चार पाउ टेकेर हिँडिन्। हत्केला देखाई।“यसरी टेकेर हिँड्ने हुँदा य़स्ता भएको हो।” ऋतिकाले हत्केला देखाई। खुट्टाको पाइतालाजस्तो भएको छ उसको हत्केला। आधुनिक जीवनको सपना बोकेर लामो उमेर आदिम मानव भएर बिताइसकी ऋतिका चाहन्छे-अरूजस्तो जिउन।

डेड़ वर्ष अघिदेखि वैशाखी टेकेर हिँढ्न थालेकी छे ऋतिका। ‘टिन एज’ पार भइसक्दा पनि ऋतिका केटा-केटीका हाइटकी देखिन्छे। यतिखेर माध्यमिक परीक्षाको तयारीमा छे। चार पाउ टेकेर पढ़ेर दशौंमा पुगेकी ऋतिका बोल्नमा स्पष्ट छे।

यसै र कविता लेख्छु

जति ठूली हुँदै गई ऋतिका उति असक्षम बन्दै गई। कुँजिएऱ बस्नपर्ने दिनहरू बाक्लिँदै गए। त्यस्तोमा ऊ आफू के गर्न सकुँला भन्ने सोंच्नथाली। ऊ साथीहरूसित खेल्न चाहन्थी। कुद्न चाहन्थी। यस्तैमा दाजुले घरमा पढेको, कविता लेखेको कुराले उसलाई तान्यो। रेडियोका कार्यक्रमहरूले मन खिच्नथाल्यो। यतिकैमा ऊ कविता लेख्नथाली। स्कूले जीवन शुरू हुनपूर्व उसको कवि जीवन आरम्भ भइसकेको थियो।

कविता लेख्नथालेपछि साथीहरू बढ्नथाले। कविता बुझ्ने तर उसको शारीरिक असक्षणतादेखि टाडिन खोज्ने साथीहरूले उसको कविह्रदय बुझ्नथाले। अरूलाई कविता लेखिदिन थालेपछि साथीहरूकी झनै प्यारो भई।

“दिमागले गर्नसकिने सहज कामको रूपमा कविता लेख्न शुरू गरें।” कविता किन लेख्छौ-को उत्तरमा ऋतिका भन्छे,“आफ्नो कुरा राख्ने योभन्दा सहज मेरो ठाउँ छैन।”

ऋतिका आफ्नो शारीरिक असक्षमताप्रति घृणा गर्नेहरूको प्रतिकार गर्नचाहन्छे कविता मार्फत्। उसको दाजु राजेशकाअनुसार सानैदेखि उसको स्वभाव विद्रोही थियो। उसले जे चाहन्थी त्यही गर्थी। ऋतिकालाई कसैले कसैलाई हेपेको मनपर्दैन। गाउँमा सडक नआएको, बिजुली नआएको अनि सयदिने काम पनि राम्ररी गाउँमा नहुँदा उसले कविता लेखी। “धेरैले मेरा कुरा सुन्न चाहँदैनन्। सुनेर पनि बुझिदिँदैनन्। त्यस्ताहरूलाई म कविता मार्फत् मनका कुराहरू सुनाउँछु”,ऋतिका अघि भन्छे,

“घरमा कुजिएर बस्नपर्दा, स्कूलमा साथीहरूको साथ नपाउँदा, गाउँमा बिजुली नआउँदा मैले कविता लेखें।”

ऋतिकाले सार्वजनिक गाउँतिर कविता वाचन गर्नथालेपछि धेरैले सहानुभूति देखाएर आर्थिक सहयोग गरे। त्यो देखेर उसलाई कतिले भने, “कविता ऋतिकाको मागी खाने भाँडो हो।” त्यसपछि उसले कविता लेख्न अलि कम गरी। उसले सुनाई, “देशभक्ति र व्यङ्ग्य कविता पनि लेखेको छु।” ऋतिका चाहन्छे, कविता उसका साथीहरूसित कुरा गर्ने माध्यम बनोस्। माया गर्नेहरूसित दु:ख-सुख बाँड्ने माध्यम बनोस्।

“म कथा पनि लेख्न सक्छु।”  ,ऋतिकाले खुलाई,“तर कवितामा जतिको अरूमा खुल्न सक्दिनँ।” ऋतिकाले कविताहरू रोएको बेला लेखेकी छे। आफैसित चित्त नबुझेको, दुखेको बेला लेखेकी छे। ऊ भन्छे,“आफूलाई कवितामा खुलाउन सक्छु यसै र कविता लेख्छु।”

जीवन बुझ्ने क्रम

ऋतिका पढाइप्रति जति सिरियस छे उतिनै सिरियस छे साहित्य अध्ययनप्रति। पटकपटक खुट्टा भाँच्चिएर असक्षम बन्न थालेपछि ऋतिकाको जीवन कोठाभित्र साँधुरियो। त्यस अवधि उनले रेडियो सुनी। रेडियोमा पढिने कविता र अरू सिर्जनाहरूले कविता लेख्ने लहड चल्नथाल्यो। दाजु राजेशले लेखेका कविताहरूले उसलाई कवितातिर आकर्षित गऱ्यो। स्कूल नटेकी कविता रच्न थाली। गाउँमा 2012मा एक संस्थाको कार्यक्रममा पहिलोपल्ट मेरो जीवन टुक्रिएको छ शीर्षक कविता वाचन गरी। त्यो कविता वाचन गरेको अघिल्लो वर्षदेखि उसको स्टुडेन्ट लाइफ शुरू भयो। पाँचौंमा सान्त्वना शीर्षक कविता लेखिन्। अहलेसम्ममा उसले दुई दर्जनभन्दा धेरै कविता लेखिसकेकी छे। निरन्तर कविता लेखनले स्कूलकी लीलामाया अहिलेकी उदीयमान कवयित्री ऋतिका ऋतु पराजुली भइन्। देशभक्ति, सामाजिक विसङ्गतिप्रतिको व्यङ्ग्य गर्दै कविता लेख्न सक्ने ऋतिकाकी धेरै कविता आफ्नै जीवनसित सम्बन्धित छन्। जुन उसको पीडाबोधका सशक्त अभिव्यक्ति भएका छन्।

“अहिले डायरी लेख्नथालेकी छु,त्यसलाई छपाएर मजस्ता असक्षमहरूलाई जोश दिन्छु।” ऋतिका योजना सुनाउँछे, “त्यो डायरीमा म आफ्नो कुरा खोलेर लेख्नथालेकी छु, ता कि मजस्ता असक्षम भाइ-बहिनीलाई त्यसबाट नयाँ जोश र जाँगर चलोस्।” ऋतिका भन्छे, “म मेरो लागि मात्रै होइन समाजको लागि पनि बाँच्न चाहन्छु। मजस्तीको जीवन बुझ्नचाहन्छु।” लाग्छ-ऋतिका यतिखेर जीवन बुझ्ने क्रममा सङ्घर्षरत छे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया