१४औं घरमै कविता

बिजनबारी, 2 फरवरी


युवाहरूलाई साहित्यमा लगनशील बनाउँदै आएको रिम्बिक लोधोमा भेगको साहित्यिक संस्थान मुस्कान समुहले  अप्पर फेञ्चेटार निवासी सञ्चराज लिम्बुको निवासमा ‘घरमै कविता’-को १४औं प्रकरण भव्यरूपमा सम्पन्न भयो।

कञ्चनजङ्घा सांस्कृतिक वेलफेयर सोसाईटीको आयोजनामा सम्पन्न कार्यक्रमलाई संस्थाका सभापति सञ्चराज लिम्बुले अध्यक्षता गरेका थिए। कार्यक्रममा मुस्कान समूहका कविहरू क्रमैले कमल भट्टराई, जीवन लिवाङ,किरण नाम्साङ ,गोविन्द लिम्बु, सुरेन सुब्बा,  सुवास ठकुरी,राज काम्बाङ्ग, दिवाकर कार्की र मनिता लिम्बुले सुन्दर कविताहरू सुनाए।

सोनाम शेर्पा, छोतेन शेर्पा, योगेस लिम्बु अनि गगन लिम्बुले सुन्दर गीतहरू गाए। स्थानीय कलाकारहरू माङ्गेना लिम्बु, ईशा लिम्बु, रूबिना लिम्बु, सोनिया लिम्बु  अनि अनु लिम्बुले रङ्गारङ्ग नृत्यहरू प्रस्तुत गरे।

कार्यक्रममा प्रमुख अतिथि राइजिङ स्टार स्पोर्टिङ क्लबका सभापति पासङ सेर्पाले मनतव्य राख्ने क्रममा मुस्कान समूहको कार्यक्रमहरूको सहराना गरे। ‘यस संस्थाले हाम्रो क्षेत्रमा साहित्य अनि कलाको संरक्षणमा जुन कार्य विगत दुईवर्षदेखि यता यस क्षेत्रमा गर्दै आइरहेछ त्यो अतिनै सराहनीय अनि प्रशंसनीय छ,’ उनले भने, ‘नयाँ कलमहरूलाई  पनि मञ्च प्रदान गर्न कार्य गर्दै आएकोमा समूहलाई बधाई।’

कञ्चनजङ्घा सांस्कृतिक वेलफेयर सोसाइटीका सभापति सञ्चराज लिम्बुले पनि सबै मुस्कान समूहका सदस्यहरू र सहभागी कलाकारहरूलाई धन्यवाद दिए।

मुस्कान समूहको पक्षबाट कमल भट्टराई अनि जीवन लिवाङले मुस्कान समूहको गठनपछि चौधौं प्रकरणसम्मको यात्रामा धेरै प्रगति गर्न सक्षम बनेको बताए। यस क्षेत्रमा कविताका पाठकहरू धेरै बढेर गएकोमा खुशी व्यक्त गर्दै आयोजक समितिमा कृतज्ञता जनाए।

कार्यक्रममा अतिथिहरूको हातबाट कञ्चनजङ्घा सांस्कृतिक वेलफेयर सोसाईटीको वार्षिक क्यालेण्डरको पनि विमोचन भयो। कार्यक्रमका अतिथिहररूमा टाँसी शेर्पा, दलसिङ लिम्बु, जे०के० लिम्बु, सञ्चराम लिम्बु, सुकमान लिम्बु उपस्थित थिए। उनीहरूलगायत वरिपरि गाउँहरूबाट मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई आशिस लिम्बु, छोतेन शेर्पा र सुरेन सुब्बाले सञ्चालन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया