विनय तामाङहरूले गोर्खाल्याण्डको निम्ति किन जुलुस लगाउँदैनन्?

आलोचना

°

प्रकाश गुरूङ


चिटफण्डको रूपमा चिनिने शारदा, रोजभ्याली, बासिल, गीताञ्जली यस्ता नामहरू हुन, जसको नाम सुन्दा दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्स लगायत देशका विभिन्न स्थानको गरीब जनता अहिले पनि तर्सिन्छन्।

यी कम्पनीहरूले गरीब जनताको हड्डी चुसेको छ, रगतको आँशु रूवाएको छ। गरीब जनताले मजदूरी गरेर खाई-नखाई वचत गरेको पैसा केही राजनेताहरूको साँठगाँठमा यो कम्पनीहरूले लुटेर भागेको छ।

यी लुटिएका गरिब जनताले न्यायको आशा गरेको वर्षौं भयो। तर बङ्गालको तृणमूल राजनेताहरूले यी लुटाहाहरूलाई बचाउने काम गरिरहे। राज्यमा जनतालाई न्याय दिने कोही भएन।

यस्तो स्थितिमा केन्द्र सरकार, सर्वोच्च न्यायालय अनि सीबीआई मात्र जनताको भरोसामा उभियो। सीबीआईले पैसा लुट्ने कम्पनीको मानिसहरू र यस काममा मिलिभगत भएका नेताहरू विरुद्धमा सामग्री जुटाउन शुरु गऱ्यो।

यसै क्रममा सीबीआईले यसमा संलग्न मानिसहरूको सूची भएको दस्तावेज खोज्दै बङ्गालको पुलिस आयुक्त राजिव कुमारको घरमा जाँदा जनताको पैसा खाने लुटाहा कम्पनीलाई बचाउन मुख्यमन्त्री धर्ना बसेकी हुन् की यो राजनैतिक स्टन्ट हो भन्ने कुरा अहिले हाई भोल्टेज़ ड्रामाको रूपमा चर्चित छ।

मुख्यमन्त्रीको सुरमा सुर मिलाउँदै सीबीआई र केन्द्रको सत्तारुढ बीजेपीको विरुद्धमा विनय तामाङहरूले दार्जीलिङमा जुलुस लगाए। विनय तामाङ, अनित थापा, सतीश पोखरेल, आलोक कान्त मणि थुलुङहरूले शारदा र रोजभ्यालीहरूमा पैसा खानेहरूलाई किन सघाउँदैछन त्यो उनीहरूले नै जानुन् तर गोर्खा जनमुक्ति मोर्चा यस मामिलामा ठग कम्पनीहरूको शिकार भएका तमाम जनताको पक्षमा उभिएको छ।

आदरणीय अध्यक्ष विमल गुरूङज्युको नेतृत्वमा पहिला पनि शारदा र रोजभ्यालीहरू जस्तो चिटफण्डको विरुद्धमा पीड़ितहरूको पक्षमा जीटीए सभामा चर्चा चलेको थियो अनि पहाडमा फर्जी कम्पनीहरू आउनु दिनु हुँदैन भनेर उहाँले भन्नु भएको थियो।

हामी अहिले पनि त्यही अड़ान लिन्छौं अनि यी कम्पनीहरूबाट पीडितहरूले न्याय पाउनुपर्छ भनी माग गर्दछौं । सिबिआईले यस घोटाला सम्बन्धि मुद्दामा निष्पक्ष रूपमा बाधा रहित काम गर्न पाउनुपर्छ भनि गोजमुमो माग गर्दछ।

यसको साथै घोटाला गर्नेहरूलाई बचाउन जुलुस लगाउने विनय तामाङहरूसँग भुक्तभोगी जनतालाई सचेत रहने आग्रह पनि गर्दछौं।

हामी विनय तामाङहरूलाई प्रश्न गर्न चाहन्छौं, विनय तामाङहरूले  रोजभ्याली अनि शारदाहरू जस्तो चिटफण्डहरूलाई बचाउन जुलुस लगाउँछन् भने उनीहरूले त्यस्तै जुलुस गोर्खाल्याण्डको निम्ति किन लगाउँदैनन्?

आन्दोलनमा बङ्गालको गोलीले शहीद भएका परिवारले न्याय पाउनुपर्छ भनेर जुलुस किन लगाउँदैनन्? चिटफण्डहरूको पैसा दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्सका पीड़ितहरूले पाउनुपर्छ भनेर जुलुस किन लगाउँदैनन्?

यसरी नै मदन तामाङह ह्त्याकाण्डको मुद्दामा सीबीआईले निष्पक्ष जाँच गरेर न्याय दिलाइनुपर्छ भनेर हामी चाहन्छौं। हामी चाहन्छौं, शहीदको परिवारले न्याय पाएको हुनुपर्छ, अनि हामी चाहन्छौं, पहाड़मा विनय तामाङहरूको झुटको राजनीति बन्द हुनुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया