भारतीय गोर्खा पहिचान : सुरुवात, माग अनि समस्याहरू

इतिहास

दार्जीलिङ क्षेत्रमा भने नेपालको हिन्दु जातपात व्यवस्थाको कठोरता धेरै हल्का भएको थियो किनभने यताको गोर्खा समुदायको ठुलो अंश नै कि त ‘चिया श्रमिक’ अथवा ‘दार्जीलिङ रेल’ अथवा ‘सहरको निर्माण’ गर्ने श्रमिकको काममा लागेका थिए। ब्रिटिसले नियन्त्रण गरेको यस नयाँ व्यवस्थामा, श्रमिक वर्गको एक ठुलो अंश बन्यो जसलाई नेपालको जातपात व्यवस्था (caste hierarchy) सँग खासै चासो थिएन। 


© विश्वदीप तामाङ


“मानिसलाई ध्वस्त पार्ने सबभन्दा ठोस तरिका के हो भने तिनीहरूको आफ्नो इतिहासलाई अस्वीकार गर्नु र त्यसबारे  रहेको जानकारी पनि मेटाइदिनु हो।”

— जर्ज ओर्वेल

दक्षिणपन्थी प्रवृत्ति बोकेको ‘स्वराज्य’ भन्ने पत्रिका पढ्दा मैले जर्ज ओर्वेल-को यस उद्धरण पाए र पृथ्वीनारायण शाह मेरो मनमा टप्कियो। यसमा बहस छैन कि शाहलाई धेरैले नेपाल एकीकरणको महान् नेता भनेर मान्छन् तर धेरैले उनलाई एक निर्दयी शासक र साम्राज्यवादी भनेर पनि ठान्छन्।

उनै राजालाई सम्झिँदै नेपालले 11 जनवरीको दिनलाई राष्ट्रिय एकता दिवस मनाउँछ। यसको विरुद्धमा थुप्रै जनजाति समूहहरूले प्रतिवाद पनि जनायो, मुख्य गरी कीर्तिपुरमा। 18 औं शताब्दीको मध्यभागमा आफ्नो शासनकालमा शाहको सपना एउटा यस्तो राष्ट्र गठनको थियो जहाँ मानिसले एउटै भाषा (खस कुरा) बोल्नेछन्।

एउटै धर्मावलम्बी (हिन्दु) हुनेछन्, र एकै खाले (हिन्दु) चाढ़बाड़ नै मनाउने छन्। पृथ्वीनारायण शाहको ती नेपाली चाढ़हरूमा एउटा राजनैतिक पाइला नै थियो, किनभने राजाले नै त्यसको स्थापना गरेका थिए।

हामीले त्यसको सूक्ष्म विशिष्टताहरूलाई याद गऱ्यौं भने, त्यो स्थापनाकारको दृष्टिकोण अझै स्पष्टसँग बुझिन्छ। संस्कृति र धर्म— दुवैलाई नै यी चाढ़हरूमा समेटिएको थियो, यसरी नै सेना व्यवस्था अनि सामाजिक जीवनमा पनि।

ब्राह्मणवादी समाज व्यवस्था प्रतिष्ठानको रूपमा स्थापित भयो। यसले जातपात व्यवस्थाको जरालाई अझ समाजको गहिराइमा गाड्यो। सांस्कृतिक र धार्मिक राष्ट्रवाद नै शाह शासित नेपालको आधारशिला भनेर देखापऱ्यो।

धार्मिक र सांस्कृतिक अतिक्रमणको यस क्रममा धेरै गैर-खस र गैर-हिन्दुहरू, जस्तै नेवार, तामाङ, गुरुङ, लिम्बु आदिहरूमाथि राज्यको नयाँ हिन्दु शासन प्रणाली थपियो। फलस्वरूप आयो सांस्कृतिक वर्चस्व र त्यसको फल भोग्नु पऱ्यो आदिवासी जनजाति पहिचान भएकाहरूले।

पहिचानको ढाँचामा, बरकरार माहौल र आफ्नो पहिचानको पसन्दमाथि उभिएको हुन्छ एउटा पहिचानद्वारा अर्का पहिचान माथि हेपाइको सिलसिला। त्यसले गर्दा, पहिचान एउटा बहु-आयामिक धारणा हुनाले त्यो कि त आफैले अथवा अरूहरूले निर्माण गरिदिन्छ।

हिमालय क्षेत्रको दुईवटा प्रमुख जाति— ककेसियन खस र टिबेटो-बर्मिज किराँतीहरू लिएर बनिएको छ गोर्खाको एथ्निक आइडेन्टिटी। खसभित्र आउँछ बाहुन, छेत्री, ठकुरी, कामी, गाइने, दमाई, अनि सार्कीहरू।

टिबेटो-बर्मिज किराँतीहरूभित्र पर्छन् राई, लिम्बु, नेवार, लेप्चा, मगर, तामाङ, शेर्पा, गुरुङ, योल्मो, यक्ष आदिहरू। राई र लिम्बुलाई एकसाथ किराँती भनिन्छ। भारतीय गोर्खाभित्र पर्ने समुदायहरूका फेरि बेग्लाबेग्लै एथ्निक पृष्ठभूमि छ।

जस्तो कि लिम्बु, नेवार, लेप्चा, तामाङ (मुर्मी), दमाई, मगर, शेर्पा आदि। यद्यपि, समग्र भारतको सन्दर्भमा यी एथ्निक समुदायहरूले (लिम्बु, नेवार आदि) आफूलाई गोर्खा भनेर चिनाउँछन्, जुन चाहिँ भारत जस्तो एउटा ठुलो देशमा सजिलो पहिचानको लागि एक सचेत प्रयास हो।

यसका स्वाभाविक कारणहरू छन्— आर्थिक, राजनैतिक, क्षेत्रीय माहौल अनि कानुनी। त्यसले गर्दा, पपुलर डिस्कोर्सबाट हेर्दा, भारतीय सन्दर्भमा गोर्खाको एथ्निक पहिचानभित्र धेरै कुराहरू समेटिएको देखिन्छ— जस्तो कि नेपाली भाषा, औपनिवेशिक अतीत, गोर्खा रेजिमेन्ट, ऐतिहासिक अनुभव, रीति रिवाज, परम्परा, क्षेत्र, खाद्य व्यवहार (सेल रोटी, किनेमा, गुन्द्रुक, थुक्पा, मोमो, तामा आदि), सङ्गीत (नेपाली सङ्गीत, तामाङ सेलो) आदि। परम्परागत गोर्खे टोपी अनि खुकुरीले थप त्यसमा दृष्टिगत पहिचान जोड़िदिन्छन्।

सन 1769 मा पृथ्वीनारायण शाहको अतिक्रमण भन्दा अघि दार्जीलिङ र डुवर्स क्रमैसँग सिक्किम र भुटानको अंश थियो। आजको उत्तर बङ्गालको यी क्षेत्रहरू अनि हिमाचल र उत्तराखण्ड (कुमायुन र गढवाल) का केही अंश चाहिँ सन 1769 देखि 1814 सम्म नेपाल साम्राज्यभित्र थियो।

यी अतिक्रमण गरेका ठाउँहरू पछि सन 1814 को सुगौली सन्धिले गर्दा क्रमैसँग सिक्किम र ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग गाभिएको थियो। त्यससित आएको थियो पृथ्वीनारायण शाहको नेपालका केही सामाजिक बोझ पनि।

भारतीय गोर्खा पहिचानको निर्माणमा अन्य धेरै कारकहरू मध्ये यी तीन वटा सबभन्दा प्रमुख र प्रभावकारी होलान्—

भारतीय गोर्खा पहिचानको तीन मुख्य आधार

आसाम दार्जीलिङ : एक नयाँ क्षितिज (औपनिवेशिक अतीत)

1860 को दशकतिर जब चिया बगानहरू निकै बढ्दै थियो, दार्जीलिङ सहर बनिँदै थियो अनि अरू धेरै व्यापारिक क्रियाकलापले गर्दा श्रमको आवश्यकता बढ्यो, त्यति बेला ब्रिटिसले नेपालबाट श्रमिकहरूको आयातलाई प्रोत्साहन दिएको थियो। धेरै सङ्ख्यामा गोर्खाहरू बसेका ठाउँ आसाम कहिलेपनि उत्तर बङ्गाल झैँ सिक्किम, भुटान वा नेपालद्वारा शासित भएको थिएन।

सन 1826 मा ब्रिटिसले आसामलाई तिनीहरूको साम्राज्यभित्र गाभ्यो र बढी सङ्ख्यामा गोर्खा सेनाहरूलाई ल्यायो। यसपछि देखियो आसामको कोइला र तेलको खानीहरूमा श्रमिकको खाँचो। ब्रह्मपुत्र तीर बराबर विस्तृत भूभाग र हरियो जङ्गलहरूले पनि गौचरणको कामका लागि धेर सङ्ख्यामा गोर्खाहरूलाई आकर्षित गऱ्यो। अनि ब्रिटिसले पनि सन 1838 मा वेस्टल्याण्ड कानुन पारित भएपछि त्यसबाट ‘ग्रेजिङ् ट्याक्स’ उठाउने लोभमा यसलाई प्रोत्साहन दियो।

[Source: http://shodhganga.inflibnet.ac.in/handle/10603/18474 (chapter 08, pg17)]

दार्जीलिङ क्षेत्रमा भने नेपालको हिन्दु जातपात व्यवस्थाको कठोरता धेरै हल्का भएको थियो किनभने यताको गोर्खा समुदायको ठुलो अंश नै कि त ‘चिया श्रमिक’ अथवा ‘दार्जीलिङ रेल’ अथवा ‘सहरको निर्माण’ गर्ने श्रमिकको काममा लागेका थिए। ब्रिटिसले नियन्त्रण गरेको यस नयाँ व्यवस्थामा, श्रमिक वर्गको एक ठुलो अंश बन्यो जसलाई नेपालको जातपात व्यवस्था (caste hierarchy) सँग खासै चासो थिएन।

अर्कोतिर, नेपाल राणाशाहीको अधिनियम ‘मुलुकी ऐन’ 1854 ले नेपालको समाजलाई गहिरोरूपमा टुक्राइदिएको थियो। यस कानुनले समस्त जात (caste) र एथ्निक समुदायको लागि विधि सूचीकृत गऱ्यो र तिनीहरूको दर्जा निर्दिष्ट गरिदियो। आन्ने कुकुज्का-ले उहाँको “Negotiating Ethnic Identity in the Himalaya” (page 10-11)मा लेख्नुभएको छ— “मुख्यरुपमा फरक थियो तागाधारी (‘पवित्र धागो’ लगाउनेहरू— जो समाजको अभिजात वर्ग हुन् र जसभित्र छेत्री, बाहुन, ठकुरी अनि विभिन्न नेवारी जातहरू पर्छन्) अनि मतवाली (विभिन्न खाले रक्सी खाने जातहरू) बिचमा। यस मतवालीहरूलाई फेरि यसरी भाग गरिन्छ— दास नबनिने (मगर, लिम्बु, राई, गुरुङ) अपवित्र तर छुनु सक्नेहरू (touchables) अनि दास बनिनु सक्ने रक्सी खाने (तामाङ, भोटे, शेर्पा, योल्मो) अनि अछुत जातहरू।“

जब कि ब्रिटिसको अधीनमा रहेको दार्जीलिङमा केवल प्रशासनिक थिचोमिचो देखियो, नेपालमा भने ‘मतवाली जातहरू’माथि राणाशाहीको प्रशासनिक र सामाजिक— दुवैथरिका थिचोमिचो देखिन्थ्यो। त्यसले गर्दा दार्जीलिङ भने उन्मुक्तिको बाटोमा एक पाइला अग्रसर थियो, तुलनात्मक रूपले स्वतन्त्रता थियो अनि सामाजिक साङ्ग्लोहरू थिएन। त्यसै कारण होला, सन 1901 मा दार्जीलिङ भूभागमा राई, तामाङ, लिम्बु, मंगर, गुरुङ अनि अझ उत्पीडित जातहरूको उपस्थिति धेर सङ्ख्यामा थिए।

मतवाली जातको (नेपालको ऐन अनुसार) पहिचान राणाशाहीले बनाएको (थपिएको) हो जब कि भारतीय गोर्खा पहिचान भन्नाले एक प्रकार स्वतः निर्मित पहिचान हो।

नेपाली भाषा

नेपाल राष्ट्रको आधिकारिक भाषा नेपालीमा बोल्नेहरू मूल निवासी (indigeneous) समुदायभित्र एकदमै कम थियो, किनभने ती समुदायहरू बस्ने क्षेत्रहरू ज्यादातर तिनीहरूको आफ्नै समुदायबहुल थियो। पूर्वोत्तर नेपालको धेर जसो ठाउँहरूमा किराँतीहरू थिए, उत्तरतिर काठमाडौँको अर्थात् तिब्बतसँगको सिमानातिर थियो तामाङहरू, मुस्ताङ अनि उत्तर-पश्चिमतिर र पूर्वोत्तरको केही स्थानमा भोटे-शेर्पाहरू थिए, काठमाडौँ घाटीमा नेवारहरू, गण्डकी क्षेत्रमा गुरुङहरू आदि जस्ता बटुलिएको थियो।

क्षेत्रीयस्तरमा, यस्ता विभिन्न जातका मानिसहरूले एकहदसम्म आ-आफ्ना भाषा संरक्षण गरेका थिए। भाषिक अतिक्रमणको ज्वलन त त्यति बेला महसुस भयो, जब एकीकृत नेपालको राजधानी काठमाडौँ हो भन्ने घोषणापछि नेवारी भाषामाथि आक्रमण आइपऱ्यो। जिउसेप्पे टुक्की-ले “Nepal: Discovery of Malla” (पृष्ठ137) मा लेखेका छन् — “नेवारी र गोर्खाहरूबीच तनाव बढ्यो, यहाँसम्म कि नेवारी भाषामाथि प्रतिबन्ध लगाइयो अनि गोर्खाली भाषालाई अनिवार्य बनाइयो।

“ तामाङहरू माथि पनि यसको ठुलो असर पऱ्यो किनभने तिनीहरू काठमाडौँको नजिककै क्षेत्रमा बस्ने मुलनिवासी थिए। तामाङहरूले दुई चोटि विद्रोह गरेको इतिहास पनि पाइन्छ। मंगर र गुरुङहरूले यस राजनिर्देशनलाई मानिलिएको थियो। यद्यपि दार्जीलिङमा भने सबै जातबाट आएका मानिसहरू सँगै बस्ने र काम गर्नाले गर्दा विभिन्न मुलनिवासी समुदायमध्ये नेपाली भाषाको उपयोग सजिलो भयो। बिसौँ शताब्दीको सुरुमा नेपाली भाषा दार्जीलिङमा फैलिँदै गयो किनभने त्यसताकका दार्जीलिङ प्रतिवादीहरूका स्वर्ग झैँ पनि देखियो।

अत्याचारी राणाशाही विरुद्ध दार्जीलिङमा लेखहरू पुरै आउन थाल्यो किनभने नेपालमा त्यस्तो गर्नु सम्भव थिएन। स्वतन्त्रतासम्म भारतीय गोर्खा समुदायलाई एकीकृत गर्ने प्रमुख कारक थियो नेपाली/खस भाषा। कोही कोहीले त यसलाई पृथ्वीनारायण शाहको सांस्कृतिक अतिक्रमणको सकारात्मक पाटा हो भनेर बहस दिन सक्छ, तर यस दृष्टिकोणबाट हेर्दा त भारतीयहरूले ब्रिटिसलाई धन्यवाद चढाउनु पर्ने हो, 200 वर्षको साम्राज्यवादी उत्पीडनपछि, तिनीहरूले गणतन्त्र दिएकोमा। त्यस कारण यस्तो बहस निष्फल हो, किनभने अत्याचारी शासकलाई वीर देखाउनु युक्ति सङ्गत कुरा होइन।

गोर्खा रेजिमेन्ट

पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’बाट उद्धरण यस्तो छ— “तिनीहरूको आफ्नै कम्पनीमा खस, मगर, गुरुङ र ठकुरीहरूलाई सूचीकृत गरियोस्, अनि केवल यी चारवटा जातलाई नै। यी चारवटा जातले मात्रै मिलिट्रीमा काम गरोस्, अनि युद्धको समयमा सबै जना नै बलियो हुन्छ र शत्रु औ स्वर्ग आफै काँप्न थाल्छ।

“ इडेन भानिस्टार्टले उनको किताब “The Gurkha” (पृष्ठ 94) मा दासको काम गर्ने वर्गहरूको एउटा सुची दिएको छ, त्यसमा दमाई, कमारा, कामी, कसाई (नेवार), पिपा अनि सार्कीहरू छन्। पिपाहरू खलासी (भरिया) थिए। यस ‘दास वर्ग’हरूलाई मिलिट्रीमा सेनाको काममा जाने अनुमति थिएन। सन 1854 मा 34 वर्षीय महाराजा जङबहादुर राणाले सत्तासीन भएर मुलुकी ऐनलाई स्वीकार्यो, जसले गर्दा तामाङहरूले ब्रिटिस-भारतीय सेनाको काममा जानु र नेपालमा सरकारी काम, केवल पिपा (भरिया) को काम बाहेक अरू काम पाउनुमाथि रोक लगाइयो।

अर्कोतिर, कानुनी मान्यताप्राप्त भारतीय आर्मीको नेपाली सशस्त्र बलमा नियुक्ति हुँदाखेरि जात-जात छुट्टाउने चलन त्यस्तो थिएन। त्यसैले भन्न सकिन्छ कि स्वतन्त्रताको बादमा भारतीय सेनाको गोर्खा रेजिमेन्टले गर्दा विभिन्न गोर्खा समुदायबिच एकहदसम्म समानता आयो। विधान गोले-ले “Rethinking Gorkha Identity” (पृष्ठ11) मा लेख्नु भएको छ— “1864 सम्म, ब्रिटिस सरकारले एउटा सूचना जारी गरेर गोर्खा रेजिमेन्टलाई धर्मशाला, देहरादुन, आलमोडा, गोरखपुर, शिलङ आदि ठाउँहरूमा बस्ने जमीन किन्ने प्रावधान दियो।

सन् 1890मा गोर्खा सेना नियुक्ति केन्द्र खोल्यो दार्जीलिङमा।“ त्यतिबेलादेखि सशस्त्र बलको काम चाहिँ भारतीय गोर्खाहरूको लागि रोजगारको ठुलो स्रोत बनियो। यसरी भारतीय गोर्खा पहिचानको निर्माण/स्वतःनिर्माणको काम उन्नाइसौँ शताब्दीको मध्यभागदेखि सुरु भयो। दार्जीलिङ, डुवर्स, आसाम अनि भारतको अन्य क्षेत्रहरूबाट बढी सङ्ख्यामा गोर्खाहरू सशस्त्र सेनामा जान थाल्यो।

तिनीहरूलाई नेपाली होइन, गोर्खा नै भनियो यस सशस्त्र सेनाको पृष्ठभूमि रहेकोले गर्दा। नेपालमा भने यस गोर्खा शब्दको कुनै निर्दिष्ट जात-आधारित अर्थ छैन। त्यसर्थ, भारतीय नेपालीहरूले नै यस गोर्खा जातिको पहिचानलाई दिलोज्यानले अङ्गालेका छन्।

कानुनी राजनैतिक स्पेसमा गोर्खा एथ्निक पहिचानको दावी :

बिसौँ शताब्दीको सुरुसम्म दार्जीलिङ, डुवर्स, आसाम, कुमायुन, गढवाल तथा भारतभरि छरिएका भारतीय नेपालीहरूले कहिलेपनि आफूलाई एक बृहत् समुदायको सदस्य भनेर चिनाउने आवश्यकता महसुस गरेनन्। भारत जस्तो एउटा ठुलो देशमा ‘विदेशी’ (outsider) को ‘लाञ्छना’ नलाग्ने गरी एक सामान्य पहिचानको खाँचो परेको थिएन।

पहाडको प्रथम अभिजात राजनैतिक टोली, हिलमेन्स एसोसिएसनले 1907 मा मोर्ले मिन्टो रिफर्मलाई बेग्लै प्रशासनिक इकाई मागेर प्रथम पल्ट जुन मागपत्र चढाएको थियो, त्यसमा पनि ‘गोर्खा’ भन्ने शब्द जोडिएको थिएन। गोर्खा शब्द केवल सेना (मिलिट्री)-मा उपयोग हुन्थ्यो, गोर्खा रेजिमेन्टको सेनाहरूलाई सम्बोधन गर्न।

अखिल भारतीय गोर्खा लीग नै हो प्रथम राजनैतिक दल, जसले सन् 1943 मा गोर्खा शब्दको प्रयोग गरे। यस्तो बृहत्तर राजनैतिक पहिचानको खाँचोले त्यति बेलाको नेताहरूलाई एक सामान्य पहिचानलाई जोरसँग उठाउन प्रोत्साहित गऱ्यो र त्यसैले भारतीय नेपालीहरूबिच ‘गोर्खा’ भनेर चिनाउने क्रम बढ्न थाल्यो।

सन 1986 को जुलाई पछि मेघालयबाट बढी सङ्ख्यामा गोर्खाहरूलाई खेद्ने घटनाबात गोर्खा पहिचानको मुद्दाले अझै बृहत् रूप लियो। इन्डिया टुडे-को रिपोर्ट अनुसार, जब मेघालय सरकारले नेपालीहरूका एउटा समाधिस्थललाई सफा गरेर 2500 जना नेपाली रिफ्युजीको निम्ति पाल टाँगेर टेम्पोररी क्याम्प बनाइदिए, प्राध्यापक मणिकुमार सुब्बाले तब प्रश्न उठाए— “यो के हामीलाई जिउदै च्यानमा पुऱ्याको जस्तो भएन?”

पछिबाट, सन् 1988 मा दागोपापको अनि सन् 2012 मा जीटीएको गठनले फेरि पनि गोर्खा पहिचानलाई कानुनी र राजनैतिक स्पेसमा ल्याइदियो। गोरामुमो सुप्रिमो दिवङ्गत सुवास घिसिङले गोर्खा/गोर्खाली भन्ने शब्दहरू प्रयोगको पक्षमा धेरै बहस राख्नुभयो। सन् 1992 मा, भारतीय संविधानको आठौँ अनुसूची अधीन नेपाली भाषालाई स्वीकृति दिँदा घिसिङले यस नेपाली भाषालाई गोर्खाली भनेर चिन्हित गर्ने माग पनि उठाए (https://www.nepalilanguage.org/success-stories/nepali-an-official-language-of-india)।

फौजमा काम गर्ने घिसिङको पृष्ठभूमिले गर्दा ‘गोर्खा’ शब्दप्रति उनको पूर्वाग्रह हुनसक्छ। सन 1988 को 23 आगस्तको दिन भारत सरकारको गृह मन्त्रालयले गेजेट नोटिफिकेसन नम्बर 26011/6/88-ICI द्वारा गोर्खाहरूको भारतीय नागरिकतालाई स्वीकार्यो। यसमा भने ‘गोर्खा’ शब्द नै थियो, भारतीय नेपाली होइन।

गोर्खा शब्दको स्रोत :

गोर्खा शब्दको स्रोतबारे धेरै मतहरू छन्—

  • नेपाली भाषामा ‘खड्का’को अर्थ हो ‘घाँसे जमिन’। ‘गोर्खा’ भन्ने चिह्नित आजको भूभाग उहिलेको जमानामा घाँसे जमिन थियो भन्ने मत छ। त्यस कारण यसको नाम खड्का थियो अनि पछिबाट त्यही ‘खड्का’ बदलिएर ‘गड्खा’र अझै पछि त्यही नै ‘गोर्खा’मा परिवर्तित भयो भनिन्छ। राणा शाहीले गोर्खा राज्यलाई आक्रमण गर्न अघि त्यहाँ एक जना खड्का राजाले शासन गर्थ्यो। त्यसैले, ‘खड्का’को मतलब नेपालीमा घाँसे जमिन भए पनि त्यो त्यही खड्का राजाको जात पनि हो।
  • टिबेटो-बर्मिज शब्द ‘गोर्खा’को अर्थ हो केही ‘गाउँको समष्टि’। यो अर्थपूर्ण र सान्दर्भिक पनि हो किनभने नेपालमा बस्ने मुलनिवासी जातिहरू टिबेटो-बर्मिज भाषा समूहकै हुन्।
  • संस्कृत भाषामा ‘गो-रक्षा’ मतलब हो गौ सुरक्षा। यसरी संस्कृत शब्द गो-रक्षा पाली भाषामा परिवर्तित भएर गोर्खा भएको छ।
  • दीपिका घातराजले उनको जर्नल “Identity formation and identity crisis” (पृष्ठ 4) मा प्रख्यात नेपाली लेखक सूर्यविक्रम घेवालीले दिएको व्याख्या प्रस्तुत गरेका छन्, जसले गोर्खा शब्दको स्रोत खस भाषाको शब्द ‘गोर्खा’ जसको अर्थ ‘राजस्व क्षेत्र’ हो भनेर उल्लेख गरेका छन्।
  • नीलाम्बर छेत्रीले उनको जर्नल “Interrogating Gorkha as a martial race” (पृष्ठ 3) मा लेखेका छन्— “धेरै पण्डितहरूले गोर्खा शब्दको स्रोतबारे भिन्न भिन्नै व्याख्या दिएका छन्। तर समसामयिक कालमा धेरैले नै गोर्खा भन्ने नाम नेपालमा स्थित राज्यबाटै आएको हो भनेर मान्छन्।

सन 1559 को 23 सेप्टेम्बरको दिन राजपुत वंशीय द्रब्य शाहले (पृथ्वीनारायण शाहको पुर्खा) नेपालको गुर्खा राज्य र वरिपरिका क्षेत्रहरूको खड्का राजालाई आक्रमण गऱ्यो। उनले खस (छेत्री), मंगर, गुरुङ अनि ठकुरीहरूको सहयोग लिएर प्रथम गोर्खा साम्राज्यको स्थापना गऱ्यो। कामी, सार्की, र दमाईहरू खस समुदायको भए तापनि तिनीहरूलाई शाही सेनामा भाग लिने अनुमति थिएन।

त्यसपछि नेपाल एकीकरण हुँदा यही गोर्खा राज्यको सेना नै गोर्खा सेना भनेर लोकप्रिय भयो। नीलाम्बर छेत्रीको इतिहास खोजी अनुसार गोर्खा जातिलाई वीर जाति (martial race) उपाधि दिने स्रोत यही हो। एउटा साम्राज्यको नामबाट यसरी गोर्खा शब्द आएकोले हामी बुझ्न सक्छौँ कि इतिहासको घटनाहरूसँग सम्बन्ध खोज्दा कतिहदसम्म विकृति र पूर्वाग्रहको सम्भावना लुकिएको हुन्छ।

अत्याचारी राणा शाहीको समसामयिक अवतारहरू

यस 2019 मा, गोरखनाथ मन्दिरको मुखिया योगी आदित्यनाथ प्रति झुकाव भएको कुनै हिन्दुत्ववादी तत्त्वसँग भेट हुनु कुनै नया कुरा होइन। दार्जीलिङमा बस्ने उनको केही अनुयायीहरूले गोर्खा शब्दको स्रोतबारे गौ-रक्षाको अवधारणालाई गर्वसाथ अघि सारेर साम्प्रदायिक सद्भाव पुनः स्थापना गर्न खोज्छन् होला अथवा उनको नाम दोहोर्याएर अनुग्रह पाउन खोज्छन्। यिनीहरू अरू कोही होइनन्, दक्षिणपन्थी प्रवृत्ति भएका विद्वानहरू, जसले बीजेपी र त्यसको समर्थकहरूलाई सहयोग गर्ने गर्छन्।

यो यस्तो समय हो जब राज्य संरचना भान्साघरमा आइपुग्छन् र खुफिया संस्थानहरूले गाई, गोरु, भैँसीको मासु छुट्ट्याउन सक्दैनन् र सबलाई नै बीफ भनेर चिन्हित गर्छन्। गौ रक्षक एउटा प्रतिक्रियावादी मिथकीय संज्ञा हो जसको आशयले गोर्खाहरूको बृहत्तर संज्ञालाई विषालु बनाउन सक्छन्।

तिनीहरूको अवधारणाको प्रचारको अर्थ हो समुदाय भित्रको सद्भावलाई चोट पुऱ्याउनु अनि तिनीहरूको सङ्कीर्ण संज्ञामा नआँट्नेहरूलाई किनाराकृत गर्नु। खसबहुल राणा शाहीले जसरी भोटे-तामाङलाई ‘गोरु-खाने’हरू भनेर एक भेदभावपूर्ण समाज बनाएको थियो, यो प्रयास पनि त्यस्तै हो। नेपालको त्यस्ता हिन्दु सामाजिक व्यवहारले भिन्न सामाजिक व्यवहार गर्नेहरूलाई, बौद्ध धर्म मान्नेहरूलाई त्यसवखत सङ्कटमा पाऱ्यो, भयभीत गरायो, लाञ्छना लगाइयो, सजाय स्वरूप मृत्युदण्ड पनि दिएको थियो।

सोसल मिडियाका अधिकांश बयानहरूबाट हामीले दार्जीलिङमा पनि उत्तरप्रदेशको मुख्यमन्त्री झैँ भेदभाव बढाउने वर्चस्ववादी तत्त्वहरू बढिरहेका छन् भन्ने कुरा थाह पाइन्छ। यस्ता बयानहरू सबैलाई समेट्ने गोर्खा समुदायको लागि खतरा हो।

गौरक्षकको अवधारणा यथार्थ प्रमाणको अभावले गर्दा पहिला नै खारेज भइसकेको छ। यस अवधारणाको उहिलेको प्रवक्ता भनेर चिनिने नेपालको राजकीय परिवार नै एक मिथकीय जालमा बसेको थियो। DNA मा प्रकाशित निबन्ध “Royal curse comes true in Nepal” मा व्याख्या गरिएको छ कि कसरी धर्मगुरुको मिथकहरूले नै शाह साम्राज्यको स्थापना र पतन— दुवैको नै कारक हो भनेर पाइन्छ।

आजको आधुनिक समाजमा कोही पनि आफूमाथि सम्राटद्वारा थोपिएको रूढ़िवादी चिन्तन प्रक्रियालाई पालन गर्ने वाध्यतामा रहेको छैन। अझै के कुरा छ भने, नेपाली हिन्दुहरूले गाईलाई भगवान् लक्ष्मीको रूपमा पुज्छन् भने त्यो चाहिँ गोर्खा एथ्निक पहिचानलाई केवल एक धार्मिक पहिचानमा मात्र सीमित गरी दिन्छ। यस अवधारणाले बहु-आयामिक र सामूहिक गोर्खा संस्कृति (जसमध्ये विभिन्न मानिसले विभिन्न खाले धर्म अभ्यास गर्छन्) माथि एक धार्मिक पर्दा ओढाइ दिन्छ। जे सुकै होस्, गौरक्षकको पहिचान एक धार्मिक पहिचान हो भने गोर्खा एउटा एथ्निक पहिचान हो। गोर्खाहरू गौ रक्षक होइनन्, र यसले कहिल्यै पनि गोर्खाको संज्ञा दिन सक्दैन।

अन्तमा

कुनै पनि एथ्निक पहिचान एकोहोरो हुन सक्दैन। यो न त कुनै निश्चल क्याटेगोरी हो, बरु यो आफ्ना र एथ्निक पृष्ठभूमिको एक गतिशील र बग्दै गरेको बुझाई हो। परिवर्तनशील सिमाना, वंशगतको धारणामा बदलाव, समुदायहरू भित्रको विश्वासमा परिवर्तन अनि बदलिँदै गरेको पावर स्ट्रक्चरसँग यस पहिचान पनि विकसित हुँदै जान्छ।

सामाजिक रीतिरिवाजलाई अझ प्रभाव पारिबस्ने ब्राह्मणवादी बयानलाई ध्वस्त पार्नु एक जरुरी काम हो। त्यस कारण हामीले सोच्नु पर्छ कि आउने पिँडीहरूले गोर्खा समाजलाई कुन हिसाबले बुज्ने र सम्झिने हो भनि। विकासशील परिप्रेक्षसँग परिवर्तनशील सांस्कृतिक चिन्तन बोकेको दार्जीलिङ सांस्कृतिक पुनर्जागरणको ठाउँ हो।

पहाडकी रानी दार्जीलिङले नै नेपाली भाषा आन्दोलनलाई नेतृत्व दिँदै 1 सेप्टेम्बर 1992 मा सफलताको शिखरमा पुऱ्याएको थियो। यही दार्जीलिङमा नै भारतीय गोर्खा भन्ने पहिचानले भारतीय नेपालीहरूबिच बलियो तरङ्ग झैँ देखापऱ्यो बारम्बार— 1980 को दशकमा, 2007 मा अनि फेरि सन् 2017 मा, प्रत्येकपल्ट गोर्खाल्याण्ड आन्दोलनको निरन्तरतामा।

त्यसैले दार्जीलिङ जहिले पनि भारतीय गोर्खा पहिचान गठनको केन्द्रमा रहेको छ। त्यस कारण यस्तो डिस्कोर्स नै चाहिन्छ जसले समस्त भारतीय गोर्खाहरूलाई बलियो बनाउन सक्छ, तिनीहरूबिच फुट ल्याउनको सट्टामा। सबैलाई समेट्ने एउटा यस्तो डिस्कोर्स— जसभित्र खाद्य व्यवहार, पोसाक र धर्मको कुरा हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares