अहिलेसम्म लक्ष्य हासिल गर्नु नसक्नुको कारण विभिषणहरू हुन्, उनीहरूलाई साथ दिनेहरू गोर्खाल्याण्डका बाधकहरू हुन्- विमल

‘आज बलिदान दिवसको दिन हामीले जात-जात र पार्टी-पार्टीमा नछुट्टिएर सिङ्गो गोर्खा भएर लडाई लड्ने सङ्कल्प लिनु  जरुरी छ। हामीले अहिलेसम्म लक्ष्य हासिल गर्नु नसकेको कारण हामीभित्र विभिषणहरू जन्मिरहेकोले गर्दा हो। ती विभिषणहरूलाई साथ दिनेहरू सबै नै गोर्खाल्याण्डको मार्गमा बाधा दिने विभिषणहरू नै हुन्। आउनुहोस,  आज बलिदान दिवसको दिन हामी सङ्कल्प गरौँ,  शहीदको सपनालाई हामीले जसरी भएपनि पुरा गर्नेछौं।’


सिलगढी, 8 फरवरी


‘गोर्खाल्याण्डको निम्ति तीन सङ्ग्रामी युवाहरू विक्की लामा, विमला राई अनि निता खवासले सिब्सुमा प्राणको आहुति दिएको पनि आज ८ वर्ष पुगेर ९ वर्ष लाग्यो। आजपनि  हाम्रो माग जहाँको त्यहीं नै छ,’ शहिदलाई सम्झँदै आज विमल गुरुङले विज्ञप्ति जारी गरेका छन्, ‘हामीले हाम्रो तर्फबाट प्रयासमा कमी ल्याएका छैनौं। हामीले कहिल्यै राज्यको दबावलाई टेरेनौं। आज पनि हामी घरबार त्यागेर शहीदको सपनालाई मन-प्राणमा राखेर एउटा घोषित लड़ाईं लड़िरहेकै छौं। गोर्खाल्याण्डसँगको सम्झौता टेबलमा बस्न हामीले कहिल्यै चाहेनौं। यसैले नै भाषामाथि अतिक्रमण  हुँदा हामीले सम्झौता गरेनौं। हामीले सम्झौता गरेको भए आज हामी सत्तामा नै हुने थियौं, तर हामीले शहीदको सपनालाई सम्मान गर्यौं अनि आफ्नो जातिको स्वाभिमानलाई झुक्न दिएनौं।’

गुरुङअनुसार ८ फरवरी २०११ मा सिब्सुमा युवाहरूले प्राणको आहुति दिएको दिनलाई गोजमुमोले बलिदान दिवसको रुपमा पालन गर्दै आइरहेको छ। ‘बङ्गाल पुलिसको बन्दुकबाट निस्किएको क्रुर गोलीले हाम्रा युवाहरू शहिद बनेको घटनालाई हामीले बिर्सन सक्दैनौं,  गोर्खा जातिले त्यो घटना बिर्सिनु पनि हुँदैन,’ उनले भनेका छन्, ‘डुवर्समा शहीद बन्ने विक्की लामा,  विमला राई अनि निता खवासले सिब्सुमा दिएको बलिदानलाई,  अकबर लामा अनि सोलो कान्छा दोर्जी लगायत अहिलेसम्मका गोर्खाल्याण्डका तमाम शहीदहरूले दिएको उत्सर्गलाई छातीभरि भरेर माटोप्रतिको कर्तव्यलाई पालन गऱ्यौं भने हामीलाई गोर्खाल्याण्ड हासिल गर्नुबाट कसैले रोक्नु सक्दैन।’

गुरुङले अझ भनेका छन्, ‘आज सिब्सुको शहीद वेदीमा श्रद्धान्जली कार्यक्रम राखेर शहीदको परिवारलाई अहिले सत्तासँग सम्झौता गर्नेहरूले बोलाएको रहेछन्। शहीदको रगतमाथि राजनीति गरेर आफ्नो दुनो सोझ्याउनेहरू ती बोलाउनेहरू नै हुन्। वास्तवमा बङ्गालसँग बिकेर राजनीति गर्नेहरूको जातिघाति पापी हातहरूले शहीदको वेदीमा छुनेसम्म अधिकार छैन।’

गुरुङले शहीदको रगत र सपना कसैको भात खाने भाँडो नरहेको भन्दै  शहीदको नाम कसैलाई सत्ताको कुर्सीमा पुऱ्याउने राजनीतिको सिँडी पनि नरहेको बताएका छन्। ‘तर बङ्गालको दलाली गर्ने सत्ताको भोगीहरूले शहीदलाई राजनैतिक प्रयोग गर्दैछ। मलाई विश्वास छ, शहीदको रगतले उनीहरूलाई एकदिन अवश्य पिर्नेछ,’ गुरुङले भनेका छन्, ‘आज बलिदान दिवसको दिन हामीले जात-जात र पार्टी-पार्टीमा नछुट्टिएर सिङ्गो गोर्खा भएर लडाई लड्ने सङ्कल्प लिनु  जरुरी छ। हामीले अहिलेसम्म लक्ष्य हासिल गर्नु नसकेको कारण हामीभित्र विभिषणहरू जन्मिरहेकोले गर्दा हो। ती विभिषणहरूलाई साथ दिनेहरू सबै नै गोर्खाल्याण्डको मार्गमा बाधा दिने विभिषणहरू नै हुन्। आउनुहोस,  आज बलिदान दिवसको दिन हामी सङ्कल्प गरौँ,  शहीदको सपनालाई हामीले जसरी भएपनि पुरा गर्नेछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया