सत्तारूढ एसडीएफको चुनाउ प्रचार तेज विधायक नभएको क्षेत्रमा पनि पठायो प्रभारी

गान्तोक, 9 फरवरीः आगामी चुनाउलाई लिएर सत्तारूढ़ एसडीएफ पार्टीले विभिन्न रणनीतिअन्तर्गत आफ्ना कार्यक्रमहरूलाई अघि बढ़ाउन शुरु गरेको छ। यसै क्रममा शनिवार एसडीएफ पार्टी मुख्यालयले दुई वरिष्ठ मन्त्रीलाई एसडीएफ विधायक नरहेका दुईवटा क्षेत्रमा प्रभारीको रूपमा नियुक्त गरेर चुनाउ प्रचारको भार सुम्पेको छ। दक्षिण सिक्किमको राङ्गाङ-याङ्गाङ क्षेत्रमा वरिष्ठ मन्त्री जीएम गुरुङलाई चुनाउ प्रचारको कमान सुम्पेको छ भने पूर्व सिक्किमको स्यारी क्षेत्रमा वरिष्ठ मन्त्री डीटी लेप्चालाई चुनाउ प्रचारको जिम्मेवारी सुम्पिएको छ।

नयाँ जिम्मेवारी पाएपछि हिमाली बेलासँग टेलिफोनिक कुराकानी गर्दै मन्त्री लेप्चाले भने, “पार्टीबाट मलाई नयाँ निर्देश आएको छ। यो निर्देशलाई म पालन गरेर 2014 मा गुमेको सीट फर्काइल्याउनेछु। भोलिदेखि नै मेरो कार्यक्रम शुरु हुनेछ। स्यारीमा 2019 को चुनाउ हामी जित्नेछौं। चुनाउ जित्ने माहौल बनाएर पार्टीलाई अघिको अभिभारा सुम्पिनेछु।”

यसरी नै पार्टीले आज विभिन्न व्यक्तिलाई चुनाउ प्रचार समितिका अध्यक्ष तथा उपाध्यक्ष पदमा पनि नियुक्त गरेको छ। पूर्व विधायक पुरण गुरुङलाई तुमिन-लिङ्गी, पार्टीका वरिष्ठ नेता वसन्त लामिछानेलाई खाम्दोङ-सिङ्ताम, निमा थिङलाई रिनाक, दावा छिरिङ भोटियालाई छुजाचेन, विमल दवाड़ीलाई नाथाङ-माछोङ, भारती शर्मालाई मार्ताम-रूम्तेक, इन्द्र प्रधानलाई अप्पर तादोङ, दोर्जी नामग्याल भोटियालाई आरिथाङ, फुर्मित लेप्चालाई अप्पर बुर्तुक, बुद्धहाङ सुब्बालाई योकसम-टाशीडिङ, सोनाम वाङ्चुक भोटियालाई याङ्थाङ, दीपक गुरुङलाई मानेबुङ-देन्ताम, कृष्ण भण्डारीलाई गेजिङ-बर्मेक, पुण्यप्रसाद शर्मालाई रिञ्चेनपोङ, वाईके मेगीलाई दरामदिन, खेमप्रसाद दाहाललाई सोरेङ-च्याखुङ, भुवन तिवारीलाई जूम-सालघारी, छेवाङ नामग्याल भोटियालाई कबि-लुङ्चोक, पिन्सो नामग्याल लेप्चालाई जङ्गु, खामसुम लेप्चालाई लाचेन-मङ्गन, केएन राईलाई बर्फुङ, पासाङ रिञ्जिङ शेर्पालाई पोकलोक-कामराङ, चन्द्र खालिङलाई मल्ली, क्याप्टेन नकुलदास राईलाई नामथाङ-रातेपानी, शिवकुमार शर्मालाई तिमी-नामफिङ र प्रतिमान चामलिङलाई राङ्गाङ-याङ्गाङको दायित्व सुम्पिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया