भाषा थोपर्नु अन्याय हो

चिन्ता


भवानी अधिकारी, मणिपुर


नेपाली भाषा भारतीय मान्यता प्राप्त भाषा हो। यसको विकासको इतिहास आफ्नै छ। नेपाली मातृभाषा पठन पाठनको अधिकार हाम्रो मौलिक अधिकार हो। हाम्रो भाषा विकासमा केन्द्र र राज्य सरकारहरूको राम्रो भूमिका रहनु पर्दछ। अन्य भारतीय भाषाका उन्नतिका योजनामा हाम्रो केही आपत्ति छैन। तर यदि त्यसभित्र हाम्रो भाषा माथि कुदृष्टि लुकेको छ भने हामी विरोधमा ओर्लिनै पर्छ। तीन भाषाका फार्मुलामा पहिलो मातृभाषा नै आउँछ। यस बाहेक अन्य भाषा बाल बालिकाले स्वेच्छाले पढ्छन् त ठीकै छ। तर कुनै पनि मातृभाषाको अधिकारको हनन गरी अन्य भाषा थोपरिन्छ भने यो मान्य कुरो हुँदैन। यसमा पार्टी पन्थ क्षेत्रको कुरा छैन। हामीले भाषा संविधानमा गाभ्न सक्यौं भने अब यसको रक्षा गर्न पनि जानेका छौं। भाषा माथि घृणित राजनीति न गरियोस्।

हामी विद्यार्थी छँदा कराउँथ्यौं “भाषा हाम्रो प्राण हो, ज्यान दिन्छौं प्राण दिन्छौं, भाषा हाम्रो लिन्छौं लिन्छौं। ”

भाषा आन्दोलनको समय। 1980 को दशक। देशभरि नेपाली भाषा आन्दोलनको लहर चलेको थियो। हाम्रो भाषाको केन्द्र दार्जीलिङ थियो छ र रहन्छ। दार्जीलिङमा यसो भयो अरे , उसो भयो अरे भन्ने सुन्दा हामी खुब उत्प्रेरित हुन्थ्यौं। भाषा सङ्ग्रामी आशारानी राईद्वारा मणिपुरमा हामी भाषा आन्दोलनका धेरै कुरा सुनेर मान्यता पछिका सुविधाहरूका खुसीमा खुसी हुन्थ्यौं।

भाषा मान्यताका अघि गोर्खा भाषाको तगारो लाग्न खोज्यो। सबै अड्चन पार गरी भाषा मान्य भो। भारतको राष्ट्रिय भाषा मध्ये नेपाली पनि सामिल भो। मणिपुरको हुनाले हामीले राज्य भाषा र मातृभाषा एकै दिनको मान्यता पाउँदा सबै भन्दा धेर खुसी मनायौं।

हाम्रो भाषाको चौतर्फी विकास शुरु भयो। यत्र तत्र नेपाली भाषा फैलियो। दार्जीलिङ पहाड र सिक्किमको सरकारी भाषा यो थियो र छ। हामी उत्तर पूर्वमा यस भाषाका विकासमा लागिपऱ्यौँ। आज हाम्रा यहाँ भाषाको सन्तोषजनक विकास हुँदै छ। संविधानमा मान्य भाषाको विकासमा राज्य र केन्द्र सरकारले सहयोग पुऱ्याउनु पर्ने छ।

त्यो भाषी बहुल क्षेत्रमा शिक्षाको माध्यम मातृभाषा हुनु पर्दछ। हरेक कोणबाट भाषा संरक्षित हुनु पर्दछ। बङ्गालमा सरकारले तयार पारेको बङ्गाली भाषाको विकास योजनालाई हामी स्वागत गर्छौं तर कुनै राज्यको बहुसंख्यक वर्गले एउटा भाषाको मात्र हितको योजना तयार गर्छ भने त्यो अन्य भाषा सँग अन्याय हो।

मातृभाषाका फार्मूलामा नेपाली बहुल क्षेत्रका विद्यार्थीले मातृभाषा नेपालीनै पढ्छ। जुन क्षेत्रको सरकारी भाषानै बङ्गाली छैन त्यहाँ बङ्गाली भाषा माथिबाट थोपर्न मिल्दैन। आफ्नो भाषा विकासमा अर्का भाषाको अधिकार हनन हुन संविधानले दिँदैन। हामी कुनै भाषाको विरोधी होइनौं। सबै भाषाको विकासमा हामी वाधा दिँदैनौं। यदि अरु भाषाले आफ्नो भाषाको विकासको आडमा हाम्रा भाषाप्रति कुदृष्टि राखि थिचोमिचो गर्छ भने हामी यसको प्रतिकार गर्न पछि हट्ने छैनौ। जसरी मान्यता दिलाउन सक्यौं त्यसरी रक्षा गर्न हामी सक्षम छौं। पार्टी पन्थ क्षेत्रको भेद नराखी भारतभरिका गोर्खा भाषा रक्षामा एक हुन सक्छौं। सबै भाषाको विकास होस्। तर त्यस विकासका मुखौटामा हाम्रा भाषा प्रति भेदभाव रहे मुखौटो फुकाल्ने शक्ति हामी संग छ। यो सोच चिन्तन र एकता बनाई अघि सर्ने बेला हो। हामी सचेत रहौं।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन