गणतन्त्रको लागि दलहरू गोलबद्ध : ‘हामी एकार्कामा बाझ्दा सरकारलाई नाफा हुन्छ’

‘८६ को त्यो मूर्ख जीएनएलएफ र त्यो मूर्ख सीपीएमलाई बिर्साउने हुनुपर्छ। त्यो विदिर्ण इतिहासलाई बिर्साउने राजनीति हुनुपर्छ हाम्रो। अब सभ्य राजनीतिको सुरुवात गरौँ। सुसंस्कृत राजनीतिको कुरा गरौँ।  हो, शासक गोष्ठीले हामीलाई यसो गराउँछ। शासक गोष्ठीले हामीलाई ‘भाग गरेर र राज गर्ने’ कोशिश गर्छ । हामी गरीबहरू, थिचिएकहरू एकार्कामा त्यसै नमिलेको होइन, शासकहरूद्वार हामीलाई नमिल्याइएको हो। हामी एकार्कामा बाझ्दा उनीहरूलाई नाफा हुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ।’


दार्जीलिङ, 12 फरवरी


चुनाउ छेक क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीलाई गणतन्त्रको याद आएको छ। क्रामाकपालाई लाग्छ, पहाडमा गणतन्त्र छैन। नभएको गणतन्त्र पहाडमा ‘रिस्टोर’ गरिनुपर्छ।

105 दिनको बन्दबीच नेतृत्व काँधमा लिएको गोजमुमोले चलिरहेको आन्दोलनमा ‘कु’ गऱ्यो। यद्धपि जनताले स्वतस्फुर्तरूपमा काँधमा लिएको आन्दोलनलाई ऱणनीति प्रदान गर्न कुनै दल अघि सरेन। गोजमुमो दुइ भङ्गालो बन्यो। एउटा भङ्गालो जङ्गल पस्यो, अर्को राज्य सरकारतिर। जब विनय तामाङहरू राज्य सरकारतिर फर्किए, पहाडमा गणतन्त्र हरायो।

अहिले पहाडमा विनय तामाङको गोजमुमो बाहेक कुनै दलले न जनसभा गर्न पाउँछ न कुनै कार्यक्रम। चुनाउ छेक पारेर विमल गुरुङका समर्थकहरूलाई पक्राउ गर्ने काम पहाडको प्रशासन र राज्य प्रशासनले शुरु गरिसकेको छ।

यस्तोमा गोदनिसमा क्रामाकपाले सबै दललाई गोलबद्ध गरेर ‘हराएको गणतन्त्र’-लाई केन्द्रमा राखेर विमर्श गऱ्यो। 15 वटा पार्टीका प्रतिनिधिहरू विमर्श गर्न आएका थिए। त्यसमा माकपा (मार्क्सवादी कम्युनिष्ट पार्टी), कङ्ग्रेस, गोरामुमो, गोजमुमो-1, गोर्खालीग, जनआन्दोलन पार्टी, सीपीआई (एमएल) लिबरेशन, सीपीआई (एमएल) न्यू डेमोक्रेसी प्रमुख थियो। यीमध्ये थिएन भने केवल ममता व्यानर्जीको तृणमूल काङ्ग्रेस र विनय तामाङको गोजमुमो थिएन।

आरबी राईले राज्य सत्ताले बोल्न निषेध गरेको र सबै अधिकारका क्षेत्र मिचेको भन्दै गणतन्त्रप्रेमी पार्टीहरूलाई गोलबद्ध गरेको बताए।

‘उहिले हामी खूब मुनामदन पढ्थ्यौं। मुनाले नजाऊ भन्दाभन्दै पनि गरीबीको कारण मदनले घर छोडेर हिँड्नु परेको कथा छ। अहिले हाम्रो ठाउँ त्यसतै भएको छ, राईले भूमिका बाँधे, ‘आज हाम्रा युवक-युवतीहरू गाउँमा छैनन्। काम नभएको कारण हाम्रा छोरीचेलीहरूसमेत दार्जीलिङ छोडेर विभिन्न प्रदेशहरूमा जान बाध्य छन्। गाउँ खाली छ। यस्तो छ अवस्था। पीडा यस्तो छ। तर कहाँ भन्ने ? भनूँ भन्दा बोल्नै दिँदैन। जनसभा गर्नै दिँदैन। यसकारण जनतन्त्र चाँही पण्डितलाई होइन गरीब मान्छेलाई चाहिन्छ, अनपढलाई चाहिन्छ। थिचिएको –मिचिएको बञ्चित गणतन्त्र चाहिन्छ। आजको हाम्रो लड़ाई भनेको त्यो लड़ाई हो।’

राईअनुसार चीनजस्तो लद्दु देश आज विकसित बन्यो। क्रान्ति हुँदैन कि हुँदैन भानिएको समयमा नेपालमा क्रान्ति भएर पनि पटक्कै नमिल्ने कम्युनिष्ट पार्टीहरू एक भए सरकार चलाइरहेको छ। तर पहाडमा भने यस्तो छैन। ‘अरूले सक्छ भने हामी किन सक्दैनौँ। हामीमा पनि चेतना छ। हामीले पनि एक भएर अघि जाने नयाँ बाटो रोज्नु सक्नुपर्छ,’ राईले भने, ‘हामीले पनि नयाँ ढङ्गले सोच्नु सक्नुपर्छ। हो चुनौती छ हामीसँग। तर हामी सम्हाल्न सक्छौँ भन्ने आशावादिता लिएर हामी अघि बढ्नुपर्छ।’

प्रत्येक राजनैतिक पार्टीहरूको आ-आफ्नै सिद्दान्त र मुद्दाहरू रहेको तर आफूहरूले समय –समयमा यसरी बोल्ने, बात मार्ने राजनैतिक संस्कृतिको विकास गर्नुपर्ने कुरामा पनि उनले जोड दिए।

‘मैले गोरामुमोका मन घिसिङलाई पनि एक भेटमा भनेको थिएँ। उनकै बाउसँग नै हामी साथी-साथी। त्यसैले मन घिसिङलाई नानी भनेँ। नानी, अब हाम्रो राजनीति यस्तो होस् कि विगतलाई बिर्साओस्,’ राईले सम्झिए, ‘८६ को त्यो मूर्ख जीएनएलएफ र त्यो मूर्ख सीपीएमलाई बिर्साउने हुनुपर्छ। त्यो विदिर्ण इतिहासलाई बिर्साउने राजनीति हुनुपर्छ हाम्रो। अब सभ्य राजनीतिको सुरुवात गरौँ। सुसंस्कृत राजनीतिको कुरा गरौँ।  हो, शासक गोष्ठीले हामीलाई यसो गराउँछ। शासक गोष्ठीले हामीलाई ‘भाग गरेर र राज गर्ने’ कोशिश गर्छ । हामी गरीबहरू, थिचिएकहरू एकार्कामा त्यसै नमिलेको होइन, शासकहरूद्वार हामीलाई नमिल्याइएको हो। हामी एकार्कामा बाझ्दा उनीहरूलाई नाफा हुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ।’

उनलाई लाग्छ,  जनताको भन्दा नेताको दायित्व बेसी हुन्छ। तर नेतृत्वको चुनावमा जनताको पनि ठूलो दायित्व छ। आफै नेता हुन्छु भन्दा हुँदैन। आफै एमपी हुन्छु भन्दा हुँदैन। नेता जनताले बनाउँछ। वीरको निम्ति ज्यान दिन्छु भन्ने कुरा मात्रै ठूलो कुरा होइन। ज्यान बँचाएर सफलता ल्याउँछु भन्ने पनि ठूलो कुरा हो।

‘हामीले हरेस खानु हुँदैन साथी हो। हिँड्दै जाँदा ठेस लाग्यो होला,’ उनले भने, ‘तर प्रत्येक ठेसले हामीलाई नयाँ चेतना र नयाँ शिक्षा दिएको छ।’

राईअनुसार पहाडमा मानिस लगभग ‘डिप्रेस्ड’ छन्। सबैतिर निराशा र हतासा छाएको छ। त्यसलाई तोड्न कोही अघि आएका छैनन्। आज सबै पार्टीलाई त्यसैमाथि चिन्ता गर्न बोलाइएको हो।

‘अब सबैले आँट गर्नुपर्छ। डर देखाएर सबैलाई हराउन सकिन्छ भन्ने मानसिकतालाई जित्नु हो भने सबै एकजुट भएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘यदि डरले जित्ने हो भने अहिले पनि भारतमा अङ्ग्रेजको शासन चलिरहेको हुनेथियो।’

उनीअनुसार गान्धीजीले देशका यस्तै ‘डिप्रेस्ड’ जनतालाई आत्मविश्वास प्रदान गरे। गान्धीजीले लड्ने आँट गरे यसै कारण 200 वर्षभन्दा अधिक समयसम्म राज गर्ने अङ्ग्रेज शासकहरूले भारत छोडेर भाग्नु पऱ्यो।

‘मान्छे जाग्यो भने कसैले थाम्न सक्तैन, यो सत्य हो,’ उनले भने।

उनको कुरालाई सबै पार्टीको समर्थन रह्यो। माकपा दार्जीलिङ जिल्ला कमिटी सचिव जिवेश सरकारले त गणतन्त्र पुर्वहालीको लागि माकपा दार्जीलिङ पहाडका सबै राजनैतिक पार्टीहरूको साथमा रहने प्रतिवद्धता नै जाहेर गरे।

‘गोर्खा समुदायलाई भाषिक अल्पसंख्यकको मर्यादा प्रदान गर्नका साथै दार्जीलिङ पहाडको लागि शीर्षस्थ स्वायत्त शासन दिइनुपर्छ,’ उनले यो पनि थपे।

यता गोर्खा जनमुक्ति मोर्चा (विमल पन्थी) नेता आरपी वाइबाले पनि राईको कुरालाई समर्थन गरे। जनआन्दोल पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले क्रामाकपाले सङ्गोष्ठी गर्नु नै गणतन्त्र बहालीको पहिलो अभ्यास रहेको बताए।

हामीले टाउको र टोपी बेचेका छैनौं

‘सबैले यस्तै आँट र साहस गरे, कसैको बाबुको दाल गल्दैन,’ उनले भने, ‘हामीले टाउको र टोपी बेचेका छैनौं, हामीमा अझै पनि जोश र केही गर्ने आँट छ।’

डा. छेत्रीलाई लाग्छ, पहाडका जनता मरेसरह बनिसकेका छन्। मानिस मरेपछि न बोल्न सक्छन्, न सोच्न नै सक्छन्। पहाडको अवस्था अहिले यस्तै छ। ‘यसैले जिउँदो हुँदा नै हामी बोल्नपर्छ,’ उनले थपे।

पुरै जोशमा देखिएका डा. छेत्रीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरे। उनको पार्टीले 20 र 21 फरवरीको दिन गणतन्त्र पुनर्वहालीको मागमा कालेबुङका जिल्लापाललाई एक ज्ञापन पेश गर्नेछ।

‘तपाईँहरू पनि आउनुहोस्,’  उनले आह्वान नै गरे।

सीपीआई (एमएल) लिबरेशनका नेता अभिजित मजुमदारले त्यसैलाई टिपेर थपे, ‘दार्जीलिङका जिल्लापाललाई गणतन्त्र पुनर्वहालको मुद्दामा सामूहिक ज्ञापन दिइनुपर्छ।’

तर पार्टीको सेड्युलप्रति नै डा. छेत्रीलाई प्रतिबद्ध देखिए।

उनलाई लाग्छ, सर्वदलीय एकता आजको आवश्यकता हो। दार्जीलिङ पहाड एक छ, सोलिड छ भन्ने प्रमाण दिल्ली र कलकत्तालाई दिनुपर्ने स्थिति छ। क्रामाकपाले यही दिशामा काम गरेर अभियान शुरु गरेको छ। यसैलाई पछ्याएर अब सबै पार्टी प्रतिबद्धरूपले अघि बढ्नुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया