10 वर्षीय सोनु उराँवको मृत्यु अझ रहस्यमय बन्दै: पिताले बयान बद्लिँदै भने,  ‘हामीलाई डर देखाएर पुलिसलाई गलत बयान दिन लगाइएको थियो’

कालेबुङ, 12 फरवरी:  10 वर्षीय सोनु उराँवको मृत्युको घटना अझ रहस्यमय बन्दै गएको छ। सोनु उराँवका परिवारले आज पुलिसअघि बयान बल्दिएपछि घटनाले नयाँ मोड लिएको हो। घटना अनुसार जलपगाइगुढी जिल्ला अन्तर्गत चालसा निवासी सोनु उराँवलाई स्कूल पढाइदिने भन्दै स्थानिय डीएन प्रधानले लगभग 10 महिनाअघि कालेबुङको चन्द्रलोकमा अवस्थित आफ्नो घरमा ल्याएका थिए।

तर गत 28 जनवरीका दिन अचानक सोनु उराँवको मृत्यु भयो। निमुनियाले ग्रस्त भएपछि कालेबुङ अस्पतालमा उनको मृत्यु भएको परिवारपक्षको दावी छ। तर अस्तपालमा मृत्यु भएपनि शवलाई घर ल्याइन। चालसाबाट उनका परिवार बोलाएर भोलिपल्ट लगत्तै टिस्टा नदीमा दाहसंस्कार गरेपछि यो मृत्युलाई लिएर शङ्का बढ्न थालेको हो।

यसैले गटनालाई लिएर सामाजिक संस्था बाल सुरक्षा अभियान अनि चन्द्रलोक जनजागृति परिवारले  कालेबुङ थानामा ज्ञापन-पत्र दिएपछि उराँवको मृत्यु शङ्काको घेरोमा गएको थियो। यद्यपि त्यसेबला उनका परिवारपक्षले यो मृत्यु समान्य हुनसक्ने भन्दै कुनै आपत्ति नगरेपछि सोनु उराँवको मृत्यु मामिला सेलाउँदै गएको थियो।

तर आज अचानक सोनु उराँवका बाबा गुल्सन उराँव अनि आमा ग्लोरी उराँव आएर आफ्नो बयान बल्दिएका छन्।

‘हामीलाई डराएर, धम्काएर पुलिसअघि गलत बयान दिन लगाइएको थियो’-पिता गुल्सन उराँवले भने, ‘यदि पुलिसलाई साँचो कुरा भन्यो भने दुवैजना फँस्छ भनेर डर देखाएपछि हामीले केही बोल्न सकेका थिएनौँ।’

उनलाई लाग्छ, यो मृत्युलाई लिएर ठूलो रहस्य लुकेको छ। किनभने उनीहरूलाई पहिलेदेखि नै आफ्ना नानीसित फोनमा ठिकसित कुरा गर्नसमेत दिइँदैन थियो। 28 तारिख बेलुकी नानीको अचानक मृत्यु भएको खबर दिएपछि नानीको शवलाई समेत घरमा नलगेर  गाडीमै राखियो अनि भोलिपल्ट लगत्तै टिस्टामा लगेर जलाइयो। नानीको अनुहार अनि शरीरमा नङका निसानहरू थिए अनि शरीरभरि हर्दी दलिएको थियो। त्यसबेला उनीहरूलाई डर देखाएकोले केही सकेनन्। तर नानीको न्यायको लागी आज पुलिसलाई साँचो कुरा बताउन आफूहरू आएको उनले बताए।

अर्कोतिर, डीएन प्रधान अनुसार सोनु उराँवको मृत्यु भएको समय उनी घरमा थिएनन्। सोनु उराँवलाई निमुनियाले ग्रस्त पारेपछि प्रधानका छोरीले उनलाई अस्पताल लगेका थिए जहाँ उनको मृत्यु भयो। उनीहरूसित अस्पतालले दिएको मत्यु प्रमाण-पत्र समेत रहेको उनले दावी गरे।

‘नानीको मृत्यु भएपछि उनका परिवारलाई बोलाएर राम्रैसँगले टिस्टामा दाहसंस्कार भएको हो”-प्रधानले भने, ‘आज आएर उनीहरूलाई कसैले उस्काएको कारण उल्टा बयान दिएको हुनसक्छ।’

पुलिसले घटनाको छानबिन गरिहेको बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया