सरकारी जमीन किनबेचको कुरा कोर्टमा प्रमाणित गर्न तयार छौँ-सुन्दास

कालेबुङ, 12 फरवरीकालेबुङमा सरकारी जमीन किनबेच भइरहेको आरोप लगाउँदै माकपा नेता तारा सुन्दासले भूमि सुधार अधिकारी र नगरपालिकामा पत्रचार गरेपनि जवाब नआएको बताएका छन्। उनले सरकारले भेष्ट गरेको जमीन किनबेच भइरहेको सन्दर्भमा जानकारी लिन चाहेको भएपनि विभागले जानकारी नदिएको आरोप लगाएका छन्। यसबारे आज एउटा पत्रकार सम्मेलन डाकेर उनले विरोध जनाउँदै सरकारी जमीनहरू अवैद्य रूपमा किनबेच भइरहेको सन्दर्भमा लेनदेनको चेक समेत सार्वजनिक गर्दै आवश्यक परे कोर्टमा प्रमाणित गरेर देखाइदिने दावी गरेका छन्। उनले सरकारले भेष्ट गरेको जमीन किनबेच गर्ने काम अविलम्ब बन्द गरेर गरीबलाई दिनपर्ने माग गरेका छन्।

‘सरकारी जमीन किनबेच गऱ्यो भनेर विभाग आफैले पहल गरेर सिलगढीमा सातजना तृणमूल नेताहरू पक्राउ गरियो तर सँगैमा कालेबुङमा पनि सरकारी जमीन किनबेच हुँदैछ भनेर भन्दा विभागले जवाब समेत दिँदैन’-माकपा नेता सुन्दासले भने, ‘न्याय बराबार हुनुपर्छ।’

उनले अझ भने अनुसार कुन-कुन जमीन भेष्ट हो भनेर आरटीआई मार्फत विभागले जनाइसकेको छ। तर त्यही भेष्ट गरिएको जमीन फेरि बेच्ने काम हुँदैछ। उनले सरकारी जमीन बेचेर सपिङ महल बनाउन आरम्भ गरेपनि सम्बन्धित विभाग र नगपालिका समेत मौन रहेको भन्दै दुईवटा निकाय बिक्री भएको आरोप लगाएका छन्।

यसै प्रसङ्गमा उनले कालेबुङ गर्ल्स हाई स्कूल परिसरमा पनि केही कागजपत्र बिना नै भवन निर्माणको काम आरम्भ भएकोमा आपत्ति जनाउँदै आवश्यक परे सरकारी जमीन किनबेच भइरहेको कुरा तथ्यसित न्यायालयमा प्रमाणित गरिदिने चेताउनी दिएका छन्। उनले सरकारी जमीनमा भवन निर्माणको काम अविलम्ब बन्द गरेर भेष्ट जमीन गरीबलाई बितरण गर्नुपर्ने माग गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया