ममता ब्यानर्जीको समर्थनमा विकास बोर्डहरूले निकाल्यो ऱ्याली: भन्यो, ‘देश, संविधान र लोकतन्त्र बचाउने निर्णयलाई हाम्रो समर्थन’

कालेबुङ, 13 फरवरी:  पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको समर्थनमा आज कालेबुङमा सबै जातीय विकास बोर्डहरूले संयुक्त रूपमा ऱ्याली निकालेको छ। एकातिर केन्द्र सरकारविरूद्ध ममता ब्यानर्जीले दिल्लीमा धरणा दिन गइरहेकी छन् भने अर्कोतिर यता पहाडमा जातीय विकास बोर्डहरूले मौन ऱ्याली निकालेर ममता ब्यानर्जीलाई समर्थन जनाएका छन्।

शारदा काण्डलाई केन्द्र गर्दै पुलिस कमिश्नर राजीव कुमारविरूद्ध सीबीआईले  कार्यवाही शुरू गरेपछि केन्द्रसित रिसाएकी ममता ब्यानर्जीले कलकत्तापछि दिल्लीमा धरणा दिँदैछन्।  

यसैले ममता ब्यानर्जीलाई थप बल प्रदान गर्दै आज यहाँका विभिन्न जातीय विकास बोर्डका मानिसहरूले हात-हातमा प्ला कार्डहरू बोकेर टाउनहल परिसरदेखि मेलाग्राउण्डसम्म मौन ऱ्याली निकालेका थिए। ममता ब्यानर्जीको समर्थनमा प्लाकार्डहरू बोकेर निस्किएको ऱ्याली मेलाग्राउण्डमा पुगेपछि समापन भएको थियो जहाँ विकास बोर्डका प्रतिनिधिहरूले सम्बोधन गर्दै आफूहरू ममता ब्यानर्जीको पक्षमा रहेको दावी गरे।

‘मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीमा धरणा बस्न गइरहेकोले उनको समर्थनमा हामीले ऱ्याली निकालेका हौँ’-भोटिया विकास बोर्डका उपाध्यक्ष डाडुल भोटियाले भने, ‘देश, संविधान र लोकतन्त्र बचाउने मुख्यमन्त्रीको निर्णयलाई हाम्रो समर्थन छ।’

अर्कोतिर लिम्बु विकास बोर्डका अध्यक्ष एनडी लिम्बुले पनि मुख्यमन्त्रीले ममता ब्यानर्जीले जातीय विकास बोर्डहरू दिएर पहाडका जातगोष्ठीहरूको भाषा, साहित्य, संस्कार-संस्कृति बचाउनमा महत्त्वपूर्ण सहयोग पुऱ्याएको भन्दै आज आफूहरू ममता ब्यानर्जीलाई साथ दिन अघि आएको बताए। ऱ्यालीमा करीब 3 सय मानिसहरू सहभागी थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया