अब मऱ्यो भाजपा गोर्खाहरूको निम्ति

विचार

सुबास सोताङ


अब प्योर गोर्खा म्यान्डेट खोज्नुपर्ने बाध्यता पनि अवसर पनि’ आशा नभएपनि बजेट सेसनको अन्तिम क्षणसम्म गोर्खाहरूले टुलुटुलु हेरिरहे भाजपालाई । अहँ गोर्खाहरूप्रति संवेदनशील बनेर बौरिएन भाजपा । अब मऱ्यो भाजपा गोर्खाहरूको निम्ति ।

अब दार्जीलिङका गोर्खाहरूले आफ्नै बलबुतामा उभिनुबाहेक अर्को उपाय छैन। राष्ट्रिय पार्टीहरूबाट धोका, धोका केवल धोकाबाहेक केही पाएनौँ । अब गोर्खाहरूले राज्यको तृणमूल र केन्द्रको भाजपाविरुद्ध गोर्खाल्याण्डपन्थी आफ्नै साझा उम्मेदवार खडा गर्नैपर्छ ।

वास्तवमा काङ्ग्रेस होस् कि भाजपा होस्, हामीले राष्ट्रिय पार्टीका उम्मेदवारलाई सघाउने हुँदा दार्जीलिङबाट कहिल्यै पनि गोर्खाल्याण्डपन्थी पूर्ण सांसदलाई दिल्ली पठाउन पाएका छैनौँ ।

अहिलेसम्म दार्जीलिङबाट जो -जो उम्मेदवारले जितेर दिल्ली गए ती सबैको जीतमा आधा गोर्खाल्याण्डविरोधी भोटको हिस्सा थियो । हामीले अहिलेसम्म पटकपटक आधा एमपीलाई मात्र दिल्ली पठायौँ । उसित गोर्खाल्याण्ड माग्ने नियत त थियो कि थिएन, तर वास्तवमा उसित गोर्खाल्याण्ड माग्ने पूर्ण म्यान्डेट नै थिएन ।

यो हाम्रै कमजोरी कि बाध्यता कि स्वार्थ थियो । तर अब हामी यसपल्ट जबरजस्ती भएपनि आफ्नै बलबुतामा उभिनुपर्ने निर्णायक घडी छ । यो गम्भीर चुनौती तर मलाई कताकता स्वर्ण अवसर पनि लागिरहेछ । यदि साच्चै नै दार्जीलिङका गोर्खाल्याण्डपन्थी दलहरूले जवाबदेही भएर एकजना योग्य साझा उम्मेदवारलाई उठाएर जम्मै गोर्खा भोटलाई कन्सोलिडेट गर्न सके विजय निश्चित छ ।

गोर्खाल्याण्डविरोधी भोट तृणमूल, भाजपा, काङ्ग्रेस र माकपामाझ विभाजित हुने हुँदा यदि गोर्खाल्याण्ड पक्षको भोटलाई एकीकृत गर्न सकिए इतिहासमा पहिलोपल्ट हामी हाम्रो गोर्खाल्याण्डपन्थी पूर्ण सांसदलाई जिताउन सक्छौँ । गोर्खाल्याण्डको पूर्ण म्यान्डेट बोकेको एमपी दिल्ली पठाउन सक्छौँ । यो हाम्रो गोर्खाहरूको साझा विजय हुनेछ, गोर्खा स्वाभिमानको विजय हुनेछ र हुनेछ गोर्खाल्याण्डको निख्लम म्यान्डेट पनि ।

(फेसबुकबाट)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया