महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्दै मणि ट्रस्ट: प्रिमताममा 28 औँ हातेतान प्रशिक्षण केन्द्रको उद्घाटन

कालेबुङ, 15 फरवरी: ग्रामीण स्तरका महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्दै कालेबुङ खण्ड-1 को प्रिमताममा हातेतान प्रशिक्षण केन्द्र आरम्भ भएको छ। कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले पश्चिम बङ्गाल खादी  एवं ग्रामीण उद्योग बोर्डको सहयोगमा केन्द्र सञ्चालनमा ल्याएको हो।

दार्जीलिङ-कालेबुङ जिल्लामा अघिबाटै 27 वटा केन्द्रहरू सञ्चालन भइरहेका छन् भने आज कालेबुङ खण्ड-1 को स्योकबीर खानी ग्राम पञ्चायत अन्तर्गत पर्ने प्रिमताममा शुरू गरिएको केन्द्र 28 औँ हो।

बुधबार केन्द्र उद्घाटन कार्यक्रममा पश्चिम बङ्गाल खादी बोर्डका सदस्य शारदा राई सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने ट्रस्टका संस्थापक अध्यक्ष सुवास एम. सिंह, प्रोजेक्ट अफिसर पासाङ शेर्पा, प्रशिक्षिकाहरू सुनन्दा लेप्चा, मधु प्रधान, एपीओ सागर थापा, फिल्ड अफिसर शिशिर शर्मा साथै स्थानीयहरू सामसिङ लेप्चा, सापदेन लेप्चा, बराम लेप्चा, फुछिरिङ लेप्चा, सोनाम लेप्चा साथै प्रशिक्षणार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमबारे जानकारी गराउँदै ट्रस्टका अध्यक्ष सुवास एम सिंहले भने अनुसार यो प्रशिक्षण तीन महिनापछि सकिने होइन। पहिलो चरणमा तीन महिने प्रशिक्षण दिएपछि उनीहरूलाई पोष्ट ट्रेनिङको व्यवस्था पनि गरिन्छ। जमीन उपलब्ध गराएको खण्डमा गाउँमा नै प्रोडक्सन सेन्टरको निर्माण गरेर गाउँमा उत्पादित सामाग्रीहरूको बजार व्यवस्थापन समेत ट्रस्ट आफैले गर्ने योजना रहेको पनि सिंहले बताए।

अर्कोतिर मुख्य अतिथिका रूपमा उपस्थित शारदा राई सुब्बाले यसप्रकारका प्रशिक्षण केन्द्र शुरू गरेकाले गाउँका महिलाहरूलाई स्वनिर्भर बन्नमा धेरै सहयोग पुग्ने बताइन्। उनले भने अनुसार विशेष गरी गाउँ-गाउँसम्म सरकारी सहलियतहरू पुऱ्याउने मुख्यमन्त्रीको सोच छ। यसैले गाउँमै लुघु उद्योग शुरू गरेर महिलाहरू उद्यमी बन्नसकुन् भन्ने मुख्यमन्त्रीको सपना रहेको कारण नै अहिले दार्जीलिङ-कालेबुङ जिल्लामा हातेतान प्रशिक्षण केन्द्रहरू सञ्चालन भइरहेको बताइन्। उनले मणि ट्रस्टले यस योजनालाई सही ढङ्गमा गाउँ-गाउँमा पुऱ्याइरहेको भन्दै ट्रस्टको कार्यको पनि सराहना गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया