पारू राई बनिन् मम्मिज ट्यालेन्ट हन्टका विजेता

कालेबुङ, 16 फरवरी।


आई लभ कालेबुङद्वारा आयोजित मम्मिज ट्यालेन्ट हन्टका विजेता गैरीबासकी पारू राई बनिन्। उनले आफ्नो जितमा खुशी व्यक्त गर्दै आमाहरू केवल चुल्हा चौकाको निम्ति मात्र होइन, आमाहरूमा पनि विभिन्न प्रतिभाहरू हुन्छन् जसलाई मञ्चको आवश्यकता रहेको बताइन्। ती प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने आई लभ कालेबुङलाई पनि उनले आभार व्यक्त गर्दै भनिन्, म त प्रायः कार्यक्रमहरूतिर भाग लिइरहने गर्छु तर कति आमाहरू पनि थिए जसले कुनै कार्यक्रमहरूतिर भाग लिएका थिएनन्। उनीहरूलाई देख्दा धेरै खुशी लाग्यो।

यस प्रतियोगितामा जित हासिल गर्ने अघिबाटै उनलाई पूर्ण विश्वास रहेको पनि उनले बताइन्। नृत्य क्षेत्रमा आफ्नो ठाउँलाई अघि बढ़ाउने उद्देश्यले नै उनले घुङ्गुरू नृत्य केन्द्र सञ्चालन गरिरहेको अनि केन्द्रका नानीहरूलाई मञ्च प्रदान गर्न विभिन्न प्रतियोगितात्मक कार्यक्रममा पठाउने गरेको बताइन्। राईले कलकत्ताबाट वेस्टर्न डान्स प्रशिक्षण लिइसकेकी छन् भने कथकको सातौँ वर्ष सिध्याइसकेकी छन्।

उनले भनिन्, मलाई सानै छँदादेखि नृत्य धेरै मन पर्छ। मैले धेरै प्रतियोगिताहरूमा भाग लिएर जितिसकेकी पनि छु तर जिल्ला स्तरीय प्रतियोगिता भने पहिलोपल्ट जितेकी हुँ। मलाई धेरैले प्रतियोगितामा कति पैसा जित्यौ भनेर पनि सोधे तर पैसाभन्दा माथि त मञ्च प्राप्त गर्नु र सम्मान पाउनु हो। मलाई यसैमा गर्व लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया