डुवर्सका युवा कवि किरण उपाध्याय सिक्किम भ्रमणमा

Girl in a jacket
??

गान्तोक, 16 फरवरीः डुवर्सका युवा कवि किरण उपाध्याय यतिबेला सिक्किम भ्रमणमा रहेका छन्। साहित्य अकादमी, नयाँ दिल्लीको भ्रमण निम्तो पाएर उनी दश दिवसीय सिक्किम भ्रमणमा आएका हुन्। यहाँ भ्रमणका अवधि उनले राज्यका साहित्यकार, पत्रकार तथा सर्जकहरूसँग भेट गर्नेछन् भने विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूका प्रतिनिधिहरूसँग पनि सिक्किमका साहित्यिक गतिविधिबारे अन्तरक्रिया गर्नेछन्।

‘डुवर्स तिमी’ कविता सङ्ग्रहबाट आफ्नो साहित्यिक परिचय बनाउन पुगेका डुवर्सको मादरीहाट निवासी उपाध्याय यसअघि पनि साहित्य अकादमीको निम्तोमा मिजोरम पुगिसकेका छन्। 17-18 सेप्टेम्बर, 2018 मा मिजोरममा आयोजित अल इण्डिया राइटर्स मिटमा उनले नेपाली साहित्यलाई प्रतिनिधित्व गर्दै कविता वाचन गरेका थिए।   गान्तोकमा कवि उपाध्यायले एउटा विशेष भेटमा भने,“म पहिलोपटक यसरी साहित्यिक भ्रमणमा आएको छु। सिक्किमको साहित्यिक गतिविधिसँगै यहाँका विभिन्न सङ्घ-संस्थाका अध्यक्ष, महासचिव एवं सदस्यसँगै पत्रकारहरूसित साहित्यका विविध प्रगतिमूलक कार्यहरूबारे अन्तरक्रिया गर्ने सोच बनाएर यहाँ आएको हो। आगामी केही दिन म गान्तोकमा रहनेछु।” यसैबीच, उनले राज्यका प्रमुख साहित्यिक संस्थानहरूमा पुगेर संस्थाले गर्ने साहित्यिक क्रियाकलापबारे जानकारी बटुलिरहेको जानकारी पाइएको छ। डुवर्सको सर्वाधिक नेपाली जनघनत्व रहेको वीरपाड़ा-मादरीहाट ब्लकमा विभिन्न संस्थाहरूका माध्यमद्वारा उपाध्याय साहित्यिक गतिविधिसँग सक्रिय रूपले आबद्ध छन्। उनी डुवर्स नेपाली साहित्य सभाका संस्थापक सदस्य हुन्। यस संस्थाले मासिक रूपमा ‘साहित्य चौतारी’ कार्यक्रम आयोजन गर्दै आएको छ, जसमा साहित्यका सबै विदालाई प्रोत्साहन गर्दै कथा, कविता, लघुकथा, मुक्तक, व्यङ्ग्य, गजल आदिमाथि गोष्ठी आयोजन गरिन्छ। पूर्व डुवर्स क्षेत्रमा नेपाली साहित्य प्रतिष्ठान (दलसिंहपाड़ा), सिर्जनशील समूह (कालचिनी) जस्ता क्षेत्रीय स्तरका साहित्यिक संस्थाहरूसँग पनि उनी जोड़िएका छन्। डुवर्सको माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका उनी सह-सचिव हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया