एसकेएमले बन्द डाकेर विद्यार्थी र चालक विरोधी कार्य गरिरहेको छः सोनाम ग्याछो लेप्चा

Girl in a jacket

गान्तोक,18 फरवरीः “लिम्बू-तामाङ मुद्दामा मुख्यमन्त्री पवन चामलिङले जनतालाई साक्षी राखेर केन्द्र सरकारसमक्ष बारम्बार माग राखेकै हुन्। पाकिम हवाई अड्डाको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा मुख्यमन्त्रीले जनताकै अघि लिम्बू-तामाङलाई सीट दिनुपर्छ भनेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको हो। त्योभन्दा अघि 2016 मा गान्तोक आउँदा पनि चिन्तन भवनमा प्रधानमन्त्रीसमक्ष मुख्यमन्त्रीले यो माग राखेको हो। मुख्यमन्त्री स्वयं र राज्य सरकारले केन्द्र सरकारसमक्ष यस मुद्दामाथि बारम्बार बिन्ती र आग्रह गरेको छ। अब केन्द्रले दिँदैन भने छाती पक्रेर ‘सीट देऊ’ भन्ने शक्ति हामीसँग छैन”,एसडीएफ पार्टीका वरिष्ठ नेता तथा राज्य विधानसभाका उपाध्यक्ष सोनाम ग्याछो लेप्चाले आज यस्तो मन्तव्य गरे। उनी विधानसभा सचिवालयमा पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।
एसकेएम पार्टीले 35 बुँदे माग लिएर आगामी 28 फरवरीको दिन डाकेको सिक्किम बन्दको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै उनले यस्तो मन्तव्य दिएका हुन्। सोनाम ग्याछो लेप्चाले भने,“एसकेएमले उठाएका मागहरूमध्ये अस्सी प्रतिशतम माग राज्य सरकारले पूरा गरिसकेको छ। बीस प्रतिशत जति माग पूरा भएका छैनन्। त्यसमा अधिकांश केन्द्र सरकारको अधीनका विषयहरू छन्। चाहे त्यो लिम्बू-तामाङको सीट आरक्षणको मुद्दा होस् वा छोड़िएका 11 समुदायलाई जनजाति बनाउने मुद्दा नै किन नहोस्। त्यसैले एसकेएम पार्टीले राम्रोसँग अध्ययन नगरी सिक्किम बन्द डाक्नु सिक्किमविरोधी कार्य हो।” एसकेएमको सिक्किम बन्दलाई लिएर उनले अझ भने,“बोर्ड परीक्षाको समय छ। पर्यटनको मौसम छ। होटल चल्ने बेला, ड्राइभरहरूले एकदुई पैसा कमाउने बेलामा एसकेएमले बन्द डाकेर विद्यार्थी तथा चालकविरोधी कदम चालेको छ। उनीहरूलाई थाहा छ, राम्रोसँग म्याच खेले जित्न सकिँदैन। त्यसैले एसकेएमले रफ् म्याच खेल्ने प्रयास गर्दैछ। एसकेएमले यदि रफ् म्याच खेल्यो भने हामीलाई पनि रफ् खेल्नुपर्ने बाध्यता आइपर्छ। चुनाउमा रफ् होइन, राम्रो खेल खेल्नुपर्छ। एसकेएमले यो कुरा बेलैमा बुझेको राम्रो हुनेछ। हामी पनि शान्ति र्याली आयोजना गर्नेछौं। सिक्किमलाई अशान्ति बनाउने शक्तिसँग एसडीएफ पार्टी डटेर सामना गर्नेछ।”
1999 देखि लगातार रूपमा उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रका विधायक रहिआएका सोनाम ग्याछोले भने,“जङ्गु क्षेत्रमा विगत 20 वर्षमा धेरै विकास भएको छ। जङ्गुको प्रत्येक कुना-काप्चामा सड़क पुगिसकेको छ। साक्योङ-पेन्टोक जस्तो अभेक ठाउँमा विश्वकै सबैभन्दा अग्लो पुल बनिँदैछ। यसको टेण्डर भइसकेको छ। मान्ताम झीलमा 100 करोड़को लागतमा पुल निर्माण हुन गइरहेको छ। शिक्षाको क्षेत्रमा जङ्गुको जति विकास सिक्किममा अन्यत्र कतै भएको छैन। मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाबाट आज सबैभन्दा अधिक विद्यार्थी जङ्गु क्षेत्रबाट रहेका छन्। पोलिटेक्निक कलेज र डिग्री कलेजको निर्माण भइरहेको छ।” राज्यको विकासलाई देख्न नसकेर एसकेएमले अनावश्यक रूपमा सिक्किम बन्दको आह्वान गरेको उनले दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया