‘भारतले आक्रमण गर्दा पाकिस्तान हेरिबस्दैन’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीर हमलामा पाकिस्तानको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् ।

उनले भारतलाई हमलामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न भारतलाई चुनौती दिएका छन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एक टेलिभिजन सम्बोधनमा भारतलाई कश्मीर आक्रमणमा पाकिस्तानी पक्ष संलग्न भएको प्रमाण दिन चुनौती दिएका हुन् ।

बिहीबार भएको हमलामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै इस्लामावादविरुद्ध कारबाही गर्ने नयाँदिल्लीले चेतावनी दिइरहेका बेला पाकिस्तानी प्रधानमन्त्रीले पनि यस्तो चुनौती दिएका हुन् ।

‘भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्नेछ र प्रतिकार पनि गर्नेछ ,’  उनले भनका छन्।

साउदी युवराज मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणका कारण आफूले कश्मीर मामिलामा ढिलो सम्बोधन गरेको खानले बताए । एक साताअघि भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा विखण्डनकारी विद्रोहीको आत्मघाती हमलामा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ ।

पाकिस्तानी भूमिमा सक्रिय लडाकु संगठन जैस ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।

छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २५ सय सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारीसाधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानबाट आत्मघाती आक्रमण गरिएको थियो ।

बिहीबारको सो हमला कश्मीरमा भारतीय फौजलाई लक्षित अहिलेसम्मकै ठूलो आक्रमण हो । सोमबार पनि सोही क्षेत्रमा भारतीय सेना र विद्रोहीबीचको दोहोरो गोली हानाहानमा चार भारतीय सेनासहित नौजनाको मृत्यु भएको थियो ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए मोहम्मद समूहलाई पाकिस्तानले पूर्ण रूपमा स्वतन्त्रता दिएको भारतको दाबी छ । तर, पाकिस्तानले भने भारतको सो दाबी अस्वीकार गर्दै आएको छ । कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै पाकिस्तानी प्रधानमन्त्री खानले इस्लामावाद आफैँ स्थायित्वतिर उन्मुख भएको बताए ।

उनले आरोप–प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान गर्दै त्यसका लागि पाकिस्तान तयार रहेको बताए । आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीनपटक युद्ध भइसकेको छ ।

आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानविरुद्ध कडा कारबाही गर्ने धम्की दिएका थिए । कश्मीरको पुलवामामा आक्रमणको पाकिस्तानी आतंककारी समूह जैस–ए–मोहम्दले जिम्मेवारी लिएको थियो । उक्त समूहलाई अमेरिका, बेलायत, संयुक्त राष्ट्रसंघलगायत पाकिस्तानसमेत आतङ्ककारी घोषित गरिसकेको छ ।

यता खानले कश्मीर विवाद वार्तामार्फत समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताएका छन् । भारत प्रशासित कश्मीरमा पृथकतावादी विद्रोहीलाई पाकिस्तानले सघाउँदै आएको नयाँदिल्लीको आरोप हो ।

खानले कश्मीर घटनाको अनुसन्धानमा भारसँग आफू सहकार्य गर्न तयार रहेको समेत जनाएका छन् ।

खानले पाकिस्तान आर्थिक विकास तथा स्थायित्वका लागि प्रयासरत भइरहेका बेला आक्रमण गरेर के पाउँछ भन्दै भारतीय नेतृत्वसँग प्रश्न गरे ।

यसअघि भारतीय सेनाकालेफ्टिनेन्ट जर्नेल केजेएस ढिलनले ‘कश्मीर आक्रमण जैस–ए–मोहम्दका कमान्डरहरूसँग मिलेर पाकिस्तानको गुप्तचर संस्था आईएसआईले गराएको’ बताएका थिए । उनी कश्मीरस्थित भारतीय सेनाका कमान्डर हुन् । ढिलनले ‘कश्मीरमा सक्रिय पृथकतावादी विद्रोहीलाई तत्काल हतियार नबिसाए मार्ने’ चेतावनी दिएका थिए ।

केही वर्षयता कश्मीरमा लडाकु समूहमा प्रवेश गर्ने युवाको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ । भारतले कश्मीर आक्रमण गराउने युवा स्थानीय भएको उल्लेख गरेका थिए ।

सोमबार कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मी र विद्रोहीबीचको भिडन्तमा ४ सैनिक, २ लडाकु र एक सर्वसाधारणको मृत्यु भएको थियो । भारतले उक्त भिडन्तमा मारिनेमध्ये एक कश्मीर आक्रमणका योजनाकार भएको जनाएको थियो ।

घटनापछि भारत र पाकिस्तानबीच जारी तनाव चर्केको छ । भारतले पाकिस्तानमाथि आर्थिक र तथा कूटनीतिक आक्रमण सुरु गरेको छ । नयाँदिल्लीले पाकिस्तानसँगको भन्सार दर २ सय प्रतिशत वृद्धि गरिसकेको छ । पछिल्लो विवादसँगै दुवै देशले आफ्ना राजदूतलाई समेत फिर्ता बोलाइसकेका छन् ।

सन् १९४७ मा स्वतन्त्रतासँगै विभाजन भएदेखि नै दुवै देशले कश्मीर आफ्नो भएको बताउने गरेका छन् । कश्मीर विवादकै कारण उनीहरूबीच विगतमा २ युद्ध भइसकेका छन् । कश्मीर उपत्यका स्वतन्त्रतासँगै पाकिस्तान र भारतमा विभाजित भएको हो । भारत प्रशासित कश्मीरमा भारतीय सेनाले सन् २०१६ मा लोकप्रिय विद्रोही नेता मारिदिएपछि हिंसात्मक घटनामा बढेका हुन् ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया