१४ फरवरी २०१९

कविता

प्रेमपत्रमा बारूद भरेर
ठिङ्ग उभिरहेको 14 फरवरी 2019
अचानक ढल्यो रगतको आहालमा

के तपाईँलाई थाहा छ
रगतको आहालमा
गुलाब फुल्न कति गाह्रो छ?


उमेश दर्जी परियार


विश्व प्रेमको दहमा
डुबुल्की मारिरहेको समय
कसले सोँच्न सक्थ्यो कि
मान्छे मान्छेकै मृत्यु बनेर आइरहेको छ।

हातमा गुलाब बोकेर व्यस्त डुलिरहेको
देशको अनुहारमा
कसरी कल्पना गर्न सक्थ्यो कि
एक्क्क्कासी रगतको छिटा पर्नेछ।

एकछिन अघि बुद्ध बनिरहेको देश
बारूद बोकेर युद्ध मागिरहेको छ अहिले।

कसले हो
भुइँमा लडाएर देशलाई
रगतले
नुहाउने तयार गरिरहेछ।

भर्खरै प्रेमिकाले हातमा थमाइदिएको
गुलाब निचोरेर
बारूद बनाउन खोजिरहेछ कोही

‘रगतको साटो रगत’
जप्दै
एकछिन अघि गान्धी बनिरहेको देश
नरसंहारको लागि तयारी गरिरहेछ अहिले।

देशलाई थाह छ
युद्ध शान्तिको सन्देश होइन।

कुनै युद्धले कोख भर्दैन।

उमार्छ प्रतिशोधको ज्वाला
र देशप्रेमलाई पोलेर बनाउँछ सहिद कारखाना।

एकक्षण अघि पार्वती बनिरहेको देश
हातमा हतियार बोकेको काली-चण्डी बनिरहेछ अहिले।

प्रेमपत्रमा बारूद भरेर
ठिङ्ग उभिरहेको 14 फरवरी 2019
अचानक ढल्यो रगतको आहालमा

के तपाईँलाई थाहा छ
रगतको आहालमा
गुलाब फुल्न कति गाह्रो छ?

प्रेम दिवसको छेक पारेर
बारुदको कारखाना बनाउने महोदय
झण्डामुनि सलाम थापिरहेका छन्

र रगतपच्छे भ्यालेन्टाइन बाजे
गाइरहेछन्
राष्ट्रीय गीत।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया