सिक्किम विधानसभाले पारित दुइवटा संसोधित विधेयकसमेत वर्ष 2019-20 को लेखानुदान

एक परिवार एक नोकरी तीन महिनाको मात्र हो भन्ने विपक्षीहरूको हल्लामा विश्वास नगर्नु यसको निम्तिमात्र वार्षिक 365 करोड रूपियाँको बजेटमा प्रावधान छ। भोट अन एकाउन्टमा छह महिनाको वेतन छुट्याइएको छ।


गान्तोक, 20 फरवरी। हिमाली राज्य सिक्किमको नवौं विधानसभाको अन्तिम विधानसभा सत्र बुधबार सम्पन्न भयो। विधानसभामा बिना कुनै वहस ध्वनी मतले वर्ष 2019-20 को निम्ति सदनमा प्रस्तुत गरिएको लेखानुदान (भोट अन एकाउन्ट) समेत दुइवटा संसोधित विधेयक सिक्किम लेगुलेशन अफ् ट्रान्सफर अफ् ल्याण्ड विधेयक र सिक्किम भिखारी रोधी विधेयक पारित भएको छ।
वित्तियी विभागीय प्रभारी तथा सदनका नेता पवन चामलिङले आगामी सितम्बर महिनासम्मको निम्ति सदनमा वित्तिय कार्यक्रम अन्तर्गत आगामी सितम्बर महिनासम्मको निम्ति 356629.60 लाख रूपियाँ विना बहस पारित भएको छ।
सदनको समापन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा सदनका नेता पवन चामलिङले सदनमा पाँचौं कार्यकालको समय सिक्किमे जनताको आधारभूत न्यूनतम मागहरूलाई सम्बोधन गर्न सकेको बताए। सदनमा आफूले 35 वर्षदेखि प्रजातान्त्रिक गरिमामा काम गर्दै आएको अनि सिक्किम मात्र एक्लो राज्य रहेको जसले देशको अन्य राज्यको तुलनामा जनताको न्यूनतम आवश्यकता पुरा गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले राज्यको अस्थायी चालक र कर्मचारीहरूलाई सम्बोधनमा राख्दै उनीहरूको नोकरी स्थायी गर्ने तथा यसैकार्यकालमा 25 हजारलाई स्थायी गरिएको अनि थप पाँच हजारको स्थायीकरण हुने कुरा पनि रेकर्ड गराए।
यसगरि सदनमा पारित बजेटलाई प्राथमिकताको आधारमा सरकारी कर्मचारीहरूको वेतन सही समयमा भुक्तान गर्नको निम्ति प्रयोग गरिने अनि अहिले चर्चामा रहेको तथा विपक्षी दलहरूले एक परिवार एक नोकरीमाथि लगाइरहेको लाक्षणामाथि पनि जवाफ दिँदै सदनले आउँदो 6 महिनाको निम्ति धनराशी छुट्याएको कुरा रेकर्डमा राखे। उनले पहिले नै जनवरीदेखि मार्चसम्मको वेतन छुट्याईसकेको अनि आउँदो सितम्बर महिनासम्मको वेतन छुट्याइएको अनि अहिलेसम्म सबैभन्दा प्राथमिकताको आधारमा सरकारी कर्मचारीहरूलाई वेतन दिइरहेको अनि कहिले ढिलाई नगरेको कुरा पनि रेकर्डमा राखे। उनले एक परिवार एक नोकरी तीन महिनाको मात्र हो भन्ने विपक्षीहरूको हल्लामा विश्वास गर्नु नहुने तथा यसको निम्तिमात्र वार्षिक 365 करोड रूपियाँको बजेट आउने कुरा पनि सदनमा राखे।
यसैगरि अहिले आन्दोलनमा रहेका अस्थायी शिक्षकहरूको निम्ति पनि आफ्नो सम्बोदन रेकर्ड गराउँदै मुख्यमन्त्री चामलिङले पाँच वर्षसम्म अस्थायी शिक्षकको रूपमा काम गर्ने शिक्षकहरूलाई एनसीटीईको मानदण्ड अनुसार स्थायी गरिने अनि शिक्षितहरूले यसबारे अवगत हुनुपर्ने पनि बताए। यसमा केन्द्र सरकारको मानदण्डहरूलाई राज्य सरकारले पालन गर्नुपर्ने कुराहरू पनि बुझ्नुपर्ने बताए।
पछिल्लो 25 वर्षको शासनकालमा सिक्किमले देखेको विकासको साक्षीबारे पनि अवगत गराउँदै मुख्यमन्त्री चामलिङले जैविक खेती जसलाई विश्वले सराहना गरेका बताए। सिक्किमलाई गरीब राज्यहरूको सूचीबाट सबैभन्दा प्रगतिशील र सक्षम राज्यको रूपमा विकास गरेको जनाकारी दिए। राज्यमा शान्ति सुरक्षाको कुनै समस्या नरहेको अनि सबै कुरा संकल्पशक्तिको प्ररिणाम रहेको बताए। सिक्किमले गरेको विकास र उन्नतिकोबारेमा जनताले पनि मूल्याङ्कन र सराहना गर्नुपर्ने बताए। यसरी सुरक्षा र शान्तिसित राखेको सिक्किमलाई कुनै गलत नेतृत्वको हातमा सुम्पिनु नहुने कुरालाई सदनमा पनि उनले दोहोऱ्याएका छन्। उनले सिक्किमे जनताले आफ्नो मौलिक अधिकार राम्रो सिक्किमको निम्ति प्रयोग गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरे। सदनको अन्तिम सत्रसम्म आफूलाई निरन्तर समर्थन र सहयोगको निम्ति सदनका सबै सदस्य र सह विधायकहरूलाई आभार प्रकट गरे। उल्लेखनीय छ 9औं विधानसभाको अन्तिम विधानसभा सत्रमा विपक्षी दल एसकेएमका विधायक केएन लेप्चा, सोनाम लामा र एसआरएम पार्टीका विधायक तथा अध्यक्ष आरएन चामलिङले भने सदन बहिष्कार गर्दै सदनमा उपस्थिति दिएनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया