मजदुर विरोधी नीति विरुद्ध 22 फरवरीदेखि श्रमजीवी अधिकार अभियान

Girl in a jacket

सरकारले मजदुर विरोधी कानुनी प्रस्ताव ग्रहण गरेकोमा प्रतिवाद जनाउँदै साथै किसान-मजदुरहरूका हरेक न्यायिक मागलाई समर्थन गर्दै चिया बगान सङ्ग्राम समिति अनि सिन्कोना सिटिजन राइट फोरमले पाँच दिवसीय श्रमजीवी अधिकार अभियान सुरु गरेको हो।


कालेबुङ, 21 फरवरी


चिया बगान सङ्ग्राम समिति अनि सिन्कोना सिटिजन राइट फोरमले संयुक्त रूपमा 22 फरवरीदेखि श्रमजीवी अधिकार अभियान शुरु गर्ने भएको छ। सरकारले श्रम कानुनमा व्यापक फेरबदल गर्दै मजदुर विरोधी नीतिहरू पारित गर्न गइरहेकोले यो अभियान गरिने बताइएको छ।

समिति र फोरमअनुसार युगौदेखि आर्थिक शोषणको चपेटमा परिरहेका मजदुरहरूलाई न्याय दिलाउनका सट्टा सरकारले पुँजीवादलाई प्रोत्साहन दिन मजदुर विरोधी कानुनी प्रस्ताव ग्रहण गर्दै आम मजदुरहरूलाई अझ शोषणको दलदलमा फसाउने षडयन्त्र गर्दैछ। दार्जीलिङ पहाडमा पनि हजारौँ सङ्ख्यामा चिया अनि सिन्कोना श्रमिकहरू छन्। उनीहरू आर्थिक सङ्कटकासाथ जीवन बिताइरहेका छन्।

पहाडमा चिया श्रमिकहरूले न्यायसङ्गत न्यूनतम ज्याला पाएका छैनन्। न्यूनतम ज्यालाका निम्ति चिया श्रमिकहरू सङ्घर्षरत छन्। यहाँका चिया बगानहरू बन्द अवस्थामा छन्। बन्द बगानका चिया श्रमिकहरूका निम्ति रोजी-रोटीको कुनै व्यवस्था छैन। सिन्कोना बगानको अवस्था दिनदिनै बिग्रिँदै गइरहेको छ।

युगौदेखि बगानकै माटोमा रगत पसिना बगाए तापनि आजसम्म बगानवासीले पर्चा-पट्टा पाउन सकेका छैनन्। तर अर्कोतिर, चाहिँ यसै देशको सरकारले मजदुर विरुद्ध कानुनी प्रस्तावहरू ग्रहण गरेर पुँजीवादलाई पोस्याउने काम गरिरहेको छ।

यसैले किसान-मजदुर विरोधी सरकारी नीति विरुद्ध समाजका हरेक सचेत वर्गले आवाज उठाउनु आजको आवश्यकता हो। मजदुर-किसानका हित-अधिकारका निम्ति सडकमा उत्रिनु नै हरेक नागरिकको सामाजिक दायित्व पनि हो। कारण मजदुर-किसान विहीनको समाज सम्भव छैन। सरकारले मजदुर विरोधी कानुनी प्रस्ताव ग्रहण गरेकोमा प्रतिवाद जनाउँदै साथै किसान-मजदुरहरूका हरेक न्यायिक मागलाई समर्थन गर्दै चिया बगान सङ्ग्राम समिति अनि सिन्कोना सिटिजन राइट फोरमले पाँच दिवसीय श्रमजीवी अधिकार अभियान सुरु गरेको हो।

अभियान आगामी 22 फरवरीको दिन कालेबुङको मन्सोङ सिन्कोना बगानबाट सुरु हुनेछ। अभियानमा समाजका हरेक क्षेत्रका मानिसहरू सहभागी रहनेछन्। सांस्कृतिक प्रतिवाद स्वरूप सडकमा उत्रेका यस अभियान कालेबुङ सहर, टिस्टा बजार, पेशोक,टिस्टा भेल्ली, गेल, रङ्गली, गोरबङ्गलो, घुम, सुखिया पोखरी, पोख्रेबुङ,समरिकपानी, तुङसुङ, बालासन, धोत्रे, कलेजभ्याल्ली, सोनादाह,रिङटङ, मार्ग्रेटहोप, बेलटार, खरसाङ हुँदै 26 फरवरीको दिन सुकनामा समापन हुनेछ।

दुवै समितिले श्रमजीवी अधिकार अभियानमा उपस्थित भई मजदुर-किसानको सङ्घर्षलाई थप ऊर्जा पुऱ्याइदिन हार्दिक अनुरोध गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया