एसकेएम संविधान नमान्ने, साम्प्रदायिक र जातिवादको झुण्ड होः भारती शर्मा

गान्तोक,22 फरवरीः “4 फरवरी, 2013 मा मैले एउटा विषवृक्ष रोपेको थिएँ। अब त्यसलाई जरैसँग उखेलेर फ्याँक्नेछु। म त्यसबेला गलत बाटोमा थिएँ। 2014 मा तपाईंहरूले सिक्किम बचाउनु भएकोमा म सिक्किमका जनताप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु”,प्रमुख विपक्षी पार्टी एसकेएमकी पूर्व संस्थापक कार्यकारी अध्यक्ष भारती शर्माले बिहीवार यसप्रकारको मन्तव्य गरिन्। उनी विहिबार सिङ्ताममा एसडीएफ व्यापारी मोर्चाको जनसभालाई सम्बोधन गरिरहेकी थिइन्।

2018 मा एसडीएफ पार्टीमा पुनः फर्किएर उपाध्यक्ष पद ग्रहण गरेकी ओबीसी आयोगकी पूर्व अध्यक्ष भारती शर्माले भनिन्,“एसकेएम पार्टीमा तीनवटा झुण्ड छ। एउटा झुण्ड संविधानलाई मान्दैन। अर्को झुण्ड छ, जो कट्टर साम्प्रदायिक र जातिवादी छ। अनि, तेस्रो झुण्ड छ पुँजीवादीहरूको। पुँजीपतिहरूले अहिले एसकेएम पार्टीमा पैसा हाल्दैछन्। उनीहरू अहिले पार्टीमा पैसा लगानी गरेर पछि जनतालाई लुट्न चाहन्छन्।” “म आफ्नै पार्टी छोड़ेर किन आए? एसकेएम पार्टीमा त सीट पक्कै पाउँथें। एसडीएफमा म टिकट पाउँछु/पाउँदिन भनेर आएको होइन, म सिक्किम बचाउन आएको हो। राजनीति व्यापार र सौदा होइन। एसकेएम नेताहरूले यसलाई व्यापार बनाएका छन्”,भारतीले भनिन्। एसकेएमको ‘परिवर्तन’-को नाराप्रति पनि उनले व्यङ्ग्य कसिन्,“परिवर्तन गर्ने मान्छेले म परिवर्तनकारी हुँ भन्दैन। क्राइस्ट, बुद्ध, गान्धी कसैले परिवर्तन गरें भनेनन्। परिवर्तन दिन्छु भन्ने पीएस गोले को हुन्? आफैभित्र कुनै भिजन नभएको, सोच मरिसकेको मान्छेले कसरी परिवर्तन दिन सक्छ? यस्तो मान्छेको पछि लागे सिक्किम भड्खालोमा जान्छ”,शर्मा पीएस गोलेमाथि निकै आक्रामक देखिएकी थिइन्। लिम्बू-तामाङ सीटमाथि एसकेएमले फर्मुला नदिएको तर एसडीएफले न्यायसङ्गत फर्मुला दिएको उनले बताइन्। “लिम्बू-तामाङ सीट आरक्षणमा एसकेएमले किन फर्मुला दिँदैन? फर्मुला गोजीमा राखेर हुँदैन। त्यो स्पष्टसँग जनतामा सार्वजनिक गर्नुपर्छ। त्यसपछि जनताले त्यसलाई बुझ्नेछन्”,पूर्व एसकेएम नेतृले भनिन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया