दार्जीलिङकी एउटी सङ्गीत–मल्लिका

‘आभास भाइ ! यो कार्यक्रमपछि अम्बरले फेरि दार्जीलिङको स्टेजमा उक्लने दिन कहाँ आउला र हौ ?’ यसो भनिरहँदा उनको अनुहारमा भावुकताको खहरे उर्लिरहेझैँ देखिन्थ्यो । गगन दाइले अझै थपेथे, ‘त्यही भएर हो, हामीले यो कार्यक्रमलाई गोधूलि नाम दिएका, बुझ्यौ भाइ ?! हामी त अब गोधूलिका घाम हौं नि त ! डाँडाको डिल छेउ पुगेका !’ उनी झनै भावुक बनेथे ।


आभाष


गीतसँगको निरन्तर मोहले नै हो, सङ्गतको घेरा फराकिलो बनाउने यात्रा तय भएछ  । किशोर अवस्थामा आइपुग्दा धेरै कुराप्रति विद्रोही भाव थियो  ।

त्यसैले त्यो बेलाको वैकल्पिक सांस्कृतिक धारको पृथक् बाटो अँगालेका मञ्जुल–रामेशको संगतमा पु‍र्‍यायो । केही अन्तरालपछि संगतको त्यो घेरा अझै फैलियो र अम्बर गुरुङसम्म पुर्‍यायो । मलाई लाग्छ— त्यही संगतको घेरा फैलँदै जाने क्रममा सन् २००५ को पहिलो महिनादेखि सांगीतिक पलेँटी सुरु भयो । एक वर्षपछि त्यसलाई अझै फैलाउने सोच बन्यो ।

त्यही सोचले नै हो, अनगिन्ती अगुवा कलाकारहरूसँग भेट गरायो । हाम्रो सामाजिक चालचलन र संस्कारले होला पुरुष कलाकर्मीभन्दा धेरैजसो महिला कलाकर्मीको कलाकरिताको सक्रिय अवधि अनिश्चित हुन्छ । अझ भनौं– निकै छोटो हुन्छ । त्यसैले आफ्नो सांगीतिक यात्रामा भेटिएका महिला स्वर अथवा भनौं— सङ्गीत–मल्लिका मलाई विशेष लाग्छन् । अझ जसले सङ्गीत मात्रै जपेर जीवनको लामो यात्रा तय गरेका छन्, ती त झनै विशेष लाग्छन् ।

सन् १९९४ को वर्षा ऋतुमा गान्तोकको ‘कल्चर डिपार्टमेन्ट’ मा पहिलोपल्ट भेटेको थिएँ त्यस्तै एउटी सङ्गीत–मल्लिकालाई । आफ्नो नामलाई कर्मले नै चरितार्थ पार्ने गरी हरबखत शान्त भावमा रमेर सङ्गीत मात्र जपिरहेकी हुन्छिन् ती सङ्गीत–मल्लिका । अथवा शान्ति ठटाल । अन्य पुराना गायिकासँगझैँ शान्ति ठटालसँग पनि रेडियोको तरंग मार्फत उहिल्यै परिचय भइसकेको थियो ।

अम्बर गुरुङको सङ्गीतमा उनले गाएका गीत ‘सम्हालेर राख’ र ‘मेरो दुःखी मन’ जति सुने पनि नयाँ लाग्थे । अझै पनि प्रिय लाग्छन् । उनको स्वरको बनावट आम महिला स्वरभन्दा पृथक् थियो । पृथक् छ । मलाई लाग्छ— नेपाली सङ्गीतले यस्तो उदात्त र फरकपनको साधक पाउनु, गौरवको विषय हो । मैले अम्बर गुरुङबाट शान्ति ठटालका बारेमा मनग्य कुरा सुन्ने अवसर पाएको थिएँ । बूढा अरू समकालीन कलाकारका बारेमा बोल्दा तौलेर बोल्थे तर शान्ति ठटालको सांगीतिक क्षमताको भने मनैदेखि खुलेर प्रशंसा गर्थे ।

शान्ति ठटाललाई पहिलोपालि भेट्दा स्वरले झैँ व्यक्तित्वले पनि प्रभावित पारेथ्यो । भानु–जयन्तीको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाई नेतृत्व दिँदै थिइन् उनी । उनको गोरो र उज्यालो मुहार जति आकर्षक देखिएथ्यो त्यत्तिकै प्रभावकारी लागेथ्यो उनले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका ।

सुनेथेँ– सिक्किम, दार्जीलिङतिरका नेपालीभाषीले भानुभक्तलाई बंगालीभाषीले रवीन्द्रनाथलाई मानेभन्दा धेरै मान्छन् । शान्ति ठटाल र ‘कल्चर डिपार्टमेन्ट’ को व्यस्तता देख्दा मैले सुनेको कुरा सत्य सावित हुन्थ्यो । व्यस्तताको बीचमै हाम्रो वार्तास्थल तय भएथ्यो । रंगमञ्चको मध्यभागमै पलेँटी कसेथ्यौं हामीले । त्यसबेला म आफ्नो परिचयलाई झट्टै नखुलाउने स्वभावको थिएँ । पत्रकारको रूपमा मात्र कुराकानी गर्ने सोचमा थिएँ ।

तर सँगै रहेका चन्द्र भण्डारीले मेरो थप परिचय खुलाइदिई हाले, “दिदी ! आभासजी सिलगढीबाट निस्कने ‘आजभोलि’ को सम्पादन त गर्नुहुन्छ तर उहाँ अम्बर गुरुङको शिष्य पनि हो है !…” चन्द्र दाइले थप कुरा नभनून् भनेर मैले बीचमै– ‘म सङ्गीतलाई अलिअलि मन पराउँछु दिदी !’ मात्र के भनेथेँ, केही सुनौं न त भन्ने आशयसहित शान्ति ठटाल सामुको हार्मोनियम मतिर घिस्रिएर आइपुग्यो । म त्यो अपर्झटको निम्ति तयार थिइनँ ।

तर, ‘अम्बर गुरुङको शिष्य’ भन्ने हरफ सुनेपछिको अपेक्षाले नै होला, हार्मोनियम मेरोतर्फ मोडिएको । त्यति बेजोड सङ्गीतकार र अद्वितीय गायिकासामु आफ्नो धकाएको स्वर सुनाउने मन कसरी हुनु ? तर, धर पाइएन । धकाउँदै गाएँ– ‘भुइँकुहिरो उड्न थाल्यो, गाउँबस्ती ढाकेर…’ । मैले त्यतिबेला डी माइनर स्केल समातेको थिएँ । एक अन्तराको छोटो गीत छ यो । गीत सकिनासाथ शान्ति दिदीको छोटो टिप्पणी आएथ्यो– ‘अन्तः यो गीतमा त गीत मात्र त छैन रैछ नि हौ ! अरू पनि बहुतकुछ पो रैछ त… !’

गीतमा रहेको नेपाली जगत्को सामाजिक र राजनीतिक विम्बलाई उनले सहजै पक्रेकोमा म छक्कै परेथेँ । मेरो देब्रेतर्फ बसेका पूर्वविद्यार्थी नेता चन्द्र भण्डारीले २०३८–३९ सालतिर नख्खु जेलमा बन्दी रहँदा यो गीत बुनेका थिए । मैले गीतका सर्जक चन्द्रतिर देखाउँदै भनेथेँ, ‘दिदी ! यो सिर्जना उहाँको हो है, शब्द र धुन दुवै ।’

फेरि छोटो प्रतिक्रिया दिइथिन्, ‘राम्रो छ त ! कति राम्रो नि ?’ त्यो प्रश्न गर्दा छेउमै बसेकी अर्की गोरी महिलातर्फ फर्किएको थियो शान्ति ठटालको मुहार । म भने त्यतिबेला उनको स्वर सुन्न लालायित थिएँ । मैले इच्छा जाहेर गरेँ, ‘अब दिदीको सुनूँ न त !?’ शान्तिले छेउकी उनै महिलातर्फ संकेत गर्दै परिचय दिइन्, ‘यी हाम्रो यताकी लोकप्रिय गायिका– विमला सेन्चुरी, मेरी शिष्या पनि । म त गीत सिकाउँदासिकाउँदै लखतरान भाकी छु कि ! विमलाले सुनाउँछिन् नि, ल ?!’

नाइँ भन्ने ठाउँ नै रहेन । मेरो सामुन्नेको हार्मोनियमको मुहार अब शान्ति ठटालतर्फ मोडियो । ‘ल सुनाइदिऊँ त विमला !’ भन्दै गरेकी शान्ति ठटालका औंलाले हार्मोनियमका पर्दालाई सुस्तरी स्पर्श गरे । उनका औंला पनि डी स्केलमै थिए । विमलाले ठटालकै धुनमा रहेका नोर्देन रुम्बाका शब्द गुन्जाइन्, ‘नयाँनयाँ घामको किरण, नयाँनयाँ पात यो…’ प्रताप सुब्बा निर्देशित चलचित्र ‘बाँच्न चाहनेहरू’ को गीत थियो त्यो ।

विमलाको स्वरको प्रकृति शान्ति ठटालको जस्तो उदात्त नभए पनि ठटालको रचनामा रहने स–साना मुर्कीहरूलाई स्वरले सक्दो न्याय गरेको सुनिन्थ्यो । विमलाकै स्वरमा ठटालका अरू केही नयाँ सिर्जनासमेत सुनेपछि मनभरि सांगीतिक मूर्च्छना बोकेर हामी दुवै जना हलबाट बाहिर निस्केथ्यौं । बिहानभरिको झरीले पखालिएर स्निग्ध बनेका रूखका पातमा घामको शुभ्र किरण फैलिरहेको थियो । भित्र गीतमा सुनेझैँ नयाँनयाँ लाग्ने घामको किरणले मनमा नौलो उमंग जगाएथ्यो ।

पहिलो भेटको बिदाइमा ठटालसँग फेरि भेट्ने औपचारिक भाका त राखेथेँ । तर, कहिले ? कुनै टुंगै थिएन । एक जुगपछि त्यो भाका पूरा हुने क्षण आयो । फेरि एक पटक सिमानापारि जाने मौका जु‍र्‍यो । सन् २००५, नोभेम्बर महिनाको आरम्भमा । अम्बर गुरुङको एकल साँझm हुँदै थियो त्यता । ‘गोधूलि’ नाम दिइएको कार्यक्रम, ४ र ५ तारिख दार्जीलिङको जिमखानामा र ९ र १० तारिख गान्तोकमा हुँदै थियो । ती कार्यत्रमलाई अम्बर गुरुङका दौंतरीहरूले ‘फेयरवेल’ कार्यक्रमका रूपमा भव्य बनाउने तयारी गरिरहेका रहेछन् ।

कार्यक्रम तयारीकै सिलसिलामा काठमाडौं आएका अम्बर गुरुङका दौंतरी सङ्गीतकार गगन गुरुङले एक साँझ मसँग भनेथे, ‘आभास भाइ ! यो कार्यक्रमपछि अम्बरले फेरि दार्जीलिङको स्टेजमा उक्लने दिन कहाँ आउला र हौ ?’ यसो भनिरहँदा उनको अनुहारमा भावुकताको खहरे उर्लिरहेझैँ देखिन्थ्यो । गगन दाइले अझै थपेथे, ‘त्यही भएर हो, हामीले यो कार्यक्रमलाई गोधूलि नाम दिएका, बुझ्यौ भाइ ?! हामी त अब गोधूलिका घाम हौं नि त ! डाँडाको डिल छेउ पुगेका !’ उनी झनै भावुक बनेथे ।

पलेँटीलाई फैलाउने सोच लिएर दार्जीलिङ जाने कुरा तय भइसके पनि मिति भने पक्का भएको थिएन । गगन गुरुङको त्यो भावुक अभिव्यक्तिले मलाई अम्बर गुरुङको ‘गोधूलि’ मै दर्शक बन्न प्रेरित गरेथ्यो । सोचेथेँ— त्यो कार्यक्रम दार्जीलिङका सबै प्रतिष्ठित कलाकारसँग एउटै थलोमा भेट्ने सुअवसर पनि हो । त्यसैले भद्रपुर विमानस्थल हुँदै लागेथेँ म दार्जीलिङतिर ।

फिक्कलबाट हाम्रै गुरुकुलकी झुमा लिम्बु पनि यात्रामा मिसिएकी थिइन् । आफ्नै योजनाले ‘गोधूलि’ को श्रोता, दर्शक बनेर दार्जीलिङ पुगेकाले मञ्चको जिम्मेवारीबाट उन्मुक्त थिएँ म । त्यस्तै उन्मुक्तिमा थिइन् झुमा पनि । हाम्रो त्यो यात्रालाई सम्झनयोग्य बनाउन पत्रकार देवेन्द्र भट्टराईको भूमिका पनि उत्तिकै चाखलाग्दो थियो । देवेन्द्र अम्बर गुरुङको जीवन–यात्रा र सङ्गीत–यात्रालाई निकटबाट निहारिरहेका थिए । अम्बर गुरुङको जीवनकथा लेख्ने योजना थियोझैँ लाग्छ । तर, देवेन्द्र र अम्बर गुरुङबीचको सम्बन्ध औपचारिकताको घेरामा मात्र समित थिएन । यी दुईको सम्बन्धले आत्मीयताको गहिराइमा प्रवेश गर्दै गरेको सुगन्ध पाएथेँ मैले ।

कार्यक्रमस्थलमा हामी तीनै जना एकसाथ प्रवेश गरेका थियौं । जिमखाना सांगीतिक कार्यक्रमका निम्ति योग्य स्थान त थिएन । तैपनि सांगीतिक माहोलसँग भलिभाँती परिचित दार्जीलिङ र अम्बर गुरुङका दौंतरीले हललाई अकेस्टिक बनाउने सक्दो प्रयास गरेको देखिन्थ्यो । हल धेरै प्रतिध्वनित नहोस् भनेर झ्याल र छेउकुनामा बाक्ला पर्दा र कपडा झुन्ड्याइएका थिए ।

दर्शकदीर्घाको अग्रभागमा दार्जीलिङका कला साहित्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । उपस्थित अनुहारमध्ये आकर्षक बुट्टे सारीमा सजिएको एउटा अनुहारलाई मैले परैबाट ठम्याएथेँ । झन्डै १२ वर्षपहिले गान्तोकको ‘कल्चर डिपार्टमेन्ट’ मा भेटिएकी शान्ति ठटालको अनुहारमा अहिले पनि उस्तै कान्ति थियो ।

अम्बर गुरुङका दौंतरीहरूले ‘गोधूलि’ साँझलाई उनको गायन–यात्रा मात्र होइन, सम्पूर्ण संगीतिक–यात्रा झल्काउने मनसायले संयोजन गरेका रहेछन् । कार्यक्रम तालिकामा नयाँ–पुराना अनेकौं गायक–गायिकाहरूको नाम समावेश भएको देखिन्थ्यो । तर, मेरा आँखा भने शान्ति ठटालकै नाममा पुगेर टक्क अडिएका थिए । एक त म शान्ति ठटाललाई जीवनमै पहिलोखेप प्रत्यक्ष सुन्न पाउँदै थिएँ । त्यसमा पनि अम्बर गुरुङका सृजनाहरू ।

अनि म उत्साहित नभई कसरी रहन सक्थेँ र ? मभित्र यस्तो मनोलहर उत्पन्न हुनुमा विगतमा मैले सुन्दै आएका गपशपको भूमिका पनि नभएको चाहिँ होइन । ती कति सत्य पनि हुँदा हुन् र कति त असत्य र अर्धसत्य पनि । खासगरेर अम्बर गुरुङ र शान्ति ठटाललाई जोडेर दार्जीलिङ र नेपालको पनि एउटा सांगीतिक सर्कलले अनेक कुराहरूमा रमाउन अझै पनि छोडेको छैन । हुन त चर्चित र आफ्नो विधाको उचाइमा पुगेका व्यक्तित्वबारे समाजमा टीकाटिप्पणी हुनु अस्वाभाविक होइन ।

शान्ति ठटालको गाउने पालो कार्यक्रमको मध्यतिर राखिएको रहेछ । ‘गोधूलि’ को आरम्भ त अम्बर गुरुङको पुस्तालाई अतीतको सम्झनाले लछ्रप्पै भिजाउने शैलीको थियो । हार्मोनियममा साथ दिइरहेका थिए सङ्गीतकार मणिकमल छेत्री । अम्बरका दौंतरीहरू शेखर दीक्षित, गगन गुरुङ, नयन सुब्बा र रूद्रमणि गुरुङहरू अम्बरकै स्वरमा स्वर मिलाउँदै आफ्ना अतीतका मनोरम क्षणका पलहरू उधिनिरहेका थिए, ‘दिन हो प्यारको, यौवन बहारको… !’

मञ्चमा उभिएर गाइरहेका बूढाहरूका मुहारमा नोस्टाल्जिक भावको प्रकाश चम्किरहेको भान परेथ्यो । अहिले उनीहरूलाई सम्झँदा काठमाडौंको भेटमा गगन गुरुङले व्यक्त गरेका वाक्य कान छेउमै गुन्जिरहेझैँ लाग्छ, ‘हामी त अब गोधूलिका घाम हौं नि त… !’ नभन्दै केही वर्षको अन्तरालमै शेखर, अम्बर, गगन, नयन संसारबाट अस्ताउँदै गए । मञ्जुल–रामेशको एउटा गीत छ, ‘जीवन भन्नु के हो र ? बाँच्दा गरिने काम न हो !’ कामले नै त हो दार्जीलिङका बूढाहरूको संगत र त्यो अद्भुत साँझको रसास्वादन गर्न पाएको ।

त्यो अद्भुत माहोलमा मेरो मनको केन्द्रले चाहिँ शान्ति ठटालकै गायनलाई पर्खिरहेथ्यो । उनी भने आफैँमा ध्यानमग्नझैँ देखिन्थिन् । मलाई लाग्छ— सायद उनी रंगमञ्च चढ्नु पहिलेको अत्यास अथवा ‘एन्जाइटी’ सँग जुध्दै थिइन् । कार्यक्रम सञ्चालकमा थिए दुर्गा खरेल । बद्री–दुर्गाको नाममा हामीले सुन्दै आएको लोकप्रिय गीत ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’ का गायक दुर्गाले निकै आदरपूर्वक शान्ति ठटालको नाम उच्चारण गरेथे ।

मेरो दृष्टि छिनछिनमा शान्ति ठटालतिर जाने क्रम रोकिएको थिएन । मञ्चतर्फ जाँदै गरेकी शान्तिले एकआपसमा कसिएका आफ्नै हातलाई निधारसम्म पु‍र्‍याएर ढोग गरिन् । मञ्चको मध्यभागमा पुगेपछि दर्शकतर्फ झुकिन् र हार्मोनियम समाइन् । साँझका नायक अम्बर गुरुङका बारेमा सम्मानित र छोटो उद्गार व्यक्त गरिन् । उनको त्यो उद्गारले अम्बर गुरुङको सङ्गीतप्रति अत्यधिक मोह र सङ्गीतकारप्रति सम्यक् भाव झल्काएथ्यो ।

शान्ति ठटालको इसारासँगै प्रिल्युड सुरु भयो । डी मेजरमा बजिरहेको गिटारको संकेतपछि उनको स्वरले प्रेक्षालय गुञ्जायमान भयो, ‘आकाश झुक्यो धरती उठ्यो, खेल हो कि मेल हो तृष्णा मेट्ने पानी पाए, पिउने हो कि भेल हो…’ आँखा चिम्लिएर ध्यानमग्न गाइरहेकी शान्तिको स्वरमा उमेरको छाया त देखिन्थ्यो तर भाव प्रवाहको मूर्च्छनाले भने अनन्त गहिराइतर्फको यात्रा गर्दै गरेको अनुभूत हुन्थ्यो । मलाई अम्बर गुरुङका कतिपय गीतका हरफहरू ‘सेमी एब्स्ट्र्याक्ट’ लाग्छन् ।

सुन्दै गएपछि तिनले बोकेका कलात्मक तहहरू सुस्तरी खुल्दै जाने खालका । शान्ति ठटालबाट पहिलोखेप सुन्न पाएको ‘आकाश झुक्यो’ लाई पनि मैले त्यही खालको रचना महसुस गरेथेँ । शान्ति ठटाल मञ्चमा पुगेपछि ‘सम्हालेर राख’ छुट्ने कुरै थिएन । यो गीतका बारेमा शान्ति आफैँले भन्ने पनि गरेकी छन्, ‘यो त मेरो एन्थम नै भयो नि ! बरु न्यासनल एन्थमले छोड्ला सम्हालेर राखले कहिल्यै छोड्दैन !’ मलाई लाग्छ— रोमान्टिक भावको यो सुन्दर रचना शान्ति ठटालकै जीवन–यात्रा निम्ति मात्र बनेको थियो ।

शान्ति ठटालसँगै उताका अनेक गायक गायिकालाई मैले पहिलोपालि सुनेको कर्णप्रिय साँझ थियो त्यो । त्यही साँझ, दार्जीलिङका धेरै कलाकारका कानमा पलेँटीको सोच प्रवेश गराउने अवसर पाएको हुँ मैले । कर्म योञ्जन, कुमार सुब्बा, बद्री–दुर्गा खरेल, पेमा लामा, दाबा ग्याल्मो, डेजी बराइली, चन्दन लोम्जेलजस्ता अनेक मूर्धन्यहरूसँगको प्रथम भेटको क्षण थियो त्यो ।

कार्यक्रमपछि जिमखानाबाट बाहिरिँदै गरेकी शान्ति ठटालसँग मैले भनेथेँ, ‘अम्बर गुरुङको सङ्गीत र त्यसभित्रको भावनात्मक अभिव्यक्तिलाई तपाईंले मात्र न्याय गर्न सक्नुहुँदो रैछ !’ तर, उनीबाट भने मेरो त्यो धारणाले स्वीकृति पाएनथ्यो । उन्मुक्त हाँसोका साथ उनले भनेकी थिइन्, ‘त्यसो त हैन हौ भाइ ! उहिले तन्नेरी स्वरमा त के कसो कुन्नि ? अहिले त हैन है !’ उनको आत्ममूल्यांकनले म झन् प्रभावित भएथेँ । त्यसयता शान्ति ठटालसँग धेरैखेप पलेँटी कसेका अनुभव र अनुभूति छन् ।

उनको सांगीतिक सृजनशीलताबाट मेरो आफ्नै सांगीतिक–यात्रामा परेको प्रत्यक्ष प्रभाव पनि उल्लेख्य ठान्छु । शान्ति ठटालको ‘क्यान्टटा’ ‘एउटा नीलो सूर्यास्त’ बाट प्रभावित भएर मैले ‘नीरचरीको कोरस’ बुनेको हुँ । ईश्वरबल्लभको रचनाशीलताबाट पनि प्रभावित छ, ‘नीरचरीको कोरस’ । नेपाली नामको मोह जागेर हो, ‘क्यान्टटा’ लाई मैले अहिले ‘काव्य–कर्खा’ भन्न थालेको छु ।

गएको हप्ता शान्ति ठटालसँग भिडियो वार्ता गरेथेँ । उनी विगतमा आफूले भाका भरेका मुनामदनका धुनहरू सम्झने प्रयत्नमा रैछिन् । एक वर्षपहिले पलेँटी मार्फत आफैँले गरेको अनुरोधमा उनको जाँगर जागेको देख्दा, खुसीको सीमा रहेन । कहिले कतै सङ्गीतबाट टाढा हुन खोज्दा आठ दशक पार गरेकी यिनै शान्त भावकी सङ्गीत–मल्लिकाको क्रियाशीलताले मेरो अन्तरमनलाई बारम्बार झक्झक्याउँछ र आफ्नो जीवनलाई पनि निरन्तर सङ्गीतमै अल्झाइराखूँ, बनाऊँछ ।


[email protected]/कोसेली-कान्तिपुर

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन