भाजपाको असली अनुहार

प्रतिक्रिया

10 वर्षको अवधिमा दुई-दुईपल्ट गोर्खाहरूले चुनाउमा सघाउँदा भाजपाले किन गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर भनेनन् ? यदि गोर्खाहरूको समस्या राज्यको विषय थियो भने विमल गुरूङ/ रोशन गिरीहरूको काँधमा बन्दूक थम्याएर किन गोर्खाहरूलाई राज्य सरकारविरूद्ध आन्दोलन गर्न उक्साइरहे?


विनय तामाङ


गोर्खाल्याण्डको आश्वासन दिएर भाजपाले चुनाउ जितेको होइन भनेर भाजपाले गोर्खाहरूको अघाड़ि आफ्नो साँचो अनुहार देखाइदिएको छ। भाजपाका राज्यसभा सासंद स्वपन दासगुप्तलाई पत्रकारहरूले गोर्खाल्याण्डको मुद्दाबारे भाजपाको अड़ान सोध्दा यसो भनेका हुन्। भाजपाले कहिल्यै गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन तर शक्तिशाली क्षेत्रीय स्वायत्त शासनको कुरा गरेको हो भनेर उनले गोर्खाल्याण्डको मुद्दालाई सोझै नकारिदिए, जो गोर्खाहरूको निम्ति अति नै दुर्भाग्यपूर्ण बयान हो।

भाजपाले गोर्खाल्याण्डको सन्दर्भमा गोर्खाहरूलाई दिएको आश्वासनकै कारण दार्जीलिङवासीले दुई-दुई जना सांसद भाजपालाई दिएको हो।यसबाहेक देशभरिका गोर्खाहरूले पनि भाजपाको सोही आश्वासनमाथि विश्वास गरेर विभिन्न गोर्खाबहुल राज्यहरूमा भाजपालाई सांसद बनाउन सघाएको हो। तर 10 वर्षसम्म गोर्खाहरूलाई गोर्खाल्याण्डकै आशा भरोषामा बाँधिराखेर अहिले आएर यस्तो विश्वासघाती बयान दिएकोमा भाजपा सांसद अनि भाजपा पार्टीको घोर विरोध हामी गर्दछौं।

यदि भाजपाले गोर्खाहरूलाई गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन भने प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढ़ीको जनसभामा आएर गोर्खाको सपना मेरो सपना भनेर कुन सपनाको कुरा गरेका थिए ? 2007 अनि 2014 को लोकसभा चुनाउमा भाजपाले आफ्नो चुनावी घोषणापत्रमा दार्जीलिङ अनि तराई-डुवर्सवासीको लामो समयदेखि थाँतीमा रहेको मागलाई सहानुभुतिपूर्वक निरीक्षण गरी समाधान गरिनेछ भनेर किन उल्लेख गरे?

केन्द्र सरकारले गोर्खाल्याण्ड निरीक्षण कमिटी गठन गर्ने आश्वासन किन दिए? लोकसभा चुनाउको प्रचारको समयमा नै पूर्व सांसद जसवन्त सिहँले गोर्खाल्याण्ड ले के रहेगें भनेर हजारौं गोर्खाहरूको सामुन्ने भनेका हुन्। सांसद एसएस आहलुवालियाले समेत चुनावी सभाहरूमा सैयौंपल्ट गोर्खाल्याण्डको कुरा गरेका हुन्। ती सबै बयानहरू के झूटो हुन्?

यसबाहेक गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर पनि भाजपाका राज्यसभा सांसद स्वपन दासगुप्तले पत्रकारहरूलाई बयान दिएका छन्। 10 वर्षसम्म गोर्खाहरूलाई राजनैतिक स्वार्थको निम्ति प्रयोग गरेर अहिले आएर गोर्खाहरूको समस्या राज्यको विषय हो पन्सिन खोज्ने भाजपाको यो छेपारे नीतिको पनि हामी घोर विरोध गर्दछौं।

10 वर्षको अवधिमा दुई-दुईपल्ट गोर्खाहरूले चुनाउमा सघाउँदा भाजपाले किन गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर भनेनन् ? यदि गोर्खाहरूको समस्या राज्यको विषय थियो भने विमल गुरूङ/ रोशन गिरीहरूको काँधमा बन्दूक थम्याएर किन गोर्खाहरूलाई राज्य सरकारविरूद्ध आन्दोलन गर्न उक्साइरहे?

गोर्खाहरूलाई यति लामो समयसम्म राज्य सरकारसित बगावत गर्न लगाएर अहिले आएर गोर्खाहरूको समस्या राज्यको विषय हो भन्छन् भने भाजपा 10 वर्षको आन्दोलनको अवधि शहीद भएका गोर्खे दाजु-भाईका हत्यारा हुन्।गोर्खा युवा-पीढ़िले गोर्खाल्याण्डको निम्ति भनेर समर्पण गरेको सुनौलो भविष्य बिगार्ने पनि भाजपा नै हुन्। किनभने विमल गुरूङले भाजपाकै भरोषामा पहाड़मा हिस्रक आन्दोलन गरेका हुन् र अहिले पनि विमल गुरूङलाई आश्रय दिएर राख्ने पनि भाजपा नै हुन्।भाजपाले यी सबैको जिम्मेवारी लिनुपर्छ।

गोर्खाहरूको आशा- भरोषा, विश्वास सबै चुसिसकेर भाजपाले अहिले आएर आफ्नो असली रङ्ग देखाइरहेका छन्। भाजपाको यो छेपारे रङ्गमा भुल्लिएर विमल गुरूङ, रोशन गिरीले गोर्खाहरूको 10 वर्ष बेकार फ्याँकिदिएका छन्। अब राष्ट्रभरिका गोर्खाहरूले विश्वास, आशा, भरोषामाथि भाजपाले गरेको विश्वासघातले बद्ला लिनुपर्नेछ। भाजपालाई हरेक क्षेत्रमा गोर्खाहरूले बहिस्कार गरेर प्रतिशोध लिनुपर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन