हामीसँग 80 प्रतिशत जनता छन्-जीएम गुरुङ

गान्तोक, 24 फरवरीः एसडीएफ पार्टीका वरिष्ठ नेता तथा सड़क एवं पुल विभागका मन्त्री जीएम गुरुङले विश्वमा शान्तिपूर्ण राज्यको रूपमा स्थापित भएको सिक्किमको नाम एसकेएम पार्टीको सिक्किम बन्दले खतरामा पर्न जानसक्ने आशङ्का गरेका छन्। “हामीले सिक्किममा शान्ति, भाइचारा र साम्प्रदायिक सद्भावना बचाएर राखेका छौं। यी सबै कारणले गर्दा सिक्किमको नाम विश्वमै फैलिएको छ, तर यो छवि ध्वंस बनाउने प्रयास हुँदैन। किन यस्तो गरिँदै?”-एसकेएमलाई प्रश्न गर्दै मन्त्री गुरुङले भनेका छन्। मन्त्री गुरुङले आइतवार दक्षिण सिक्किमको राङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्रअन्तर्गत लोअर श्रीपताममा एउटा चुनावी प्रचार सभालाई सम्बोधन गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भनेका हुन्।

उनले अझ भने, “सिक्किमे जनता सधैं शान्ति र सुरक्षा चाहन्छन्। एसडीएफ पार्टीको 27 वर्ष लामो इतिहास र 25 वर्षको शासनमा हामीले सिक्किमे जनतालाई शान्ति र सुरक्षा दिएका छौं। जनतालाई हाम्रो कार्यक्रम, नीति र हाम्रा पार्टी कार्यकर्ताबारे सबै कुरा थाहा छ। एसडीएफ पार्टीले दिएको शान्ति र सुरक्षालाई बिथोल्ने प्रयास हुँदैछ।” एसकेएम पार्टीले आगामी 28 फरवरीको दिन एकदिने सिक्किम बन्द डाकेको छ भने 25 फरवरीभित्र राज्य सरकारले 35 वटा माग पूरा गर्नुपर्ने अल्टिमेटम दिएको छ, जसमा सिक्किम विधानसभामा लिम्बू-तामाङको सीट आरक्षणको मुद्दा पनि रहेको छ। यस सम्बन्धमा मन्त्री गुरुङले भने, “एसकेएमले सिक्किम बन्द डाक्नु न्यायसङ्गत छैन। हामी बन्दको पक्षमा छैनौं। त्यसैले जनतालाई सचेत बनाउन एसडीएफले एउटा पुस्तिका नै प्रकाशित गरेर जनतालाई वितरण गर्दैछ। एसकेएमको बन्द किन न्यायसङ्गत छैन भन्ने कुराबारे हामी जनतालाई बुझाउँदैछौं। बन्दको नाममा सिक्किममा केही हिंसा-हत्या भयो भने यसको जिम्मेवारी पीएस गोले र एसकेएम पार्टीले लिनुपर्छ।” एसडीएफ पार्टीले अप्रजातान्त्रिक गतिविधि र हिंसामा विश्वास नगर्ने पनि बताउँदै भने, “हामी सत्तामा बसिरहनुपर्छ भन्ने केही छैन। यदि जनताले हाम्रो सिद्धान्त र कार्यक्रम बुझेर भोट दिएर पुनः सत्तामा राख्छन् भने ठीकै छ, तर षड़यन्त्र, हिंसा, झगड़ा र झूटो आश्वासन दिएर हामीलाई सत्तामा जानु छैन। अब जनताको हातमै छ, कुन बटन दबाउनुपर्ने हो।” 90 दिनभित्र चुनाउ हुने बताउँदै उनले भने, “एसडीएफ पार्टी चुनाउलाई लिएर आत्तिएको छैन। हामीसँग 80 प्रतिशत जनता छन्। 10 प्रतिशत विपक्षीमा छन् अनि 10 प्रतिशत साइलेन्ट छन्। जनताले पुनः एकचोटि हामीलाई मौका दिने हामीलाई विश्वास छ।”

राङ्गाङ-याङ्गाङ क्षेत्रमा चुनाउ प्रचारको निम्ति प्रभारी नियुक्त भएका मन्त्री गुरुङले क्षेत्र विधायक रूपनारायण चामलिङमाथि पनि कटाक्ष गरे। उनले भने, “काइँला र ठूलेबीच कुनै राजनीतिक सम्बन्ध नरहेको विषयमा याङ्गाङका जनताले सबै कुरा बुझिसकेका छन्। दुवैजनाका आ-आफ्नै नीति छन्। पवन चामलिङले याङ्गाङ क्षेत्रमा गरेको विकासलाई हेरेर याङ्गाङका जनताले पुनः एसडीएफ पार्टीलाई भोट दिनेछन्।”

कार्यक्रममा लोअर श्रीपतामका 35 परिवारले एसकेएम र सिक्किम राज्य मञ्च पार्टी त्यागेर एसडीएफको झण्डा समाते। यस अवसरमा क्षेत्रस्तरीय समितिकी अध्यक्ष कुमारी थापा र पार्टीका प्रचार-प्रसार महासचिव डीबी कटुवालको पनि उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया