मुम्बईकी नेपाली भाषी महिलाहरूको पहल ‘हाम्रो छहारी’

मुम्बई, 24 फरवरी।  भारतको आर्थिक राजधानी मुम्बईमा नेपालीभाषीहरूको सेवा र सहयोगका लागि हाम्रो छहारी नामकरण गरेर एउटा परिकल्पना सुरू भएको छ। विशेषतः विभिन्न कारणवश यो महानगरीमा निम्न अनि मध्यमवर्गको परिवारका नेपालीभाषी मानिसहरू आउने गर्दछन् जसमा अधिकतर बिमारका रोगीहरू हुन्छन्। यसरी नै कतिपय उच्च विद्यालय, कलेज, तालिमकेन्द्र आदिमा भर्तीका लागि पनि विभिन्न स्थानबाट यहाँ मानिसहरू आउने गर्दछन्न्। यति मात्र नभएर विभिन्न रोजगारका माध्यमहरूको खोजीमा यहाँ प्रतिभावान् युवाहरू आउँदछन्। फिल्म उद्योग, टेलिभिजन, रियलिटी शो आदितिर भाग्य अज्माउन र सङ्घर्ष गर्न पनि बलिउडमा नेपालीभाषी युवा प्रतिभाहरू आउँदछन्। यसरी सरकारी सेवामा स्थानान्तरण हुनेहरूलगायत तीर्थाटन वा भ्रमणका लागि यहाँ आउनेहरूको सङ्ख्या पनि त्यति नै धेर हुँदछ। भारतको यस बृहत्तम महानगरीमा आउने नेपालीभाषीहरू उपचारका लागि डाक्टर वा अस्पतालको एपोइन्टमेन्ट, बाटाघाटाको जानकारी, खर्चपात, बस्ने ठाउँ, रेल-हवाइजहाजको टिकट आदिबारे चाहिने सूचनाको अभावमा धेरै असुबिधामा परिरहेको समस्या दीर्घ दिनदेखि सबैले अनुभव गरिरहेका छन्। यसरी मुम्बई आउन बाध्य बनेका पहाड़, तराई, डुअर्स र सम्बन्धित क्षेत्रका मानिसहरूलाई सहयोग पुऱ्याउनका लागि यहाँको बसिबियाँलो परिवारले सामाजिक दायित्वको आफ्नो दर्शनलाई महत्त्व दिएर घरेलु महिलाहरूमार्फत् हाम्रो छहारी नाम गरेर एउटा परिकल्पना तयार गरेको छ। यस योजनाअन्तर्गत पाइक परेको कुनै एउटा स्थानमा हालमा किराइमै भए पनि कोठा लिएर उपर्युक्त आवश्यकताहरू टार्नका लागि सहायता केन्द्रको रुपमा हाम्रो छहारी सुरू गर्ने जसलाई निकट भविष्यमा अन्य सामाजिक संस्था, प्रशासन अनि शुभचिन्तकहरू सबैको सहयोग लिएर स्थायी भवनमा परिणत गर्ने उद्देश्य लिएर व्यावहारिक काम थालिएको छ। यस महत् कार्यका लागि नेपाली-गोर्खा सेवा समिति गठन गरिएको छ जसमा हालका लागि महिलाहरूको एउटा अस्थायी समिति बनाइएको छ। उक्त समितिमा मुम्बईका सामाजिक कार्यकर्ता साकिनाकाकी शकुनसिँह राईलगायत एन्टप हिलकी स्वस्तिका छेत्री, कोलाबाकी निलु दूतराज, अन्धेरीकी लक्ष्मी थापा, ननी मुम्बईकी बन्दना छेत्री, माहुलकी माया छेत्री आदि रहेका छन् भने अन्य इच्छुक महिलाहरूलाई आगामी सभामा संलग्न गराइने निर्णय लिइएको छ। सोही सभामा यस अस्थायी समितिका पदाधिकारीहरू पनि मनोनीत गरिइने सहमती जनाइएको छ।

यसबारे हिजो बसेको एउटा महत्त्वपूर्ण सभामा विभिन्न विषयहरूमाथि विशद छलफल भएको छ। उक्त छलफलमा यस परियोजनाका लागि सबै स्थानका इच्छुक नेपालीभाषीहरूसहित अनेपाली सहयोगीहरूको पनि सहायता लिने, समितिलाई शीघ्रातिशीघ्र सरकारी पञ्जीकरण गराउने, क्षेत्रिय प्रतिनिधिहरू नियुक्त गर्ने काम सुरू गरिहाल्ने निर्णय भयो भने परिकल्पनाका लागि बजेटमाथि पनि छलफल गरियो। यसरी नै समितिको संविधान, शपथग्रहण, प्रचार-प्रसार, ब्याङ्क खाता आदिबारे पनि सभामा प्रमुख रुपले छलफल गरियो। उचित स्थानमा कोठा खोज्ने कार्यका लागि रियल इस्टेट बेपारी आईडी सिँहको अगुवाइमा काम सुरू गरिहाल्ने निर्णय पनि सभाले लियो। उक्त हाम्रो छहारी आरम्भ गरेपछि यसलाई यथाशीघ्र आफ्नो बलबुतामा दिगो राख्नका लागि यस केन्द्रमा विभिन्न जातीय सांस्कृतिक, धार्मिक, शैक्षिक तथा तथा अन्य कार्यक्रमका लागि चाहिने सरसामानहरूको बिक्री केन्द्र स्थापना गरिइने निर्णय लिइयो। यसरी नै यहाँ नेपाली पुस्तकहरूको एउटा वाचनालय पनि स्थापना गरेर मुम्बईमा रहेर आफ्नो मातृभाषामा पढ़्न अनि बोल्न वञ्चित भइरहेका शिशु तथा युवाहरूलाई सहयोग पुऱ्याइने पनि विचार गरियो।

सभालाई सम्बोधन गर्दै सामाजिक कार्यकर्ता पदम भूलले महत्त्वपूर्ण सुझाउहरू अघि राखे अनि पञ्जीकरणका लागि आफ्नो पक्षबाट तुरुन्तै कार्याबाही गरिने प्रतिश्रुति दिए। यसरी नै नेपाली संस्कृति परिषद्का राज्याध्यक्ष कमल सिँहले पनि समितिको हरेक कार्यमा पारदर्शी रहनुपर्ने विषयमा जोड़ दिँदै मुम्बईका अन्य सामाजिक संस्थाहरूलाई पनि यसबारे अवगत गराएर उनीहरूको इच्छाअनुरुप यस अभियानमा संलग्न गराउनुपर्ने सुझाउ राखे। बसिबियाँलो-का सक्रिय सहयात्री केशव सापकोटाले आर्थिक अनुशासन नै मेरुदण्ड हुनाले समितिको हितविरुद्ध कसैले पनि स्वार्थका लागि कुनै काम गर्नु नहुने सुझाउ राखे अनि आर्थिक लेनदेनमा सतर्कता अप्नाउनुपर्ने बताए। दीर्घ दिनदेखि मुम्बईमा रहेर आइरहेका नगरकट्टा, डुअर्सनिवासी युवा सामाजिक कार्यकर्ता बिक्रम छेत्रीले आर्थिक लेनदेनलाई पारदर्शी राख्नका लागि तकनिकी उपायहरू बताए। युवा कास्टिङ डाइरेक्टर सागर शर्माले समितिका आगामी कार्यक्रमहरू तय गरिनुपर्ने बताउँदै विभिन्न सुझाउहरू राखे। बसिबियाँलो-का अन्य सहयात्रीहरू परिक विश्वकर्म, ठाकुर प्रसाद अधिकारी, बिपिन दाहाल, विकास दूतराज आदिले पनि यस पवित्र अभियानमा आफुहरू जोड़िन पाउनु र समाजको सेवा गर्न पाउनु महत्त्वपूर्ण विषय हो भन्ने बताउँदै व्यक्तिगत तौरमा यथासक्य सहयोग पुऱ्याउने बताए। कतिपय कारणवश यस महत्त्वपूर्ण सभामा उपस्थित हुन नसके तापनि सर्वसहमतीको निर्णयलाई शिरोपर गर्ने वचन दिने सामाजिक कार्यकर्ताहरू मिजोरमका निर्मल पुन, आईडी सिँह, रामसिँह तिरुवा आदिका विचारहरूलाई स्वागत जनाइयो। बसिबियाँलो-का नाइके हीरा छेत्रीले सञ्चालन गरेको सभामा यस परिकल्पनाबारे उनले तयार गरेको पावर पोइन्ट प्रेजेन्टेसन प्रदर्शनी गरेका थिए।

उपस्थित महिलाहरूको पक्षमा बोल्दै शकुन सिँह राईले बसिबियाँलो-को तर्फबाट गत एक सालदेखि नै महिलाहरूले समाजोपयोगी कामहरू गरेर आइरहेको बताइन् जसमा यहाँ नियमित रुपमा मासिक भेटघाट भइरहेको, विभिन्न स्थानबाट रोग उपचारका लागि आउने असहायहरूलाई सहायता पुऱ्याउने काम भइरहेको, स्थानीय नेपालीभाषीहरूको परिवारमा परेको दुर्घटना-मरौपरौ जस्ता प्राकृतिक प्रकोपहरूमा उपस्थिति दर्ता गरेर यथासक्य सहयोग पुऱ्याइरहेको, अन्य सामाजिक संस्थाहरूले आयोजना गर्ने गरेको भानुजयन्ती, गोर्खा मेला, दुर्गा पुजा, गणेशोत्सव, तीज आदिमा पनि भाग लिएर सबैसित मित्रतापूर्ण सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको उदाहरण प्रस्तुत गरिन्। यसरी अगावैबाट आफ्नो सामाजिक दायित्व निर्वाह गरेर आइरहेका बसिबियाँलो-का महिलाहरू हाम्रो छहारी परिकल्पनाअन्तर्गत आजदेखि नै औपचारिक रुपमा सामाजिक कर्ममा अघि आउने उनले बताइन्। यस कामका लागि उनीहरू आफुसित मनमिल्ने सबैसित हात मिलाउन तयार रहेको बताइन्।

सभाले हाम्रो छहारी नाम गरेर सुरू गरिइने यस परिकल्पनाको लोगो डिजाइनका लागि प्रसिद्ध युवा चित्रकार तथा मूर्तिकार आमिर सुन्दासलाई दायित्व सुम्पिने निर्णय लिइयो भने यस अभियानसित जोड़िनका लागि अघिबाटै सहयोग र समर्थन जनाइसक्ने शुभचिन्तकहरूलाई संरक्षक, सल्लाहकार आदिका रुपमा मनोनीत गरिइने निर्णय लिइयो। समाजोपयोगी उद्देश्यका लागि स्वेच्छापूर्वक यसरी अघि आउन रुचाउने सबै व्यक्तिहरूको सङ्क्षिप्त जानकारी छेत्रीले राख्दा सबैले हार्दिकतापूर्वक स्वागत जनाए।

समितिको आगामी सभाअघि नै निष्पादन गरिसक्नुपर्ने प्राथमिक कामहरूको सूची तयार गरेर सबैलाई दायित्व वितरण गरिएपछि सभा बर्खास्त गरियो।

हाम्रो छहारी अभियानको पक्षमा शकुनसिँह राई र स्वस्तिका छेत्रीद्वारा जारी प्रेस बयानमा उल्लेख गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया