दरामदिनको ‘गजल साँझ’-मा गुञ्जिए अनिल

सिक्किम, 25 फरवरी।


सानैदेखि भजन अनि गीत गायनमा आफ्नो अलग्गै स्थान बनाइसकेका अनिल प्रधानले आइतबार साँझ प्रस्तुत गरेको गजल गायनले सिक्किमको दरामदिन गजलमय बन्यो। दरामदिन निवासी अनिल प्रधानले यस अघिसम्म गीत अनि भजनहरू प्रस्तुत गर्दै आएका थिए भने यो गजल साँझ नौलो अभ्यास हो।

स्थानीय युवाहरूले आइतबार दरामदिनमा गजल साँझ आयोजना गरेका थिए। जसमा अनिल प्रधान अनि यात्री व्याण्डको प्रस्तुतीसितै स्थानीय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा दरामदिन समष्टिका क्षेत्रीय विधायक डीएन शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सीएलसी अध्यक्ष पीबी राई, जीएसएस स्कूलका प्राचार्य एवं अन्य अतिथिहरूको विशेष उपस्थिति थियो।

कार्यक्रममा गायक प्रधानले एक दर्जन भन्दा धेर हिन्दी नेपाली गीत-गजलहरू प्रस्तुत गरेका थिए।

अतिथिहरूसितै स्थानीयहरूको उपस्थितिमा सम्पन्न गजल साँझलाई वृन्दा प्रधानले सञ्चालन गरेकी थिइन्। कार्यक्रमपछि पत्रकारहरूसितको कुराकानीमा गायक प्रधानले भने अनुसार गजल साँझको उद्देश्य मनोरञ्जन दिनु मात्र होइन। गीत सङ्गीतको माध्यमबाट युवाहरूलाई सुमार्गमा ल्याएर सृजनात्मक कार्यहरूमा अग्रसर गराउनु पनि हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया