देशलाई झुक्न दिन्न –मोदी

दिल्ली, 26 फरवरी


भारत-पाकिस्ताको सम्बन्धमा चिसोपना बढ्ने क्रम तीव्र बन्यो।कस्मिरको पालुवामा भएको आतङ्कवादी हमलापछि राष्ट्रवादी नारालाई तेज बनाएको भारतको सेनाले मङ्गलबार बिहानै पाकिस्तानको बालाकोट क्षेत्रमा बम आक्रमण गरेको छ ।

वायुसेनाको सुविधा सम्पन्न विमानमा आक्रमण गर्न गएको भारतको सेनाको जहाज करिब २ मिनेट समय मात्रै पाकिस्तानी क्षेत्रमा टिक्न सकेको पुष्टी भएको छ ।

भारतीय विमानले बम आक्रमण गरेको र त्यसबाट कुनै धनजनको क्षति नभएको पाकिस्तानी सेनाका प्रवाक्ता जनरल आसिफ गफुरले ट्वीट गरेर स्वीकारेका छन् ।

गत हप्ता कस्मिरमा भएको आतङ्कवादी आततायी हमलापछि बदला लिने घोषणा गरेर चुनावी प्रचारमा हिडेको मोदी सरकार मङ्गलबार बिहानै करिब ३ बजेको समयमा पाकिस्तानको बालाकोट क्षेत्रमा पुगेर करिब हजार किलोको बम खसालेको हो।

यससँगै प्रधानमन्त्री नरेन्द्र मोदी राजस्थानमा भाजपाको चुनावी सभालाई सम्बोधन गर्न पुगेका छन् । मोदीले सभालाई सम्बोधन गर्दै पुनः राष्ट्रवादी नारालाई उचालेका छन् । उनले अघिल्लो लोकसभा चुनावमा लगाएको राष्ट्रवादी नारालाई फेरि दोहोर्‍याएका हुन् ।

‘२०१४ मा मैले यो देशका लागि गरेको प्रतिबद्धता देशको माटोलाई जोगाउन कुनै कसर बाँकी राख्दिन भन्ने थियो’ उनले भनेका छन्, ‘यो समय त्यही नारालाई फेरि दोहोर्‍याउने बेला हो । यो देशको माटोको बास्ना आउँछ मलाई, यो देश मेटिन दिन्न । यो देशलाई रोक्न दिन्न । यो देशलाई झुक्न दिन्न ।’

के हो खास घटना?

मङ्गलबार बिहान भारतीय वायुसेनाको लडाकु विमानले पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको छ।  भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार कस्मिरको सीमाक्षेत्र पाकिस्तानी भू-भाग बालाकोटमा  आतंकारीको अखडामा भारतीय वायु सेनाले आक्रमण गरेको दाबी गरिएको छ। १ हजार किलो विस्फोटक पदार्थ खसालिएको र आक्रमणमा परी ३०० भन्दा बढी आतंककारी मारिएको दाबी गर्दै भारतीय सञ्चार माध्यामहरुले खबर दिएका छन्। बम हमलाको घटनालाई भारतीय सञ्चारहरुले सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिरहेका छन् ।

भारतले कश्मीरको पुलवामा ज्यान गुमाएका सुरक्षाकर्मीको खुनको बदला लिएको भन्दै भारतीय टेलिभजन, अनलाइनहरुले उत्तेजित खबरहरु दिइरहेका छन् ।  फेब्रुअरी १४ मा ४६ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप भारतले लगाउँदै आएको छ।

बम आक्रमणको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर हल्ला गरिए जस्तो कोही हताहती नभएको पाकिस्तानी पक्षको दाबी छ ।   पाकिस्तानमा आक्रमण गर्न आएको भारतीय वायु सेनाको लडाकु विमान पाकिस्तानको प्रतिरोधपछि भागेको जनाइएको छ। पाकिस्तानी सुरक्षा बलका प्रवक्ता मेजर जेनरल आसिफ घाफुरले भारतीय सेनाले पाकिस्तानमा छिरेर बम खसालेको पुष्टि गरेका छन् ।

उनले ट्वीटरमा पोस्ट गर्दै  पाकिस्तानको मुज्जफरवाद क्षेत्रमा भारतीय लडाकु विमान प्रवेश गरेको र पाकिस्तानी एयरक्राफ्टले तत्काल प्रतिरोध गरेपछि खुल्ला ठाउँमा बम खसालेर भागेको जानकारी दिएका छन्।

घाफुरले त्यसबाट कुनै भौतिक संरचना तथा मानवीय क्षति नभएको  दाबी गरेका छन। पाकिस्तानी प्रधानमन्त्री विदेशमन्त्री शाह मेहमुद क्यूरेशीले एक भिडियो सन्देश दिँदै भारतको यो हर्कत निन्दनी भएको बताएका छन्। उनले भारतले ‘लाइन अफ कन्ट्रोल’को उलंघन गरेको भन्दै आत्मरक्षाका लागि यसको उचित जवाफ दिने अधिकार पाकिस्तानसँग रहेको दाबी गरेका छन्। यसबारे निर्णय गर्नका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको उनले सन्देशमा भनेका छन् ।

मोदी सरकारका  कृषि तथा किसान कल्याण राज्य मन्त्री गजेन्द्रसिंह शेहवतले ‘यो मोदीको हिन्दुस्तान हो, अरुको घरमा घुस्छ पनि हान्छ पनि’ भन्दै, उत्साहित हुँदै ट्वीट गरेका छन्।’  भारत सरकारले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सुरक्षा परिषदको बैठक बोलाइएको खबर भारतीय सञ्चार माध्यामले दिएका छन् ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन