विनय गुटले गोर्खा विद्यार्थीहरू ‘चोर’ सावित गरेको छ, झट्ट माफ मागोस्: गोजविमो

दार्जीलिङ, 26 फरवरी


गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका साङ्गठनिक सचिव सन्जीव सुबेदी छेत्रीले भोलिदेखि शुरु हुन् लागिरहेको उच्च माध्यमिक परिक्षाको निम्ति पहाड, तराई अनि डुवर्सका सम्पूर्ण परीक्षार्थीहरूलाई गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको पक्षमा शुभकामना दिँदै विनय गुटले विद्यार्थीहरूलाई ‘चोर’ बनाएको आरोप लगाएका छन्।

‘गोर्खाहरूले देशको महत्वपूर्ण ओहदामा पुगेर राष्ट्र सेवा गर्नुपर्ने संकल्प मनमा लिएर विद्यार्थीहरू अघि बढ्नुपर्छ भन्ने आव्हान हामी गर्न चाहन्छौं। यसै सन्दर्भमा आज बिनय तामाङ गुटको विमोको “चोरेर होइन पढेर परीक्षा दिने विमोको आव्हान” भन्ने एउटा अति नै दुखद अनि गोर्खा विद्यार्थी, अभिभावक अनि शिक्षकहरूलाई अपमानित गरेको वक्तव्य छापामा आएको रहेछ,’ उनले भनेका छन्, ‘गोर्खा जनमुक्ति विद्यार्थीले मोर्चा यस वक्तव्यको जोरदार खण्डन गर्दै वक्तव्य दिने विमो अध्यक्ष दिपेन छेत्री, उपाध्यक्ष विकास शर्मा अनि सचिव राम रोकाले परीक्षार्थी लगायत शिक्षकवर्गलाई झट्टै माफी माग्नु पर्छ।’

उनले अझ भनेका छन्, ‘हामी पनि नकल अर्थात् परिक्षामा चोरीको पक्षमा छैनौं, तर “बोर्ड परिक्षाहरूमा विद्यार्थीहरूले  चिट लगेर चोर्ने चलन बन्द गरिनुपर्छ…” भनेर वक्तव्य दिनु गोर्खा विद्यार्थीहरू चोरेर पास हुने गरेको छ भन्ने आरोप हो। हामी गोर्खा जाति मेहनती जाति हो अनि हाम्रो जातिले शिक्षाको क्षेत्रमा पनि मेहनत गर्दै आएको छ। आज हाम्रा विद्यार्थीहरू कुनै कुरामा कम छैनन्। हाम्रा युवाहरू पढेर शिक्षित भएपनि राज्य नीतिको कारणले बेकारी बन्नु परेकोमा ब्रेनड्रेन भएर बाहिर तिर गएर राम्रा कामहरूमा संलग्न छन। तर विमोको वक्तव्यले सबै विद्यार्थीले नकल गर्ने गरेको आरोप लागेको छ भने यस वक्तव्यले विद्यालयहरूमा शिक्षकहरूले राम्रो शिक्षा नदिएको बताउन खोजिएको छ। यसको साथै आफ्नै नानीहरूको शिक्षा-दिक्षाप्रति गम्भीर रहेका वर्तमान युगका युगानुकुल अभिभावकहरू पनि विमोको वक्तव्यले लज्जित हुनपरेको छ।’

सुवेदीले  विनय गुटको वक्तव्यले पहाड, तराई अनि डुवर्सका गोर्खा विद्यार्थीहरूको छविलाई राज्य तथा देशको अन्य भागहरूमा धमिल्याउने काम गरेको बताएका छन्।

‘ यसैले हामी माग गर्दछौं कि विनय तामाङ गुटको विद्यार्थी मोर्चाले पहाडको शिक्षाको छवी बिगार्ने वक्तव्य दिएकोमा झट्टै एउटा माफिनामा जारी गर्दै यस भेकका परीक्षार्थी, शिक्षकगण अनि अभिभावकहरूलाई माफी माग्नु पर्नेछ,’ उनले भनेका छन्,  ‘हुनसक्छ यो वक्तव्य दिनेहरूकोमा विद्यार्थी छँदा चिट चोर्ने बानि परेको थियो होला र उनीहरूले आफ्नो अनुभव बोलेका थिए होलान, तर सबैलाई यसरी मुछेर शिक्षाको क्षेत्रमा एउटा सिङ्गो भेकलाई नै अपमानित गर्नु अपराध हो।  परीक्षाको मुखमा यस्ता मन र प्रतिष्ठा बिगारिदिने वक्तव्यहरूको वास्ता नगरी उच्च माध्यमिक परिक्षाको निम्ति आफुलाई अनि आफ्नो पढ़ाईलाई फोकस गर्ने आग्रह परीक्षार्थीहरूको पक्षमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले गर्दछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया