गोजमुमो तक्लिङ-पेशोक समष्टि समिति गठन

पेशोक, २६ फरवरी, रिम परिचित।


गोजमुमो तक्लिङ-पेशोक समष्टि समितिको सभा कोलबुङ सार्वजनिक भवनमा सम्पन्न भयो। गोजमुमो केन्द्रिय समिति सदस्य रमेश लामाको अध्यक्षतामा सम्पन्न सभामा समष्टिका सम्पूर्ण शाखा प्रशाखाका प्रतिनिधिहरूको उपस्थितिबीच समष्टि समिति पनि गठन गरिएको छ।

गत वर्षको नोभेम्बर महीनामा पुरानो समिति बङ्ग गरी संयोजक चयन गरेर पार्टीको कार्यकलाप राम्रोसित चलिरहेको भए पनि चुनाउ नजिक आएकोले समष्टि समिति बनाएर सङ्गठन बलियो बनाउनु पर्ने भएको केन्द्रिय समिति सदस्य शरद राईले सम्बोधनमा बताए। विगत दश वर्षमा भाजपा सरकारले गोर्खाको भावनासित खेलवाड़ गरेको भन्दै आगामी चुनाउमा भाजपालाई उचित जवाब दिनुपर्ने बताए। सभालाई गोजमुमो कोर कमिटी सदस्य आलोककान्तमणि थुलुङले पनि सम्बोधन गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेर साँच्चै नै सपना नै बनाएको बताए। पहाडका जनतालाई मात्र होइन विमल गुरुङलाई पनि भाजपाले धोका दिएर गुरुङलाई भड्खालोमा हालेको दावी गरे।

सभामा नयाँ समष्टि समिति गठन गरियो जसमा अध्यक्ष मणिप्रसाद राई, उपाध्यक्षहरू नरेश सुन्दास, सुरेन राई, सूरज छेत्री, सचिव सुनिल ग्याबा, सहसचिव छुगेन लेप्चा, सोनाम तामाङ, साङ्गठानिक सचिव सर्जु शर्मा, सूरज छेत्री, कोषाध्यक्ष अजित राईलाई चयन गरिएको छ भने महकुमा समिति प्रतिनिधि शरण छेत्रीलाई चयन गरिएको छ। सल्लाहकारमा केन्द्रिय समिति सदस्य रमेश लामा, टीएन घिसिङ, बीबी स्याङ्बोलाई चयन गरियो। यस अवसरमा समष्टि नारी मोर्चाका मन्दिरा घिसिङ अनि मीरा तामाङ पनि उपस्थित थिइन्।

समष्टिभित्रका प्रत्येक शाखाबाट एकएकजना प्रतिनिधि समष्टि समितिमा लिइएको छ। उक्त सभामा दार्जीलिङ महकुमाबाट आलोककान्तमणि थुलुङ, महासचिव शरद राई, कोर कमिटी सदस्य नगेन्द्र प्रधान, तकदाह-टिस्टाभेल्ली समष्टि अध्यक्ष ढेन्डुप पाखरीन, केन्द्रिय समिति सदस्य रमेश लामा, टीएन घिसिङ, केन्द्रीय युमो सदस्य निमा लेप्चा, युमो समष्टि सचिव ढेन्डुप शेर्पालगायत प्रत्येक शाखा-प्रशाखा प्रतिनिधिहरू उपस्थित थिए।  सभाको पूर्वार्द्धमा गत १४ फरवरीमा जम्मु काश्मिरको पुलवामामा भएको आतङ्की हमलामा शहीद हुने जवानहलाई स्मरणमा श्रद्धाञ्जली अर्पण गर्दै मोमबत्ती बालियो भने सभालाई सुनिल ग्याबाले सञ्चालन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया