कवि नोर्जाङ स्याङदेन पारसमणि पुरस्कारले सम्मानित

कालेबुङ, 26 फरवरी


22औँ पारसमणि पुरस्कार कवि नोर्जाङ स्याङदेनलाई प्रदान गरियो। नेपाली साहित्य अध्ययन समिति कालेबुङले वर्षैपछि पारसमणि पुरस्कार प्रदान गर्ने गरेको छ। आज टाउन हलमा आयोजित समारोहमाझ मुख्य अतिथिका रूपमा उपस्थित कवि मनप्रसाद सुब्बा एवं विशिष्ट अतिथिका रूपमा उपस्थित कवि राजेन्द्र भण्डारीको बाहुलीबाट कवि स्याङदेनलाई नगद राशी 15 हजार रुपियाँसितै स्मृति चिन्ह अनि प्रशस्ती पत्र प्रदान गरियो।

गिरीकालमा अत्यन्त सपाट कविताहरू लेखिन्थे। आयामेली कालमा अत्यन्त जटिल। नोर्जाङ दुवैको बीचबाटोमा हिँडे र कविता लेखे। सन् १९८४ मा छापिएको ‘मुर्छना’ कविता सङ्ग्रहले आममान्छे अनि बौद्धिक दुवैलाई छोयो। मुर्छनाले नोर्जाङलाई चिनायो। मुर्छनाले- कवितामा नयाँ ट्रेन्ड ल्यायो। यसमा सङ्ग्रहित २७ वटा कविताले नै नोर्जाङलाई कविको दर्जा दिलायो।

मुर्छनापछि उनले ‘कविताजस्तै कविताहरू’ र ‘राग रन्थरूमा’ कविता सङ्ग्रह निकाले। कविता र जीवन एउटै मान्ने नोर्जाङले जनताका पक्षमा कविता लेखे। दुःख, कष्ट, भावना लेखे। मानवीय गुण, कमजोरी र समस्याहरू लेखे।

यिनै नोर्जाङ स्याङ्देनलाई आज नेपाली अध्ययन समितिले सम्मान जनाएको हो। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै स्याङ्देनले आफू उक्त सम्मानका निम्ति सुयोग्य भएकोमा आफैलाई शङ्का लाग्ने गरे पनि समितिले यसरी सम्मान जनाएकोमा आभार प्रकट गरे। उनले आफूले निरन्तर कविता लेखनमा विश्वास नगर्ने तर गुणस्तरीय कविता लेखनमा विश्वास गर्ने गरेको बताए। यसै क्रममा उनले यदि पारसमणि प्रधान जस्ता महान् व्यक्तित्वको नाममा दिइने पुरस्कार राशी अझ बढाउनसके असल हुने सुझाउ राखे। यसरी नै कवि मनप्रसाद सुब्बाले आफूहरूले आधुनितकतावादबाट प्रभावित भएर कविता लेखनलाई शुरू गरेको भए पनि पछिबाट कविता फरक-फरक धारमा लेख्न थालिएको बताए। उनले स्याङ्देनसितका आफ्नो 40 वर्षको मित्रता पनि साझा गर्दै स्याङ्देनले जीवनलाई अझ गहिरो अनि सुक्ष्म किसिमले हेर्दै गएको बताए। उनले स्याङ्देनका कविताहरूमा आध्यात्मिक चिन्तनको सुखद अभिव्यक्ति हुने गरेको भन्दै उनका कविताहरूलाई अझ गहन रूपमा विविधितापूर्ण पठन हुन बाँकी रहेको बताए।

समितिका सचिव बलभद्र शर्माद्वारा सञ्चालित कार्यक्रममा साहित्यकार सीताराम काफ्लेले पारसमणि प्रधानको जीवनीमाथि वार्ता प्रस्तुत गरेका थिए भने मुन्नु गौतमले स्याङ्देनको जीवनीमाथि वार्ता प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा ब्राइट लाइफ एकाडेमीका नानीहरूको आवृति पठनसितै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया