पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भने- ‘हमलाको जवाब दिनेछौं’

पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाई लक्षित गर्दै ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

उनले भारतलाई दुश्मनीमा बेवकुफी र झुटको सहारा लिने भन्दै आरोप पनि लगाए । आसिफले भारतीय मिडियाले दावी गरे झैँ भारतीय विमान पाकिस्तानमा छिरेको झुट रहेको बताएका छन् ।

भारतीय वायुसेनाका विमान पाकिस्तानको सीमामा आए पनि केही बेरमै फिर्ता भएको उनले बताएका छन् । गफुरका अनुसार भारतका तीन क्षेत्रमा जवाफी हमला गरेको बताएका थिए । ‘हामीले तीन क्षेत्रमा उनीहरुको विमानको जवाफ दियौँ । यतिसम्म कि, चार मिनेटमै उनीहरु फिर्ता हुनुपर्यो ।’

सैनिक प्रवक्ता गफुरका अनुसार भारतीय विमान फिर्ता हुनुपर्दा उनीहरुले पेलोड खसालेका थिए । जसमा चार बम खसेका थिए । तर मानवीय क्षति नभएको उनले बताएका छन् ।

भारतले ३५० को हत्या गरेको बताइरहँदा त्यो सबै झुट भएको उनले प्रतिक्रिया दिएका छन् । साथै उनले जोसुकैले घटनास्थल देख्नसक्ने भन्दै त्यहाँ केही नभएको बताएका छन् ।

गफुरले भारतले पाकिस्तानलाई हराउन नसक्ने भन्दै आफूहरु यसको जवाफ दिने बताए । अर्थात् फरक तरिकाले उसलाई ‘सरप्राइज’ दिने उनको भनाइ छ । गफुरले सबैभन्दा पहिले ट्वीटमार्फत भारतीय विमान पाकिस्तानी सीमामा छिरेको जानकारी दिएका थिए ।

भारतीय लडाकु विमान पाकिस्तानी क्षेत्रमा छिरेको घटनालाई पाकिस्तान सरकारले आफूहरुको सम्प्रभुताविरोधी कदमको रुपमा ब्याख्या गरेको छ । यसका साथै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।

यस क्रममा पाकिस्तानमा सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको बैठकपछि पत्रकारहरुलाई नै उक्त घटनास्थलमा लैजाने बताइएको छ ।

उनले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएको पुष्टि गरेका छन् ।

यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना प्रमुखले कुराकानी गरेका छन् । उता पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले पाकिस्तानलाई विश्वबाट अलग थलग गराउने भारतीय सपना कहिल्यै पुरा नहुने बताएका छन् ।

यही क्रममा भारतीय आक्रमणको जबाफका लागि प्रधानमन्त्री इमरान खानले मंगलबार सुरक्षापरिषद्को बैठक डाकेका छन् । तर पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले भने सोमबार मात्रै शान्तिका लागि भारत-पाकिस्तान दुवैसँग अपिल पनि गरेका थिए ।

१४ फेब्रुअरीमा पुलवामामा भएको चरमपन्थी हमलाका क्रममा ४६ जना भारतीय अर्धसैनिक बलका जवान मारिएका थिए । यो हमलाको जिम्मेवारी जैस ए मोहम्मदले लिएको थियो । जसलाई भारतले पाकिस्तानमा रहेर आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिनअघि यदि जैस ए मोहम्मदले आक्रमण गरेको पुष्टि भएमा आफूहरु कारबाहीका लागि तयार रहेको बताएका थिए । उनले यदि यही बहानामा भारतले हमला गरेमा त्यसको कडा जबाफ दिन आफूहरु तयार रहेको उल्लेख गरेका थिए । त्यसपछि पाकिस्तानी सेना प्रमुखले एक पत्रकार सम्मेलनमा भारतले नै आतंकवादलाई बढावा दिएको बताएका थिए ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले यदि भारतले कुनै किसिमको दुस्साहस गरेमा पाकिस्तानले त्यसको कडा जवाफ दिने दाबी गरेका छन् । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग भिड्नका लागि सेनालाई खुल्ला छुट दिएको बताइसकेका छन् ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतले पुलवामा हमलापछि पाकिस्तानविरुद्ध कुटनीतिक युद्ध छेडेको बताएका छन् । उनलले आतंकवादलाई बढावा दिन पाकिस्तानले भूमिका खेलेको भन्दै आफूहरुमाथि दोष थोपर्न भारत उद्यत रहेको बताए ।

कुरैसीका अनुसार आतंकवादीसँग सामना गर्नका लागि नेशनल एक्शन प्लान बनाइएको छ । जसमा रहेका २० सूत्रीय एजेन्डामा आतंकवादलाई जरैबाट उखेलेर फ्याक्ने कुरा पनि समावेश छ ।

-अन्नपूर्णपोष्ट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन