दार्जीलिङ संसदीय क्षेत्रबाट जित्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको माग सँधैको निम्ति हराउनु हो

प्रतिक्रिया

बिनय तामाङहरूको आफ्नो उम्मेदवार भनेको नै तृणमूल काङ्ग्रेस पार्टीको उम्मेदवार हो – तृणमूल काङ्ग्रेसले दार्जीलिङ संसदीय क्षेत्रबाट जित्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको माग सँधैको निम्ति हराउनु हो – यो कुरा दार्जीलिङ पहाड़को जनताले राम्ररी बुझेका छन् यसर्थ दार्जीलिङ पहाड़को जनताले यस्तो कदापी हुन दिने छैनन् भन्ने कुरामा म विश्वस्त छु।


दिपेन माले


भर्खरै चुङथुङको सभामा बिनय तामाङले दिएको वक्तव्य तिनको दिउँसोको सपना मात्र हो जो कहिल्यै पुरा हुने छैन। बिनय तामाङको भनाई अनुसार तिनको पार्टीले आगामी लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट भुमिपुत्रलाई समर्थन गर्ने रे! जसले एक लाख पचास हजार भन्दा धेरै मतले जित्ने तिनको दावी छ।

खासमा भन्नुपर्दा बिनय तामाङहरूको आफ्नो उम्मेदवार भनेको नै तृणमूल काङ्ग्रेस पार्टीको उम्मेदवार हो – तृणमूल काङ्ग्रेसले दार्जीलिङ संसदीय क्षेत्रबाट जित्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको माग सँधैको निम्ति हराउनु हो – यो कुरा दार्जीलिङ पहाड़को जनताले राम्ररी बुझेका छन् यसर्थ दार्जीलिङ पहाड़को जनताले यस्तो कदापी हुन दिने छैनन् भन्ने कुरामा म विश्वस्त छु।

स्वर्गीय बि.आर. देवानको श्रद्धाञ्जली सभामा दिइएको वक्तव्यमा बिनय तामाङले चिया श्रमिकहरूको न्यूनतम मजदुरी ज्याला र पर्जा पट्टाको बारेमा सम्बोधन गरेर गोहीको आँशु झार्न खोजेका छन्। लोकसभा चुनावको छेक पारेर बिनय तामाङले यस्तो नाटक गरिरहेको जनताले बुझिसकेका छन्। हिजअस्ती दशैंमा चिया श्रमिकहरूको बोनसबाट पाँच प्रतिशत नै गायब गरिदिएको कुरा चिया श्रमिकहरूले यति चाँड़ै भुल्नेवाला छैनन्। त्यसको जवाब त भोटमा नै दिने भनेर चिया श्रमिकहरू मुर्मुरिरहेको हामी सबैलाई थाहा भएकै कुरा हो।

स्वर्गीय बि. आर. देवानको सालिग बनाउने कुरा राम्रो हो साथै शहीदहरूलाई सम्मान दिनु राम्रो कुरा हो तर बिनय तामाङ जस्तो बङ्गालको आशीर्वादले चौकीमा बसेको व्यक्तिबाट घोषणा हुनु चैं राम्रो होइन।

स्वर्गीय बि. आर. देवान बङ्गाल सरकारको चिया श्रमिकहरू प्रतिको कोल्टे नितिको विरुद्धमा आन्दोलन गर्ने व्यक्ति हुनुहुन्थ्यो – अहिले बिनय तामाङ त्यही बङ्गाल सरकारको कर्मचारीको रूपमा छन् जसले धेरै आन्दोलनकारीहरूलाई शहीद बनाएको छ – यस्तो व्यक्तिबाट शहीदको कुरा हुनु ढोङ मात्र हो।

बिनय तामाङको चिया श्रमिकहरूप्रतिको प्रेम बोनसमा लट्टाएकोबाट पनि थाहा पाइन्छ यसैले सम्पूर्ण चिया श्रमिकहरू बिनय तामाङको यस्तो स्वार्थी राजनीतिबाट सतर्क रहनुपर्छ।

पर्जा पट्टाको कुरा गर्दा बिनय तामाङले चिया श्रमिकहरूलाई पाँच डेसिमल जमिनको पर्जा पट्टा दिएर त्यसको साथ साथै बनवासीहरूको हातमा जबर्जस्ती टाइटल डिड थमाएर सुकुम्वासी बनाउन खोजेको कुरा कसैबाट लुकेको छैन।

बिनय तामाङले केवल बङ्गाल सरकारलाई मात्र खुशी पार्ने काम गरिरहेको जग जाहेर छ – बिनय तामाङको असली अनुहार – बिनय तामाङको असली व्यवहार जनताको सामु उदाङ्गो भइसकेको छ। यसर्थ तृणमूल काङ्ग्रेसको उम्मेदवारलाई एक लाख पचास हजार मतले बिजयी बनाउने बिनय तामाङको दावी सत प्रतिशत झुटो सावित हुने नै छ।

बिनय तामाङले आफ्नो वक्तव्यमा दार्जीलिङ पहाड़मा गणतन्त्रको खोजीमा एकवद्ध भएको पार्टीहरूलाई पनि नानाभाँती भनेको सञ्चार माध्यमद्वारा जान्न पाइयो। दार्जीलिङ पहाड़मा गणतन्त्र भनेको बिनय तामाङको पार्टी र तृणमूल काङ्ग्रेस पार्टीलाई मात्र छ यसैले बिनय तामाङले त यहाँ गणतन्त्र देख्ने नै भए नि! जाबो एउटा जिल्लापाललाई त अन्य पार्टीहरूले भेट्न नपाउने ठाउँमा गणतन्त्र छ भनेर ठोकुवा गर्नु भनेको आफै आफैमा हाँसोको पात्र हुनु हो।

बिनय तामाङको यो गालीलाई सबै पार्टीहरूले सकारात्मक रूपमा लिएर एकवद्ध रूपमा रहेर लोकसभा चुनाव मा नै प्रतिउत्तर दिने म आव्हान गर्दछु।

बिनय तामाङको भनाई अनुसार गणतन्त्रको खोजीमा एकवद्ध भएको पार्टीहरूले तिनीहरूलाई पहाड़बाट खेद्ने कोशिशमा लागेको बताएको छ जो सरासर गलत हो भनेर म भन्न चाहन्छु – यो बिनय तामाङको आफ्नो मनको डर मात्र हो।

मानिस आफु जस्तो छ अरूलाई पनि त्यसतै देख्छ भनेको साँचो हो। बिनय तामाङहरू मिलेर हाम्रा अध्यक्ष बिमल गुरूङ सहित हामीलाई षड्यन्त्र गरेर खेदेकोले नै उसले अरूले पनि तिनलाई त्यस्तै गर्न सक्छन् भन्ने सोचेको हो – हामी त्यो पक्षमा छैनौं तर पछि जनताले के गर्लान् त्यो चैं म पनि किटेर भन्न सक्तिन।

देशको वर्तमान परिस्थितिमा ममता व्यानर्जीको छवि देश हितको विपरित भएको देखिँदैछ। यस्तो स्थितिमा त्यही ममता व्यानर्जीको तृणमूल काङ्ग्रेस पार्टीलाई जिताँउछु भनेर घोषणा गर्नु बिनय तामाङको राजनैतिक अपरिपक्वता हो भन्ने म मान्दछु।

हुनपनि बिनय तामाङको अरू उपाय छैन उ ममता व्यानर्जीलाई सघाउन बाध्य छन् तर दार्जीलिङ पहाड़को जनतालाई त्यो बाध्यता छैन यसैले बिनय तामाङको उक्त घोषणा केवल तिनले देखेको सपना मात्र हो – बिनय तामाङले दिउँसै यस्तो सपना देख्नु बन्द गरू


(माले गोर्खा जनमुक्ति युवा मोर्चाका प्रमुख सल्लाहकार हुन्।)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन