
कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा लगातार गोली हानाहान र बम प्रहार हुन थालेपछि हजारौं कश्मीरी घर छाडेर भाग्न थालेका छन् । एलओसीका १२ स्थानमा मंगलबार राति गोली हानाहान भएको थियो । त्यस क्रममा आफ्ना ५ सैनिक घाइते भएको भारतीय सेनाका प्रवक्तादेवेन्दर आनन्दले जनाएका छन् ।
पाकिस्तानका ५ चौकी ध्वस्त पारेको दाबी पनि भारतले गरेको छ । पाकिस्तानले पनि आफ्ना ५ सैनिकको मृत्यु भएको जनाएको छ । एएफपीका अनुसार त्रासका कारण नियन्त्रण रेखाक्षेत्रका हजारौं कश्मीरीले घर छाडेका छन् । केहीले लामो समयदेखि प्रयोगमा नआएका बंकर सफा गरेका छन् भने केही नयाँ बंकर बनाउनतिर लागेका छन् ।
पाकिस्तान प्रशासित कश्मीरको कोट्ली र झेलुम उपत्यकाका २ हजार नागरिकले घर छाडेको जनाइएको छ । कोट्लीका एक सरकारी अधिकारी उमर आजमले भने, ‘थुप्रै मानिस घर छाडेर सुरक्षित स्थानतिर लागिरहेका छन्, सैनिक गतिविधि बढेपछि एलओसी क्षेत्रमा इन्टरनेटसमेत काटिएका छन् ।’ महिला, पुरुष तथा बालबालिकाहरू आ–आफ्ना सामान बोकेर सडकमा देखिएका छन् । केहीले आफ्ना गाईवस्तुसमेत लिएर हिँडेको देखिएको छ ।
सीमावर्ती चाकोठी गाउँका ४६ वर्षीय पसले हबिब उल्लाह अवानले बुधबार बिहानै ८ जनाको परिवारसहित निस्कँदा गाउँमा बम खसिरहेको बताए । अधिकांश मानिस चाकोठी छाडेर पाकिस्तानी कश्मीरको सहर मुजफ्फरावादतर्फ गइरहेका छन् । भारत नियन्त्रित कश्मीरमा पनि त्रासको स्थिति छ ।
भारतको कमालकोटे र पुँचका बासिन्दाले पनि भारी मात्रामा बम खसिरहेको बताए । अधिकारीहरूले स्थानीय बासिन्दालाई बंकरको तयारी गर्न आग्रह गरिरहेका छन् । पुँचका बासिन्दा पनि सुरक्षित स्थानतर्फ भागिरहेका छन् । बढ्दो तनावबीच भारतको चण्डीगढ, जम्मु–कश्मीर, पन्जाब र उत्तराखण्डका सबै विमानस्थलमा एलर्ट जारी गरिएको थियो ।
पाकिस्तानमा पनि लाहौर, मुल्तान, फैसलाबाद, सियालकोट र इस्लामाबाद एयरपोर्टबाट सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका थिए । यस्तै, भारत र पाकिस्तानको वायुसीमाभित्र चल्ने अन्तर्राष्ट्रिय उडान पनि अवरुद्ध भएका थिए । केही विमानले रुट परिवर्तन गरेका थिए ।
संयम अपनाउन अमेरिकाको आग्रह
यसैबीच, अमेरिकाले भारत र पाकिस्तानबीच जारी तनाव कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न आग्रह गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । भियतनामको हनोईमा रहेका पोम्पेओले भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग पनि कुराकानी गरेका छन् ।
जारी तनावलाई बढावा नदिई संयम अपनाउन अमेरिकाले सधैं प्रयास जारी राख्ने पोम्पेओको भनाइ छ । उनले प्रत्यक्ष वार्ताका लागि दुवै मन्त्रीलाई अनुरोध गरेको जनाएका छन् ।
‘तनाव चाहँदैनौं’
भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतले पाकिस्तानमाथि नभई आतंकवादी संगठन जैश–ए–मोहम्मदको क्याम्पमा कारबाही गरेको बताएकी छन् । चीनको वुझेनमा रुस–भारत–चीनका विदेशमन्त्रीहरूको १६ औं बैठकलाई सम्बोधन गर्दै उनले पाकिस्तानमा गरिएको कारबाही कुनै सैन्य अभियान नभएको स्पष्ट पारेकी हुन् ।
‘भारत कुनै पनि रूपबाट तनाव बढाउन चाहँदैन, हामी जिम्मेवारी र संयमपूर्वक काम गर्नेछौं,’ उनले भनिन् । स्वराजले पाकिस्तानले आफ्नो भूमिका रहेका आतंकवादीलाई कारबाही गर्न अस्वीकार गरिरहेको र जैशले भारतका कैयौं भागमा आतंकवादी हमला गर्ने षड्यन्क्र रचिरहेकाले अचानक आत्रमणको निर्णय लिनुपरेको उल्लेख गरिन् । तर कारबाहीमा सर्वसाधारणको ज्यान नजाओस् भन्नेतर्फ ध्यान दिइएको उनले स्पष्ट पारिन् ।
उनले कश्मीरबाट गतिविधि सञ्चालन गर्दै आएको जैशलाई पाकिस्तानले सहयोग गर्दै आएको पनि आरोप लगाइन् । तीन देशका विदेशमन्त्रीको बैठकमा पनि आतंकवादको कुनै पनि रूपको कडा शब्दमा निन्दा गरिएको थियो ।
‘हामी वार्ता चाहन्छौं’
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बाध्यतावश आफ्नो सेनाले जवाफ दिएको बताएका छन् । बुधबार देशवासीका नाममा सम्बोधन गर्दै उनले दुवै मुलुकसँग भएका हतियारसहित युद्धमा गए त्यसको परिणाम कल्पना पनि गर्न नसकिने बताए ।
‘पुलवामा आक्रमणपछि मैले भारतलाई अनुसन्धानमा सहयोगका लागि प्रस्ताव गरेको थिएँ, मलाई थाहा छ, यस्तो आक्रमणका पीडित परिवारले कस्तो महसुस गर्नुपर्छ, यसकारण मैले सिधा रूपमा अफर गरेको थिएँ, हामीले हाम्रो जमिन प्रयोग होस् तर आतंकवादका लागि होइन भनेर भनेका थियौं,यदि हामीलाई प्रमाण दिइन्थ्यो भने त्यसको जवाफ दिनु हाम्रो बाध्यता हुन्थ्यो र तर भारत कारबाहीमा उत्रिन्छ, त्यसको जवाफी कारबाही गर्नैपर्छ । उनले कुनै पनि सार्वभौम मुलुक त्यत्तिकै चुप बस्न नसक्ने उल्लेख गर्दै भने, ‘चुप रहेर आफैंलाई अपराधी बनाउन सकिँदैनथ्यो, हाम्रो मुलुकमा आइन्छ भने हामी पनि आउन सक्छौं ।’ उनले बुधबारको पाकिस्तानी कारबाहीको जवाफ दिन भारतका २ मिग जहाज आफ्नो सीमामा प्रवेश गरेकाले तिनीहरूलाई खसालिएको बताए । ‘पाइलट हामीसँग छन्, म भारतलाई भन्न चाहन्छु, हामी थोरै बुद्धिको प्रयोग गरौं,’ उनले भने ।
दोस्रो विश्वयुद्धको उदाहरण दिँदै उनले भने, ‘दोस्रो विश्वयुद्धमा हिटलरले रुसमाथि विजय प्राप्त गर्ने सोचेका थिए, तर उनले रुसको चिसो बर्बादीको कारण बन्न सक्नेछ भनेर सोचेनन्, भियतनाम युद्धमा त्यत्रो वर्ष लाग्नेछ भनेर कसलाई थाहा थियो ? युद्धका विषयमा गरिएको आँकलन गलत हुन्छ ।’
उनले भने, ‘यो लडाइँ अगाडि बढ्ने हो भने, यसले कता लिएर जानेछ भनेर हामीले यो समयमा सोच्नु पर्दैन ? न मेरो, न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ । यसैले आतंकवादको विषयमा कुनै पनि तरिकाले वार्ता गर्न चाहन्छौं र यो समस्याको समाधान गर्नुपर्छ ।’-कान्तिपुर
A