भारतका जनताले कास्मिर हाम्रो हो भन्नुको अर्थ

राम राघव


भारतका धेरै छिमेकी छन् । तर, पाकिस्तान तीभन्दा फरक छ । आफूलाई फाइदा गर्छ वा हानि गर्छ भन्ने हेक्का नराखी पाकिस्तानले भारतलाई असर पु¥याउँदै र उत्पीडन गर्दै आएको छ । एकजना पूर्वपाकिस्तानी प्रधानमन्त्रीले घाँस खाएर भए पनि पाकिस्तानीहरू भारतसँग हजारौँ वर्षसम्म लड्ने घोषणा गरे । यसरी प्रस्तुत हुने छिमेकीसँग डिल गर्न सजिलो छैन ।

भारतले मात्र होइन, अन्य छिमेकीले पनि यस्तो महसुस गरेका छन् । अफगानिस्तान सरकारलाई बेवास्ता गर्दै तालिबानसँग पाकिस्तानले प्रत्यक्ष सम्पर्क बनाएको भन्दै हालै मात्र आफगानी विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा उजुरी दिएको छ । पाकिस्तानको कदमले आफगानिस्तानमा जारी शान्ति स्थापना प्रयासलाई मात्र अवमूल्यन नगरेर अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकता र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावना, १९८८ को उल्लंघनसमेत गरेको गुनासो अफगानिस्तानको छ ।

इरानमा हालै भएको एक आत्मघाती आक्रमणमा इरानी सैन्यबल रिभुलुसनरी गाड्र्जका २७ जना सदस्यको मृत्यु भयो । रिभुलुसनरी गाड्र्जका मेजर जनरल मोहम्मद अली जफारीले यस हमलाका दोषीलाई पाकिस्तानले सुरक्षित प्रश्रय दिएको आरोप लगाएका छन् । यस्ता आतंककारी समूहलाई पाकिस्तानी सेनाले किन शरण दिइरहको छ भन्ने प्रश्न जाफिरले उठाएका छन् । आतंककारी समूहलाई प्रश्रय दिएबापत पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भनी उनले चेतावनीसमेत दिएका छन् ।

अहिले पाकिस्तान उसका सेना तथा आइएस नेतृत्वले सञ्चालन गर्ने सैनिक ब्यारेकजस्तो बनेको छ । सेना र इस्लामिक अतिवादीको खतरनाक तालमेल र भारतविरुद्धको घृणाले दशकौँदेखि भारतमा विनाश निम्त्याएको छ । जुल्फिकर अली भुट्टोले हजारौँ मारबाट भारतमा रक्तपात मच्चाउने अभिव्यक्ति दिएका थिए । राजनीतिक शक्तिमा जो भए पनि अहिलेसम्म पाकिस्तान यही नीति लिएर अघि बढेको छ । तर, राजनीतिक शक्ति सैद्धान्तिक मात्र छ भने वास्तविक शक्ति भने पाकिस्तानी सेना र आइएसले लिएको छ । पाकिस्तान आतंकवादको केन्द्रका रूपमा उदाएको यथार्थ अब पनि रहस्यको रूपमा रहेको छैन, यसको पर्दाफास भइसकेको छ ।

सिंगो विश्वलाई यो यथार्थ थाहा छ । हालै मात्र पुलवामामा भारतीय अद्र्धसैन्यबलमाथि भएको आत्मघाती आक्रमणपछि अमेरिकी ह्वाइट हाउसले निकालेको वक्तव्यमा पनि यस्तो वास्तविकता झल्किएको छ । अमेरिकाले आफ्नो वक्तव्यमार्फत पाकिस्तानी भूमिमा सञ्चालित सबै आतंकवादी समूहलाई सुरक्षित आश्रय तथा सहयोग गर्ने कार्यलाई तत्काल अन्त्य गर्न आग्रह गरेको छ । यस्ता आतंकवादी समूहको एक मात्र उद्देश्य यस क्षेत्रमा विध्वंश, हिंसा र आतंक मच्चाउनु भएकाले पाकिस्तानले उनीहरूलाई समर्थन गर्न नहुने विश्वास अमेरिकी राष्ट्रपतिका प्रेस सचिवले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

कुनै आशंका होइन, आरोप होइन, पाकिस्तानले आफ्नो भूमिमा आतंकवादीलाई प्रश्रय दिएको प्रमाणित नै भइसकेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पाकिस्तानको नाम नजोडे पनि पाकिस्तानी भूमिमा आधारित आतंककारी समूह जैस–ए–मोहम्मदलाई पुलवामा आक्रमणको जिम्मेवार ठह-याएको छ । अहिलेको अवस्थाबाट पाकिस्तानलाई रूपान्तरित गर्नुपर्छ । यसका लागि विश्वस्तरीय सहमतिको आवश्यकता छ । तर, दुःखको कुरा के हो भने आतंकवादको परिभाषामाथि नै विश्वस्तरीय एकमत तथा सहमति हुन सकेको छैन । आफ्नो निहीत स्वार्थका कारण अमेरिका र चीनले पाकिस्तानमा रहेको आइएसआई विद्रोहीविरुद्ध कुनै कदम चलाएका छैनन् । अर्कोतर्फ, द्वैध चरित्र देखाउनमा पाकिस्तानी नेतृत्वले महारथ हासिल गरेको छ ।

भारत–पाकिस्तानको द्वन्द्वको प्रमुख आधार कास्मिर बनेको छ । वास्तवमा क्षेत्रीय रूपमा कास्मिरबारे आउने कथ्य तथा विश्लेषणले पाकिस्तानलाई उल्लेख्य रूपमा सहयोग पुऱ्याएको छ, जबकि यस्ता विश्लेषणमा ठूलो समस्या रहेको बुझाइ भारतको छ । पृथकतावादलाई जोडेर यस्ता भनाइ आउने गरेका छन् । ७० वर्षपछि पनि कास्मिरी क्षेत्रीय शासकले त्यहाँका नागरिक पनि भारतको महत्वपूर्ण अंग हुन् भन्ने वास्तविकतालाई पूर्ण रूपमा आत्मसात् गरेका छैनन् । सन् १९४८ मा पाकिस्तानको सट्टा भारतलार्ई रोजेर कास्मिरीले ठूलो बलिदानी दिएकाले भारतसँग विशेष सम्बन्ध हुनुपर्ने बुझाइ कास्मिर क्षेत्रको नेतृत्वको छ ।

यसकारण, भारतीय राज्य तथा भारतीय नागरिक कास्मिरीप्रति कृतज्ञ हुनुपर्ने भनाइ उनीहरूको छ । कास्मिरी क्षेत्रीय नेतृत्वले यस्तो भ्रम धेरै कास्मिरी पुस्तामाझ छर्दै आएको छ । तर, के हो भने सन् १९४७–४८ मा जम्मु कास्मिरले मात्र नभएर अन्य पाँच सय ४० राज्यहरू एउटै अंगीकार पत्रमातहत आएर भारतसँग जोडिएका थिए । यसकारण, कास्मिरीहरू पनि भारतको महत्वपूर्ण आन्तरिक अंश हुन् ।

कास्मिर उपत्यकामा त्यहाँका जनतालाई जे सिकाइएको छ, त्यसमा सत्यता छैन । आफ्नो विशेष हैसियत देखाउन कास्मिरी नेतृत्वले भारतीय संविधानको धारा ३७० देखाउने गरेका छन् । अस्थायी व्यवस्थाको रूपमा राखिएको यो धारा लामो समयसम्म यथावत् रहँदा यसले जम्मु कास्मिरमा अलग तथा पृथकतावादी धारणा मात्रै बढाएको छ । यद्यपि, सिंगो जम्मु कास्मिर राज्यमा यो धारा लागू भए पनि यसका अन्य क्षेत्रजस्तो जम्मु र लदाक क्षेत्रका जनतामा यस्तो धारणा विकास भएको पाइँदैन । यी क्षेत्रका नेतृत्वले उनीहरू भारतकै हिस्सा हो भन्ने महसुस गराएका छन् ।

सर्वसाधारण कास्मिरी पनि अन्य नागरिकजस्तै हुन्, तर त्यहाँको नेतृत्वले उनीहरूलाई आतंकवादी तथा पृथकतावादी बनाउने गरेका छन् । सरकारले निर्णय गरेको दिन संविधानमा रहेको धारा ३७० खारेज हुन्छ । भारतीय राष्ट्रपतिको एउटा घोषणाबाट यो सम्भव छ । तर, जम्मु कास्मिर क्षेत्रमा पृथकतावादी धारणा फैलाउने नेताहरूको सामना गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो ।

एकीकरण प्रक्रिया सहज हुन्छ भन्ने अपेक्षामा भारतले स्थानीय नेतृत्वलाई अत्यधिक अधिकार दिएको छ । तर, दुःखको कुरा के छ भने कास्मिरी जनताको ठूलो हिस्साले भारतीयपनलाई आत्मसात् गरे पनि क्षेत्रीय नेतृत्व भने उनीहरूबीच पृथकतावादी आगो दन्काउन उद्यत छ । यसर्थ, उनीहरूका यस्ता प्रयासलाई असान्दर्भिक तथा निस्तेज बनाउने समय आएको छ । अन्य दुई क्षेत्रमा जस्तै जम्मुकस्मिर क्षेत्रमा पनि भारतीयपनलाई प्रोत्साहन गर्नुपर्छ । यस्तो गर्ने जिम्मेवारी बाँकी देशको काँधमा आएको छ ।

भारतका जनताले कास्मिर हाम्रो हो भन्नुको अर्थ हरेक कास्मिरी हाम्रा हुन् भन्ने सम्झिनुपर्छ । कुनै कास्मिरी गलत बाटोमा हिँडेको छ भने उसलाई सही बाटोमा हिडाऔँ । खराब भए, कारबाही गरौँ । देशद्रोही भए देशनिकाला गरौँ । तर, अझै पनि उनको हृदयमा भारत होस् । मुठ्ठीभर रहेका केही आतंकवादी र उनीहरूका मसिहाको सामना गर्न एक अर्बभन्दा बढीको जनसंख्या यति निरीह बन्न हुँदैन । अनि, हरेकलाई घृणा गरेर वास्तविक शक्ति प्राप्त हुँदैन, सही बाटोमा ल्याएर मात्र सम्भव छ । राम्रो गर्ने र गलत बाटो त्यागेर खराबलाई असलमा रूपान्तरण गर्नु नै वास्तविक शक्ति हो, जसलाई प्राचीन भारतीय ज्ञानले परिभाषित गरेको छ ।


लेखक भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा इन्डिया फाउन्डेसनका निर्देशक हुन् । द इन्डियन एक्सप्रेसबाट/नयाँ पत्रिकाबाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन