आफ्नै डोकुमेन्ट्री-को सिकार बन्दै ज्याक्सन

माइकल ज्याक्सनलाई सङ्गीत क्षेत्रका पपसम्राट मानिन्छ । उनी सर्वकालीन प्रख्यात सेलिब्रेटीहरूमध्येका महत्त्वपूर्ण गायक हुन् । तर यति बेला सार्वजनिक एक डकुमेन्ट्रीले भने उनले कायम गरेको साङ्गीतिक विरासत भत्कने त हैन भन्ने डर उत्पन्न गराएको छ ।

‘लिभिङ नेभरल्यान्ड’ नामक उक्त डकुमेन्ट्रीमा दुई पुरुष पात्रले आफूहरू बच्चा छँदा माइकल ज्याक्सनको यौनदुर्व्यवहारको सिकार भएको जिकिर गरेका छन् । ‘नेभरल्यान्ड’ ज्याक्सनको घर हो । डकुमेन्ट्रीलाई अमेरिका र बेलायतमा यसै साता टेलिभिजनबाट प्रसारण गरेपछि यति बेला ज्याक्सनलाई अपराधी मान्ने र निर्दोष मान्नेबीच सामाजिक सञ्जालमा ठूलो बहस चलेको छ ।

डकुमेन्ट्रीमा जेम्स सेफचुक र वेड रोब्सनले आफूहरू बच्चा छँदा गायकबाट दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । ज्याक्सन परिवारले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका भए पनि गायकप्रतिको घृणाको बादल बेस्सरी फैलिरहेको छ ।

अब के त ज्याक्सनको विरासतमा सधैंका लागि धब्बा लाग्न लागेको हो ? प्रश्न गम्भीर बनेको छ । डकुमेन्ट्रीमार्फत आएका आरोपहरूका कारण निःशङ्कोच परिस्थितिलाई असहज बनाएको भने छ ।

डकुमेन्ट्रीमा पीडित भनिएका दुई युवाको आरोप हेरेपछि अधिकांश स्तब्ध भएका छन् । केहीले पप सम्राटलाई बाल यौनदुराचारी भन्न थालिसकेका छन् । एक संस्थाले ट्वीटरमा डकुमेन्ट्री हेरेपछि माइकल ज्याक्सनप्रति मार्च ६ देखि ८ सम्म गरेका ट्वीटमा आधारित रही गरेको सर्वेक्षणमा गायकप्रति सकारात्मक धारणा राख्ने ३७ प्रतिशत देखिएका छन् भने गाली गर्नेहरू २४ प्रतिशत छन् ।

अर्को ठूलो मात्रामा ३८ प्रतिशत ट्वीट अझै यस विषयमा तटस्थ नै देखिन्छन् । ‘लिभिङ नेभरल्यान्ड’ ले यति बेला सामाजिक सञ्जालमा गायकप्रति भुइँचालो नै ल्याइदिएको छ । डकुमेन्ट्री प्रसारणपछि भने ‘पीडित’ को पक्ष लिएर ज्याक्सनमाथि खनिनेको मात्रा तीन दोब्बर बढिरहेको उक्त तथ्याङ्कले देखाएको छ ।

त्यसो त गायक ज्याक्सनलाई यौनदूराचारीको आरोप लागेको यो नै पहिलो घटना भने हैन । तर यति बेला मुद्दा बढी जटिल देखिएको छ । तर ज्याक्सन परिवार भने अझै पनि पपसम्राटविरुद्ध आरोप लगाएर उनीहरू ठूलो मात्रामा सम्पत्ति हत्याउन लागिरहेको तर्क गरिरहेका छन् ।

गायकका भतिज ताजले ‘यस्तो आरोप सुन्न परेको भए सायद अङ्कल पनि रुनुहुन्थ्यो’ भनी टिप्पणी गरेका छन् । छोरी पेरिसले भने डकुमेन्ट्री प्रसारणपछि खासै प्रतिक्रिया दिन चाहेकी छैनन् । केही दिनपछि मात्र उनले ट्वीट गर्दै गायकका प्रशंसकलाई शान्त रहन आग्रह गरेकी छन् । ‘मलाई थाहा छ, अन्यायले जसलाई पनि विरक्त लगाउन सक्छ । तर यस्तो बेलामा आवेशमा आएर प्रतिक्रिया जनाउनुको साटो दिमागलाई ठन्डा राखेर बस्नु नै सबैभन्दा ठूलो तर्क हुनेछ ।’

गायक ज्याक्सन विवादमा परेपछि विश्वभरका कतिपय रेडियो स्टेसनले उनका गीत, सङ्गीत बजाउनमा रोक लगाउन थालेका छन् । तर बीबीसीजस्ता जिम्मेवार मिडियाले भने सिर्जनालाई विवादमा मुछेर रोक लगाउनु नहुने जिकिर गर्दै आएका छन् ।-कान्तिपुरबाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया