विमल गुरुङका छोराले गोरामुमोको झण्डा च्यातेको भन्दै विक्षोप प्रदर्शन

खबर म्यागजिन खबरदाता

दार्जीलिङ, 20 मई 2017


अभिनेता अविनाश गुरूङ विरुद्ध प्रदर्शन गरिएको विक्षोप/फोटोः खबरम्यागजिन

गोजमुमो अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल विमल गुरूङका छोरा अविनाश गुरूङले दार्जीलिङको वार्ड नम्बर 25-मा पर्ने आफ्नो ससुराली गाउँमा गोरामुमोको झण्डा च्यातेर दादागिरी देखाएको आरोप लगाउँदै आज गोरामुमो समर्थकहरुले पार्टी अध्यक्ष मन घिसिङको उपस्थितिमा एक विक्षोभ जुलूस निकाले।

यसैबीच, गोरामुमोले अविनाश गुरूङ अनि यस घटनामा सामेल रहेका अन्यलाई शथाशीघ्र पक्राउ गर्ने माग गर्दै दार्जीलिङ सदर थानामा एक प्राथमिकी पनि दर्ता गरेको छ।  यस घटनाको स्थलगत जानकारी लिन अनि वार्डवासी जनताको गुनासो सुन्न वार्ड नम्बर 25-को पाउन्ड रोड आइपुगेका गोरामुमो अध्यक्ष मन घिसिङले भने-गोजमुमो अध्यक्ष विमल गुरूङका छोराले यस गाउँमा जुन उत्पात मच्चाएका छन्, यसको जानकारी पुलिस अधीक्षकलाई पनि दिइएको छ अनि दोषीहरुलाई यथाशीघ्र पक्राउ गरेर उचित सजाय दिनुपर्छ। गोरामुमोले यसप्रकारको गुण्डागिरी, तानाशाही नीतिलाई सहन गर्दैन, यसैको विरोधमा गोरामुमो पार्टी अघि बढ़िरहेको छ। यस घट्नापछि वार्ड नम्बर 25-का सर्वसाधारण जनता आक्रोसित बनेका छन्, यदि यो आक्रोस बढ़्दै गए स्थितिले अर्कै माहौल सृजना हुनसक्छ। यसैले पुलिस प्रशासनले यस्तो कार्यप्रणाली विरूद्ध शीघ्र कठोर पदक्षेप ग्रहण गर्नुपर्छ अनि अविनाश गुरूङलाई तत्कालै पक्राउ गरेर सजाय दिनुपर्छ।

यस घट्नाको प्रत्यक्षदर्शी वार्ड नम्बर 25 निवासी उषा तामाङले पनि विमल गुरूङका छोरा अविनाश गुरूङलेनै हिजो राती लगभग 9.30 बजी पाउन्ड रोडमा लगाइएको गोरामुमोको झण्डा काटिरहेको आफ्नै आँखाले देखेको बताइन्।

उनले भनिन्-हिजो राती लगभग 9.30 बजीतिर म घरबाट सार्वजनिक पाइखाना आइरहेकी थिएँ, त्यस समय अविनाश गुरूङ मातेका अवस्थामा थिए अनि उनले गोरामुमोको झण्डा काट्दै थिए। यसमाथि आपत्ति जनाउँदा उनले मलाई धक्का दिएर झण्डैले लड़ाइदिए। यसका साथै उनले म-माथि अभद्र व्यवहार पनि गरे अनि अपशब्दहरु प्रयोग गर्दै मलाई गाली गरे।

यसरीनै वार्ड नम्बर 25-बाट नगरपालिका चुनाउमा गोरामुमोले उम्मेद्वार बनाए खड़ा गरेका दीपक छेत्रीले पनि यस घट्नाको कठोर शब्दमा आलोचना गर्दै वार्ड परिसरमा अशान्ति मच्चाउने कार्यको कुनै पनि स्थितिमा सहन नगरिने बताए।

‘यस वार्डमा मेरो हार भयो, यसलाई मैले सहस्र स्वीकार गरेको छु। गाउँमा शान्ति थियो, तर जित्ने पार्टीका अध्यक्षको छोरा आएर किन अशान्ति मच्चाउनु? यस विरूद्ध प्रशासनले शीघ्र कार्वाही गर्नुपर्छ। यदि अविनाश गुरूङ अनि उनीसित आउने दोषीहरुलाई शीघ्र पक्राउ नगरे गोरामुमो थानाअघि भोक हड़्ताल गर्न बाध्य हुनेछ,’ उनले भने, ‘विमल गुरूङका छोरा अविनाश गुरूङको ससुराली गाउँ यहीं हो अनि उनले जहिले पनि आफ्नो ससुराली घरमा रातीको समय ठूलो भोल्यूममा टेप रेकर्डर खोलेर गाउँमानै अशान्ति बनाउने कार्य पनि गर्दै आइरहेका छन्।’

यसैबीच, गोरामुमो समर्थकहरुले दार्जीलिङ सदर थानाअघि पनि नारा लगाउँदै विक्षोभ प्रदर्शन गरे। यस समय गोरामुमो समर्थकहरुले गोजमुमो अध्यक्ष विमल गुरूङ मुर्दावादको पनि नारा लगाए। अविनाश गुरूङमाथि गोरामुमोले लगाएको आरोपको सोझै खण्डन गर्दै अविनाशकी सासु सुनिता तामाङले भनिन्-मेरो ज्वाईंमाथि गोरामुमोले जुन आरोप लगाएको छ, त्यो सरासर झुटो हो। उल्टा गोरामुमो समर्थकहरुले नै गाउँमा रातीको समय नाराबाजी गरेर अशान्ति मच्चाउने कार्य गरिरहेका छन्।

यसरीनै वार्ड नम्बर 25-का गोजमुमोका निर्वाचित नगरपार्षद सागर तामाङले पनि भने-गोजमुमोले कुनै पनि पार्टीको झण्डालाई अपमान गर्ने कार्य गर्दैन अनि गर्ने पनि छैन। गोरामुमो समर्थकहरुले रातीतिर नाराबाजी गरेको कारणनै गाउँका वृद्ध-वृद्धाहरुलाई असुविधा भइरहेको छ। नगरपालिका चुनाउमा हारको सामना गर्न परेपछि गोरामुमो निराश भएको छ र यसै निराशामा यस पार्टीले गोजमुमो अध्यक्ष विमल गुरूङलाई बद्नाम गराउने कार्य गरिरहेको छ। यद्यपि, गुरूङका छोरा विरूद्ध गोरामुमो नेता दीपक छेत्रीले एक प्राथमिकी दर्ता गरेपछि पुलिसले यसको छानबीन शुरू गरेको छ र पुलिसले धारा 341, 506, 509 र 34 लागू गरेको छ।

 

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया