लोकसभा र जनता विरोधीहरू

सबै पार्टीको आआफ्नो नियत सार्वजनिक भइसकेको छ। रातारात डा. महेन्द्र पी. लामा जनतालाई आग्रह गर्ने भए। चुनाउमा मात्र ‘मेरोमा क्षमता छ, मलाई जिताएर पठाउ’ भन्दै अघि आउने डा. लामाले जनताको भरोसा जित्न लायक कुनै काम गरेनन्। न त सरकारसितको सम्बन्धबाट पहाडमा विभिन्न योजनाहरू भित्र्याए न त आन्दोलनलाई बौद्धिकरूपले नेतृत्व नै गरे। चुनाउ चुनाउमा देखापर्ने लामाको क्षमता कति हो अब जनताले चाल पाइसकेका छन्। पहाडका विपक्षले जहिल्यै आफ्नो स्वार्थको काम गरिरहेको छ। जनताको स्वार्थमा कहिल्यै अघि बढेन। बरू जनाकांक्षालाई आफ्नो फाइदाको लागि दुरुपयोग गरे। यी जम्मै कृत्यले कसलाई फाइदा पुग्दैछ? पहाडले सोच्नुपर्ने भयो।


खबरम्यागजिन विश्लेषण


विनयखेल

गोर्खा जनमुक्ति मोर्चा पार्टीको पञ्जिकरण गोरामुमो महासचिव रोशन गिरीको नाममा छ। स्पष्ट छ, विनय तामाङले मोर्चाको नाममा कुनै उम्मेदवार दिन सक्दैनन्। यसको अर्थ यो पनि हो, कि कानुनी र आधिकारिकरूपमा गोर्खा जनमुक्ति मोर्चा विनय तामाङको पार्टी होइन।

जुन पार्टीको पञ्जिकरण चुनाउ आयोगमा रोशन गिरीको नाममा छ, त्यो पार्टीलाई विनय तामाङले ‘मेरो पार्टी’ भन्दै पार्टी नामको फाइदा मात्र उठाइरहेका हुन्।

स्पष्ट छ, पार्टी नै उनको नाममा नरहेपछि विनय तामाङसित अर्को कुनै उपाय नै थिएन। विमल गुरुङ भूमिगत भएको फाइदा उठाइरहेका विनय तामाङको असली अनुहार त्यतिबेला वैश्विकरूपले सार्वजनिक भयो, जतिबेला मोर्चा नामको पार्टीबाट विधायक बनेका अमरसिंह राईको नाम तृणमूल काङ्ग्रेस पार्टीले दार्जीलिङ समष्टिको उम्मेदवारको रूपमा सार्वजनिक गऱ्यो।

यसले जनतामा दुइवटा स्पष्ट कुरा अघि ल्यायो। पहिलो, मोर्चा विनय तामाङको पार्टी होइन, दोस्रो, विनय तामाङको पार्टीले यस्तो पार्टीको उम्मेदवारलाई समर्थन गरिरहेको छ, जुन पार्टी छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर विरोधी हो।

पहाडको सपना भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो। छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर विरोधी तृणमूल काङ्ग्रेस। स्पष्ट छ, यसपल्ट अमरसिंह राईलाई जिताउनु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको विरोध गर्नु हो।

जजसले पनि यसपाली तृणमूल काङ्ग्रेसको उम्मेदवार अमरसिंह राईलाई भोट दिनेछन्, उनीहरू स्वतस्फुर्त छुट्टै राज्य गोर्खाल्याण्डको विरोधी हुनेछन्।

कठपुतलीहरू

ममता व्यानर्जी, जसले मोर्चा फुटाउन पहिलोपल्ट डा. हर्कबहादुर छेत्रीलाई कठपुतली बनाइन्। सबैलाई थाहा छ, डा. हर्कबहादुर छेत्रीलाई ममता व्यानर्जीले मोर्चाको काउन्टर पार्टीकोरूपमा जन आन्दोलन पार्टी खोल्न लगाइन्। तर केन्द्रिय स्तरमा सुझबुझ नभएकैले ममता व्यानर्जीले विधानसभा चुनाउमा तृणमूल काङ्ग्रेसको उम्मेदवारको रूपमा कालेबुङबाट डा. हर्कबहादुर छेत्रीको नाम लिइन्।

ममता व्यानर्जीले जस्तो डा. छेत्रीको नाम लिइन्, गोर्खाल्याण्ड विरोधी तृणमूलको उम्मेदवारको रूपमा नाम आएका डा. हर्कबहादुर छेत्रीलाई गोर्खाल्याण्ड पन्थीहरूले हराइदिए। डा. छेत्री हार्नुको एउटै कारण थियो, तृणमूल। तृणमूल अर्थात छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर दुश्मन। जुन छुट्टै राज्यको लागि 86 सालमा 12 सय सहिद बने, जुन गोर्खाल्याण्डको लागि विमल गुरुङको पालामा कैयौं सहिद बने अर्थात आन्दोलनकारीहरूलाई गोली ठोके, उसलाई पहाडका मतदाताहरूले कसरी जिताउन सक्थे त?

जुन राज्यको लागि पहाडले सर्वस्व गुमाउन पऱ्यो, त्यही छुट्टै राज्य गोर्खाल्याण्ड विरोधी तृणमूल काङ्ग्रेसका उम्मेदवारलाई पहाडवासीले कसरी जिताउन सक्थ्यो त?

हर्कबहादुर छेत्रीलाई ममता व्यानर्जीले नगरपालिका चुनाउसम्ममा मौका दिइन्। तर हर्कबहादुर छेत्री गोर्खाल्याण्ड विरोधी तृणमूलको कठपुतली बनेको चाल पाएपछि जनताले नगरपालिका चुनाउमा पनि हर्कबहादुर छेत्रीलाई हराएर पहाडवासीले ‘पहाड गोर्खाल्याण्डको पक्षमा छ’ भन्ने जवाब दिइसकेको उदाहरण छ।

यसपल्ट, लोकसभा चुनाउमा उस्तै घटना दोहोरिएको छ। सारा जनता सडकमा हुँदा, धेरै आन्दोलनकारीहरू ममता व्यानर्जीको पुलिसले ढलिसकेपछि अचानक विनय तामाङ र अनित थापाले ममता व्यानर्जीसित हात मिलाए। विमल गुरुङ समूहले विनय र अनितलाई ‘मिरजाफर’-को संज्ञा समेत दिए।

गोरामुमोको नियत

आन्दोलन दबाउन पहाडका अधिकांश पार्टीहरू राज्य सरकार वा तृणमूल काङ्ग्रेसको मोहोरा बनेको छ। नगरपालिका चुनाउमा मिरिक र खरसाङमा जिताउन तृणमूललाई गोरामुमोले सहयोग गऱ्यो। आन्दोलनको बेला गोरामुमोले ममता व्यानर्जीलाई चिट्ठी लेखेर आन्दोलनलाई सम्झौतातिर मोड्नमा अहम भूमिका निर्वाह गऱ्यो। यसको सटटामा गोरामुमोले करोडौं रुपियाँ पाइसकेको छ।

सरकारको पक्ष हुने केही काम गरिदियो अनि विभिन्न एजेन्सीहरूको नाममा पैसा थाप्यो र पार्टी चलायो, पहाडका विपक्षको चरित्र यस्तै देखा परेको छ। गोरामुमोले अहिले ‘तामाङ गोटी’ खेलिरहेको छ। सुष्मा स्वराजको स्टाण्डिङ कमिटीले केन्द्रमा छैटौं अनुसूचीको बील थाँतिमा राखेको छ। त्यसलाई अघि बढाउनु हो भने गोरामुमोलाई उसको हितैसीलाई संसदमा पठाउन अनिवार्य छ।

यसैले कि त मुनिश तामाङ कि त महेन्द्र पी. लामा, गोरामुमोको लक्ष्य हो। उनीहरू दुवै केन्द्रमा हेलमेल गर्न सक्ने, लबी लगाउन सक्ने क्षमताका छन्। उनीहरू संसदमा पुग्नु भने छैटौं अनुसूचीको फाइल खोल्नु हो। मुनिश तामाङ र डा. महेन्द्र पी, लामा उम्मेदवारको रूपमा अघि ल्याइनु केही महिनाअघि गोरामुमोले तामाङ बौद्धिकहरू थुपारेर गरेको बहसकै निरन्तरता हो।

क्रामाकपाको कुटनीति

यता क्रामाकपाले आफ्नै गोटी चाल्यो। आन्दोलनलाई नेतृत्व गर्ने क्षमता भएको इमान्दार नेता हुन् आरबी राई तर यसपल्ट आन्दोलनमा जनतालाई लोप्पा खवाउने नेता उनी पनि हुन्।

जतिखेर जनता र आन्दोलनलाई उनको खाँचो थियो, चुपचाप बसे। 15 वटा पार्टी मध्ये एउटा पार्टीको नेता विनय तामाङले ममता व्यानर्जीसित हात मिलाउनसाथ  आरबी राईको कर्तव्य थियो, आन्दोलनलाई नेतृत्व दिनु। उनले आन्दोलनलाई नेतृत्व दिएको भए विनय तामाङहहरूले सम्झौता गर्ने परिस्थिति नै बन्थेन। तामाङले ममतासित सम्झौता नगरेपछि पहाडमा अगणतान्त्रिक माहौल नै बन्थेन। तर आरबी राईले जानी जानी सबै हुन दिए। किन? यो प्रश्न अनुत्तरित छ।

विनयले हाँसी हाँसी आन्दोलन सम्झौता गरे र पहाडमा अगणतान्त्रिक अभ्यासको चरण शुरु भयो। यसो हुनुमा आरबी राईले जुन मौन समर्थन गरे, यसैबाट उनको नियत स्पष्ट भइसकेको हो। जब लोकसभा चुनाउ आयो, आरबी राईलाई गणतन्त्रको याद आयो। क्रामाकपाले साझा बैठकको वातावरण बनायो।

तर आरबी राईलाई उम्मेदवार बनाउने कुनियतले बनाएको साझा मञ्चले सर्वसम्मतिबाट उम्मेदवार घोषणा गर्न अघि नै क्रामाकपालाई आरबी राईको नाम पार्टीको उम्मेदवारकोरूपमा घोषणा गर्नु हतार पऱ्यो। किन? यो प्रश्न अनुत्तरित छ।

क्रामाकपाको यस्तो कुटनीति चाल नपाउने कुरै भएन। सबै पार्टी साझा मञ्चमा आफ्नो रोटी सेक्न आए। हर्क उम्मेदवारको सपना लिएर पसे। आरबी राईको त साझा मञ्चको डिजाइन नै आफू उम्मेदवार बन्ने सपनाले प्रेरित गरेर भएको देखियो। गोरामुमो संसदमा जाने सांसदले ‘छैटौं अनुसूची’ पार लगाउने नियतले साझा मञ्चमा पुग्यो।

तर कुनै पनि पार्टीले जनता के चाहन्छ भन्ने सोचेन। पछिल्लोपल्टको आन्दोलनको बेला पनि पहाडका दलहरूले आफ्नौ औकात देखाएकै हुन्। लोकसभा चुनाउमा पनि देखाए। उनीहरू जनताको नाममा आआफ्नो पार्टीको सपना पूरा गर्न लोकसभामा भिड्न मिहिन रणनीतिसितै आए। साझा मञ्चको परिस्थिति क्रामाकपाले नै बिगाऱ्यो।

क्रामाकपालाई लाग्छ, इमान्दार र सक्षम नेता आरबी राई बाहेक कोही छैनन्। तर आरबी राईको सक्षमता र इमान्दारिता आन्दोलनमा कहिल्यै अग्रणी देखिएन। जनतालाई परेको बेला आरबी राईको न क्षमता काम लाग्यो न इमान्दारिता। तर चुनाउमा भने क्रामाकपा आरबी राईको क्षमता र इमान्दारिताको भजन गाउँदै उत्साहितरूपले अघि आयो। आफ्नो पार्टीले उम्मेदवार दिनु थियो भने क्रामाकपाले किन साझा मञ्चको नाटक गऱ्यो? यो करोडौंको प्रश्न बनेको छ।

मौकाखोरहरूको रगरगी

सबै पार्टीको आआफ्नो नियत सार्वजनिक भइसकेको छ। रातारात डा. महेन्द्र पी. लामा जनतालाई आग्रह गर्ने भए। चुनाउमा मात्र ‘मेरोमा क्षमता छ, मलाई जिताएर पठाउ’ भन्दै अघि आउने डा. लामाले जनताको भरोसा जित्न लायक कुनै काम गरेनन्। न त सरकारसितको सम्बन्धबाट पहाडमा विभिन्न योजनाहरू भित्र्याए न त आन्दोलनलाई बौद्धिकरूपले नेतृत्व नै गरे। चुनाउ चुनाउमा देखापर्ने लामाको क्षमता कति हो अब जनताले चाल पाइसकेका छन्। पहाडका विपक्षले जहिल्यै आफ्नो स्वार्थको काम गरिरहेको छ। जनताको स्वार्थमा कहिल्यै अघि बढेन। बरू जनाकांक्षालाई आफ्नो फाइदाको लागि दुरुपयोग गरे।

यी जम्मै कृत्यले कसलाई फाइदा पुग्दैछ? पहाडले सोच्नुपर्ने भयो।

साझा मञ्चले पार्टी बाहिरका नयाँ अनुहार यसपालिको चुनाउमा ल्याउन सक्थ्यो तर सबैको आफ्नो स्वार्थ भएकोले यस दिशामा कुनै पनि दलले सोचेन। फलस्वरूप सबैले घुमाइफिराई तृणमूल, विनय तामाङलाई नै फाइदा दिइरहेको छ।

अब के त?

पहाडको विकल्प भनेको नै ‘हार’ हो। तराईँमा भाजपाको पकड निक्कै राम्रो छ। पहाडको भोट विभाजित भयो भने पनि तराईँको भोटले भाजपाले जित्ने सम्भावना छ। तराईका तृणमूल वरोधी पार्टीहरू पहाडको कुनै राम्रो उम्मेदवारलाई समर्थन गर्न चाहन्छ। विनय खेमाको नेताको नाम तृणमूल काङ्ग्रेसको उम्मेदवारको रूपमा अघि आएपछि यसको असर व्यालेटमा पर्ने निश्चित छ।

मानिसहरू पक्कै पनि पुलिस र विनयसित डराउँलान्, तर स्वाभिमानी पहाडबासीले छुट्टै राज्य गोर्खाल्याण्ड विरोधी पार्टीलाई जिताएर आफ्नो भविष्य पुर्न सक्दैनन्। हर्कबहादुरको हारले जनताको त्यो स्वाभिमान स्पष्ट पारेकै छ। यस्तोमा पहाडमा साझा मञ्चले राम्रो उम्मेदवार दिन सक्थ्यो, तर सबैको आफ्नै नियतको कारण आजदेखि साझा मञ्च फुट्न शुरु भयो। पहाडका विपक्ष जनता विरोधी सावित भए, पार्टीगत स्वार्थको कारण।

भाजपाले पहाडलाई कहिल्यै माया गरेन। यसकारण भाजपाकै उम्मेदवारले पहाडबाट भोट पाउन गाह्रो छ। छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर दुश्मन तृणमूललाई जिताउनु भन्दा केन्द्रमा आउने पार्टीलाई जिताउन मुसानिब देखिन्छ। तर भाजपाको उम्मेदवारले मत पाउन सक्तैन। यद्धपि, तराईँको भाजपाको पकड र पहाडमा अधिकांश मत हासिल गर्ने कुनै रणनीति बनियो र सहमति भयो भने केही हुन सक्ने सम्भावना चाँही छ।

पहाडमा जुन जनता विरोधी चलखेल चलिरहेको छ, त्यसबाट जनतालाई मुक्त गर्न सक्ने को होलान् त? को होलान् त त्यस्तो उम्मेदवार, जसले मुद्दा पनि बँचावोस्, जनताको स्वाभिमान पनि।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया