स्कूल खुला राख्ने तर नपढाउने

खबरम्यागजिन खबरदाता

कालेबुङ, 20 मई 2017


जनमुक्ति सहायक-सहायिका सङ्गठनले आफ्नो १ हजार ६५ जना सदस्यहरूलाई लिएर पाठशाला खुला राखे पनि काम नगर्ने अर्थात पेन डाउन आन्दोलन चाँडै नै गर्ने भएको छ।

राज्य सरकारले समान काम समान वेतनको नियम पालन गर्दै एसएसकेमा कार्यरत शिक्षकहरूलाई वेतन नदिएको विरोध जनाउन नै सङ्गठनले उक्त किसिमको आन्दोलन गर्ने निर्णय लिएको हो। सङ्गठनको पक्षमा केन्द्रिय समिती अध्यक्ष डी के छेत्रीले उक्त निर्णयबारे जानकारी दिएका छन्।

“सेकेण्डेरी, प्राइमेरी टीचर्सहरूले जत्ति वेतन पाउँछन् हामीले पनि त्यति नै पाउनुपर्छ भन्ने हाम्रो माग हो। माग विषय मुख्यमन्त्रीलाई हामीले बारम्बार ज्ञापन चडाएका थियौं तर आजसम्म कुनै पहल भएन सोही कारण अब हामी मेन्टलली, फाइनेन्ससियली आन्दोलनको निम्ति तयार बन्ने समय आएको छ”, उनले भने, “हामी स्कूल खुला राख्नेछौं तर पडाउने छैनौं। यस प्रकार हामी हाम्रो मागबारे सरकारलाई दबाउ दिनका साथै अझसम्म माग विषय पहल नगरेकोमाथि विरोध जनाउँनेछौं।”

यस प्रकारको नियमले अध्ययनरत नानीहरूलाई समस्या हुनसक्छ भन्ने प्रश्नको उत्तरमा उनले थपे, “यो उत्तरदायित्व सरकारको हो। सरकारले नै यसबारे सोंच्नुपर्ने थियो।  हामी सरकारबाट पनि ठगिएका छौं अनि भातृ सङ्गठन भए पनि गोर्खा जनमुक्ति मोर्चाबाट पनि ठगिएका छौं। यद्यपि हाम्रो लडाई जीटीएसँग भन्दा पनि राज्य सरकारसित छ।”

पश्चिम बङ्गाल राज्य सरकारले न्यायालयको निर्देश आए पनि समान काम समान वेतनको नियमलाई पालन नगरेको बरू मुख्यमन्त्री ममता ब्यानर्जीले विगतमा केन्द्रमा काङ्ग्रेसको सरकार रहँदा फोन गरेर एसएसके, एमएसके शिक्षकहरूको पक्षमा हुन लागिरहेको उचित निर्णयमाथि रोक लगाउन लगाएको आरोप पनि उनले लगाएका छन्।

“जीटीए हाम्रो मागलाई लिएर केवल मुखले मात्र इमान्दार छ हातले केही गर्न सक्दैन। किनकी सम्पूर्ण पावर बङ्गाल सरकारकै हातमा छ। जीटीएले चाहेर पनि केहि गर्न सक्ने स्थिति नै छैन”-उनले अझ भने।

आज कालेबुङमा सङ्गठनले एउटा सभा पनि सम्पन्न गरेको थियो। उक्त सभामा पनि सोही विषयलाई लिएर जानकारी गराउनका साथै सदस्यहरूलाई आन्दोलनको निम्ति तयार बस्नुपर्ने निर्देश दिइएको सङ्गठनका पदाधिकारीवर्गले जनाएका छन्। सभामा केन्द्रिय समितिका अध्यक्ष डी के छेत्री, महासचिव जीवन राई, कालेबुङ जिल्ला कमिटी अध्यक्ष अशोक लामा, सचिव बुद्ध बान्तवा लगायत कालेबुङ जिल्लाभरीका सदस्यहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया