आठ दिनपछि बन्द एलेम्बिक फार्मा कम्पनी खोलियो

गान्तोक, 13 मार्च।


पूर्व सिक्किमको समरदोंगमा संचालित एलेम्बिक फार्मा कम्पनी बन्द भएको 8  दिन पछि  अस्थायी र स्थायी स्थानीय कर्मचारीहरूको दबाउ र मागलाई सम्मान गर्दै राज्य सरकारले कम्पनीसित कुरा गरेर बुधबारदेखि खुल्ला गरेको छ।

सोमबारदेखि कारखाना खोलिएपछि कर्मचारीहरूमा खुसीको लहर छाएको छ भने राज्य सरकार मुख्यमन्त्री तथा विभागीय मन्त्री र अधिकारीहरू प्रति स्थायी र अस्थायी कर्मचारीहरूले आभार प्रकट गरको छ। बुधबारदेखि कम्पनी शुरु भएपछि पत्रकारहरूसित कुराकानी गर्दै अस्थायी कर्मचारीहरूको पक्षका प्रतिनिधि सुकबाहादुर सुब्बाले कम्पनी बन्द हुँदा खटिखानेहरूलाई कसरी मार्का पर्दो रहेछ बन्ने सबै कर्मचारीले अनुभुति गरेको तथा आर्थिक रूपमा कत्ति समस्या हुँदो रहेछ भन्ने बुझेर राज्य सरकारलाई अस्थायी कर्मचारीहरूको पक्षबाट कम्पनी खोलिदिने माग पत्र चडाएको अनि सम्बन्धित विभागसित पनि माग गरेकै फलस्वरूप आज जिल्लापाल दक्षिण जिल्लाबाट सबै कर्मचारीहरूको सुरक्षा समेत रोजगारको ग्यारेन्टी गर्दै सरकारले कम्पनीलाई कारखाना शुरु गर्ने अनुरोध गरेबापत काम शुरू भएको बताए। सबै स्थायी र अस्थायी कर्मचारीहरूको पक्षबाट कम्पनी शुरु भएकोमा सरकारप्रति आभार पनि जनाएका छन्।

उल्लेखनीय छ लगभग एक महिना अधि 6 जना  अस्थायी कर्मचारीलाई कम्पनीको नियम पालन नगरेको भन्दै निष्कासनपछि उठेको विवादमा राज्यको विपक्षी दल भाजपाका युवा अध्यक्ष लातेन शेर्पा र एसकेएमका प्रवक्ता जेकब खालिङ समेत मजदूर मोर्चाका प्रतिनिधिहरूले कम्पनीमा धर्ना प्रदर्शन गर्दै उनीहरूलाई काममा फिर्ताको माग उठाएका थिए। त्यसपछि विवाद गहिरिँदै गएपछि आठ दिन अघि कम्पनीले काम बन्द गरेको थियो। काम बन्द भएको 6 दिन पछि अस्थायी कर्मचारीहरूले 90 प्रतिशतले हस्ताक्षऱ गरेर राज्य सरकारको उद्योग तथा वाणिज्य विभागलाई कारखाना खोलिदिने आग्रह गरेपछि मन्त्री उगेन टी ग्याछो भोटियाले चाँडै कारखाना खोल्न पहल गर्ने आश्वासन दिएका थिए।

आजदेखि पुनः कारखाना खोलिएपछि कर्मचारीहरूले खुशी व्यक्त गरेका छन्। बुधवार बिहान 8 बजेदेखि कारखाना सुचारू रूपले सञ्चालन भएको बताइएको छ। एलेम्बिक औषधि कारखाना पुनः खोलिएपछि वाणिज्य तथा उद्योग विभागीय मन्त्री उगेन टी ग्याछो भोटियाले प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने,“कारखाना पुनः खोलिएकोमा प्रबन्धन पक्ष र कर्मचारीहरूलाई म बधाई दिन चाहन्छु। विवाद सिर्जना गरेर कम्पनीहरू बन्द होस् भन्ने पक्षमा हामी छैनौं। हामी सिक्किमलाई उद्योग-मैत्री राज्यको रूपमा विकास गर्न चाहन्छौं। मुख्यमन्त्री पवन चामलिङले धेरै दुःख गरेर राज्यमा कम्पनी, कारखाना र उद्योगहरू भित्र्याएका हुन्। सिक्किमको भविष्यलाई ध्यानमा राख्दै उद्योग भित्र्याइएको हो। राज्य राजस्वको एउटा ठूलो अंश उद्योगबाट आउँदैछ। त्यसलाई मास्ने षड़यन्त्र हुँदैछ। त्यस विषयमा सिक्किमेहरूले गम्भीर भएर सोच्नुपर्छ। राज्यमा पुनः यस्तो विवाद नहोस् भन्ने म व्यक्तिगत रूपमा पनि चाहन्छु।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया